ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पञ्चकन्याको ब्रान्ड र छवि बचाउन सधैं प्रतिबद्ध छौं

२०७९ मंसिर, ५  
अन्तरवार्ता
Tvs Raider Image Not Found

मुलुकको उद्योग व्यवसायको क्षेत्रमा पञ्चकन्या ग्रूप अग्रणी औद्योगिक घराना हो । विशेषगरी निर्माण सामग्री उत्पादनको क्षेत्रमा सक्रिय यो समूहले पछिल्लो समय जलविद्युत् र व्यापारमा  समेत संलग्न छ । पहिलो पुस्ताका उद्यमी प्रेमबहादुर श्रेष्ठले साधारण किराना पसलबाट शुरू गरेको व्यवसाय विस्तार हुँदै जाँदा अहिले यस समूहले वार्षिक अर्बौंको कारोबार गर्दै आएको छ । तीन पुस्ता व्यवसायमा आइसकेको यस समूहको प्रबन्ध निर्देशकमा प्रदिपकुमार श्रेष्ठ छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठसँग पञ्चकन्या समूहको व्यावसायिक पृष्ठभूमि, सञ्चालनमा रहेका उद्योग व्यवसायको अवस्था, समूहको व्यावसायिक विशेषता लगायत विषयमा आर्थिक अभियानले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश ।

सर्वप्रथम त तपाईंहरूको व्यावसायिक यात्राको बारेमा बताइदिनुस् न । 
मेरो बुवाको नाम प्रेमबहादुर श्रेष्ठ हो । उहाँ सानैदेखि फरक स्वभावको व्यक्ति हुनुहुन्थ्यो । हाम्रो पैतृक घर दोलखा भए पनि कर्मथलो भने इलाम हो । हाम्रो घरमा बुवा सबैभन्दा जेठो सदस्य हुनुहुन्थ्यो । समयक्रममा परिवार पाल्ने जिम्मेवारी बुवामा आइपुग्यो । उहाँले इलाममा लेखनदासको काम पनि गर्नुभयो । जागीर खाएर परिवार पाल्न सकिँदैन । अब केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँले केही काम गर्ने अठोट लिनुभयो । र परिवार नै लिएर फिक्कलमा सर्नुभयो । राम्रै बजारको रूपमा त्यतिखेर फिक्कल चिनिन्थ्यो । किनभने त्यहाँबाट पशुपतिनगर भारतीय सिमानाका पनि नजिकै छ । त्यतिखेर किराना पसलबाट हाम्रो व्यवसाय शुरू भएको हो । किराना पसलसँगै उहाँले अलैंची र आलुको व्यापार पनि गर्नुभयो । उहाँ व्यापारको क्रममा दार्जलिङ गइरहनु हुन्थ्योे । व्यापार विस्तारको क्रममा कोलकाता पनि जानुहुन्थ्यो । आफ्नो परिचय बढाउने हो भने बसेको पुरानो बासस्थान छोड्नुपर्छ भन्ने कुरा बुझेर उहाँ फेरि झापाको शनिश्चरेमा बसाइ सर्नुभयो । त्यहाँ बुवाले जग्गाजमीन किनेर घर बनाउनुभयो । यो २०२८ सालको कुरा हुनुपर्छ । त्यसपछि उहाँले नयाँ व्यवसायको रूपमा स–मिल खोल्नुभयोे । उहाँ बारम्बार काठको लिलाम सकार गर्न काठमाडौं आइरहनुहुन्थ्यो । उहाँको पाटर्नरमा भारतीय व्यापारीहरू पनि थिए । त्यतिबेला कारखानाबाट चिरान काठहरू भारत र बंगलादेश निर्यात हुन्थ्यो । यससँगै बिर्तामोडमा जमीन खरीद गरेर पञ्चकन्या नामको राइसमिल पनि स्थापना गरियोे । 

अहिलेको पञ्चकन्या ग्रूपको नामकरण पञ्चकन्या राइसमिलबाटै भएको रहेछ । यो नामको शुरुआतबारे पनि बताइदिनुहोस् न । 
हुन त पञ्चकन्याको नामकरणमा विभिन्न मानिसले विभिन्न खाले अड्कलबाजीहरू गर्ने गरेको पाइन्छ । वास्तवमा यसमा खास कारण केही छैन । फिक्कलस्थित आइतवारे बजार नजिकै एउटा विद्यालय छ । विद्यालयको छेउवैमा एउटा पञ्चकन्या मन्दिर छ । त्यहाँको मन्दिरमा पाँच ओटा देवी छन् । त्यो मन्दिरलाई हाम्रो परिवारले असाध्यै आस्था र विश्वासका साथ मान्ने गरेको थियो । अनि झापाको बिर्तामोडमा जब राइसमिल स्थापना गरियो तव नामकरण के गर्ने त भन्ने बारेमा छलफल भयो । हुन त यसअघि हामीले पञ्चकन्या मन्दिरलाई अत्यन्त आस्था र विश्वासका साथ मान्ने गरेका थियौं । हो, यही मन्दिरलाई मानेर उद्योगको नामकरण गरेका हौं । आजको पञ्चकन्या ग्रूप साँच्चिकै भन्ने हो भने यही मन्दिरको आस्था र विश्वासको उपज हो भन्ने लाग्छ । यसले नै अहिलेको ५० वर्षे यात्रामा पञ्चकन्या ग्रूप लाई नेपालमा व्यावसायिक घरानाको रूपमा चिनाएको हो जस्तो लाग्छ । आज प्रदिप श्रेष्ठलाई पञ्चकन्या ग्रूपले चिनाएको छ भने पञ्चकन्याले हाम्रो परिवारलाई नै चिनाउने काम गरेको छ जस्तो लाग्छ ।

त्यतिखेर तपाईंहरूले त्यहाँ स्थापना गरेको राइस मिल कति समयसम्म चल्यो ?
त्यतिखेरको कुरा गर्ने हो भने त हामीले एनआईडीसीबाट १२ लाख रुपैयाँ ऋण लिएर राइस मिल स्थापना गरेका हौं । त्यो गर्न पनि त्यतिबेला निकै आँट र हिम्मत आवश्यक थियो । भारतको डण्डाकर कम्पनीको मेसिनहरू किनेर उद्योग स्थापना गरियो । मिलमा अत्याधुनिक उपकरणहरू जडान गरिएको थियो । हुन त मिल स्थापना भएपछि हामीले ठूलो भोलुममा लाखका लाख क्विन्टल धान खरीद गरेर विक्री गर्‍यौं । यो कम्तीमा १५–२० वर्षसम्म चल्यो । पछि धान पाइन छाड्यो र मजदूर पनि सहज रूपमा पाउन छाडेपछि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो । मिलबाट उत्पादन भएको चामल नेपालमा खपत भइरहेकै थियो । धेरै समयसम्म हामीले भारतको केरलामा निर्यात पनि गरेका थियौं । 

कहिलेदेखि यस्तो व्यवसाय छाडेर फरक खालको व्यवसायमा आउनुभयो ?
२०३४–३५ सालको कुरा हुनुपर्छ । म फिक्कलमा पढेर उच्च शिक्षाका लागि दार्जलिङको भिक्टोरिया भ्वाइस स्कुलको होस्टेलमा बसेर अध्ययन गरेँ । यो स्कुलमा हाम्रा परिवारका अन्य सदस्यहरूले पनि अध्ययन गर्नुभएको थियो । पढाइ सकिएपछि केही त गर्नैपर्‍यो । त्यसपछि नेपाल आइयो । त्यतिबेला म बुवाको व्यापार व्यवसायमा संलग्न भइसकेको थिएँ ।

त्यसपछि तपाईंले कुन - कुन उद्योगबाट आफ्नो करीअर शुरू गर्नुभयो ? 
हाम्रो पुरानो पारिवारिक बिजनेश स–मिल नै हो । त्यसपछि राइस मिल हो । व्यवसाय विस्तारको क्रममा पछि गएर तेल मिल पनि थप्यौं । तत्कालीन सरकारले त्यतिखेर वनविनाश बढ्दै गएपछि काठको काममा अलि कडाइ गर्न थाल्यो । रूख कटानमा जब सरकारले कडाइ ग¥यो, त्यसपछि अब यो दिगो हुँदैन विकल्प सोच्न थाल्यौं । व्यवसायको कामले बुवा काठमाडौं आइरहनु हुन्थ्यो । काठमाडौं निरन्तर आइरहनुपर्ने भएकाले बुवा यतै घर किन्न चाहनुहुन्थ्यो । तर त्यो सम्भव भइरहेको थिएन । त्यतिखेर काठमाडौंमा बुवाको एकदमै मिल्ने साथी हुनुहुन्थ्यो सीताराम प्रसाईं । उहाँले बुबालाई काठमाडौंमा घर किन्ने भए मेरो किन भनेपछि ख्यालख्यालैमा बुवाले एक रुपैयाँ बैना गरेर घर किन्नुभयो । त्यो घर अहिले पनि छ । पछि मेरो दाइको विवाह पनि काठमाडौंमै भयो । यसपछि हाम्रो परिवारमा काम गर्ने शैली र तौरतरीकामै परिवर्तन आयो । दाइको विवाह काठमाडौंमा भएपछि नयाँ खालको उद्योगमा अगाडि बढेका हौं । हामीले लगत्तै पञ्चकन्या प्लाष्टिक (पाइप) उद्योग खोल्यौं । त्यतिबेला उद्योगमा पियूषबहादुर अमात्य पाटर्नर हुनुहुन्थ्यो ।

तपाईंहरू यसपछि फलामे डण्डी उद्योगमा प्रवेश गर्नुभएको रहेछ । ठूलो लगानीको यस्तो उद्योग स्थापना गर्ने सोचमा कसरी पुग्नुभयो ?
फरक खालको अन्य व्यवसायमा हात हाल्ने कि भन्ने सोच आइरहेको बेला केही गरौं भन्ने उद्देश्यले यसमा लगानी गरियो । त्यतिखेर नेपालमा फलामसँग सम्बन्धित दुईओटा मात्र उद्योग थिए । हामीले शुरुआत चाहिँ स्टिल उद्योगबाट गरेका हौं । त्यही क्षेत्रमा अन्य पाँच छ ओटा उद्योग थप्दै गएका हौं । अहिले सोचविचार गर्दा हाम्रो परिवारका सदस्यको रगतमै उद्योग रहेछ भन्ने लाग्छ । हामीले ट्रेडिङलाई खासै प्राथमिकतामा राखेनौं । 

बुवाले गर्नुभएको व्यापारलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्छ भन्ने आत्मविश्वास कसरी आयो ? 
मेरो स्वभाव पहिलेदेखि नै अलिक फरक खालको थियो । म सानैदेखि अरुभन्दा फरक काम गर्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्थें । अरुको फलोअर होइन, पायोनियर भएर अगाडि बढ्नु पर्छ भन्ने मेरो दिमागमा त्यस्तो सोच थियो । र कुनै पनि काम गर्दा मलाई नसक्ने भन्ने केही पनि लाग्दैन थियो । गर्यो भने सकिन्छ भन्ने आँट थियो । र अर्को कुरा पहिलादेखि नै म अलिक अरुभन्दा एग्रेसिभ नेचरको मानिस पनि थिएँ ।

पञ्चकन्या ग्रूपमा हाल कति ओटा उद्योग छन् ? कुन कुन क्षेत्रमा हुनुहुन्छ ?
एउटा के कुरा हो भने बजारमा पञ्चकन्या ग्रूप आफैमा ब्रान्ड बनिसकेको छ । पञ्चकन्याको ब्रान्डिङमा कुनै पनि काम शुद्ध हिसाबले गर्नुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढेका छौं । यही क्रममा सरकारले निजीकरण गरेका उद्योगहरूमा पनि हामीले लगानी ग¥यौं । अहिले हामी औद्योगिक समूहको रूपमा चिनिएका छौं । हाम्रो समूहमा अहिले ९–१० ओटा उद्योग छन् । ती सबै उद्योगमा गरी २ हजार ५०० देखि ३ हजार कामदार छन् । त्यस्तै टे«डिङ अन्तर्गत मोटरसाइकल र हेभी इक्वीमेन्ट (भोल्भो) मा लगानी  छ । व्यवसायलाई विविधिकरण गर्ने क्रममा हामीले जलविद्युत्, वित्त, बीमा र घरजग्गा क्षेत्रमा पनि लगानी विस्तार गरेका छौं । हाम्रो पुरानो व्यवसाय कृषिबाट शुरू भएकाले पुनः त्यसतर्फ पनि जाने कि भन्ने सोच बनाइरहेका छौं । तर सोचे अनुसार नेपालमा हुँदो रहेनछ । हामीले हाम्रो ठाउँबाट आफ्नो काम गरिनै रहेका छौं । सरकारले उचित नीति नल्याएकाले उद्योग व्यवसाय फस्टाउन सकेको छैन । अहिले सरकारको गलत नीतिका कारण उद्योग व्यवसाय धराशयी हुने अवस्थामा पुगेका छन् ।

पञ्चकन्याको ५० वर्षको व्यावसायिक यात्रा सम्झँदा हाम्रो परिवारका सदस्यको रगतमै उद्योग रहेछ भन्ने लाग्छ । 

 

भैरहवा–बुटवल कोरिडोर अहिले जसरी औद्योगिक क्षेत्रको रूपमा चिनिएको छ, त्यसमा तपाईंहरूको पनि योगदान छ । त्यतिबेला भैरहवा नै रोज्नुको कारण के होला जस्तो लाग्छ ? 
पूर्वमा हाम्रो उद्योग व्यवसाय पहिले नै थियो । मध्य तराईको वीरगञ्जमा पनि चालू अवस्थामै उद्योग थियो । भएकै स्थानमा किन उद्योग स्थापना गर्ने, बरु नयाँ स्थानमा गरौं न भन्ने लाग्यो । त्यसपछि हामीले भैरहवालाई रोज्यौं । भैरहवाको कोटिहवा भन्ने स्थानमा १४–१५ बिघा जग्गामा हाम्रो उद्योग व्यवसाय छ । सन् १९८१ मा पञ्चकन्या प्लाष्टिकबाट त्यहाँ हाम्रो व्यवसाय शुरु भएको हो । 

सन् १९८० देखि १९९० बीचको एक दशकमा तपाईंहरूले सक्रिय रूपमा थप व्यवसाय थप्दै गएको देखिन्छ । यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
वास्तवमा यो अवधिमा धेरै उद्योग विस्तार भएका छन् । मेरो एउटा बानी के छ भने यात्रा गर्दा पनि कुनै पनि प्रडक्ट किन्ने भन्दा पनि यो हामी बनाउन सक्छौं कि सक्दैनौं भनेर चिन्तन गर्नेतर्फ ध्यान केन्द्रित हुन्छ । यही स्वभावको कारण त्यो अवधिमा व्यवसाय विस्तारमा मद्दत पुगेको हो जस्तो लाग्छ । ताइवान भ्रमणको क्रममा त्यहाँ एचडीपी ट्यांक देखेँ । त्यतिखेर नेपालमा यसको प्रयोग हुँदैनथ्यो । त्यो देखेर हामीले नेपालमा यसको पहिलो लाइसेन्स लियौं। पञ्चकन्या रोटोमोल्ड ट्यांकको शुरुआत हामीले नै गरेका हौं । तर प्लाष्टिकको ट्यांक कहाँ चल्छ र ? भनेर परिवारमा कुरा मिलेन । अन्ततः हामीले ट्यांक उत्पादन गरिछाड्यौं र राम्रोसँग चल्यो पनि । लगत्तै पाइप पनि उत्पादन गर्‍यौं । नेपालमा २०७२ सालमा महाभूकम्प गयो । त्यतिखेर नेपालमा छिटोछरितो रूपमा बन्न सक्ने सस्तो र बलियो घरको आवश्यकता थियो । यस्ता घरको अनुसन्धान पनि गरियो । यसमा मेरो छोरा उदिपको ठूलो योगदान छ । अनुसन्धान गर्ने क्रममा यूरोप, अमेरिका, अष्ट्रेलिया र न्यूजल्याण्डतिर यो प्रविधिका घर एकदमै व्यापक र लोकप्रिय रहेको पाइयो । यस्तो घर दुई महीनामा तयार हुने र आयु ५० वर्षको हुने रहेछ । यसको विशेषता पनि धेरै छ । हामीले झापामा बाल अस्पताल पनि डेढ महीनामा निर्माण गरेका थियौं । भूकम्पपछि नेपालमा स्ट्यान्ड स्टेनलेस स्टीलको यो प्रडक्टका घर धेरै निर्माण भइसकेका छन् । 
 
तपाईंहरूले त्यसपछि ऊर्जा क्षेत्रमा सांग्रिला इनर्जीमार्फत बुटवल पावर (बीपीसी) मा लगानी गर्नुभएको रहेछ । त्यसलगत्तै आफ्नै पञ्चकन्या माई हाइड्रो र अपर माई क्यास्केडमा लगानी गरिक्नुभएको छ । ऊर्जा क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
एउटा यस्तो समय थियो, जुन बेलामा मेरो परिवारभित्र असमझदारी पनि भइरहन्थो । म त्यतिबेला निकै सक्रिय थिएँ । आफूलाई मन लागेको कुरा गरिहाल्ने मेरो स्वभाव थियो । २०५६ सालतिर म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिएँ । त्यो मात्र होइन, एनआईडीसीमा बोर्ड डाइरेक्टर, एनईए र नेपाल राष्ट्र बैंकमा सञ्चालक थिएँ । महासंघको अध्यक्ष भएकाले मेरो धेरै स्थानमा ठूलो नेटवर्क थियो । त्यही बेला बीपीसी निजीकरण गर्ने कुरा आयो । त्यतिबेला मेरो मिल्ने साथी ज्ञानेन्द्रलाल प्रधान थिए । उनलाई त जलविद्युत्को बारेमा धेरै ज्ञान थियो । बीपीसीमा केही गरौं न त भन्ने सल्लाह भयो । त्यसपछि मैले चार–पाँचजनाको समूह बनाएँ । उहाँहरू अहिले पनि बीपीसीमा हुनुहुन्छ । बीपीसीको निजीकरण गर्ने बेलामा विदेशी लगानीकर्ताको ८० प्रतिशत र हाम्रो २० प्रतिशत लगानी गर्ने प्रारम्भिक कुराकानी भएको थियो, तर सोचेजस्तो हुन सकेन । निजीकरण गर्ने प्रक्रिया एकदमै लामो भयो । यसमा हामीलाई निकै गाह्रो र चुनौती पनि भयो । यसपछि उनीहरू (विदेशी) को २० प्रतिशत र हाम्रो लगानी ८० प्रतिशत भयो । यसरी जलविद्युत्मा हाम्रो प्रवेश भएको हो । यही क्रममा इलाममा पञ्चकन्या माई हाइड्रोपावरमा केही गरौं भनेर बीपीसीको बोर्ड मिटिङमा छलफल गरेँ । तर सञ्चालक समितिबाट विरोध भयो । तर पनि यो हामी आफैले गर्नुपर्ने बाध्यता सृजना भयो । आजका दिनमा यो सञ्चालनमा आइसकेको छ । मलाई अहिले के स्मरण भइरहेको छ भने शुरूमा बीपीसीको शेयर खरीद गर्दा पनि परिवारबाटै विरोध भएको थियो । तर अहिले त्यो सही समयमा गरेको लगानी रहेछ भन्ने प्रमाणित भएको छ ।

अरुण कावेली हाइड्रोपावरको बारेमा बताइदिनुस् न ?
यो पञ्चकन्या माई हाइड्रोपावर अन्तरगत होइन । यो त बीपीसी अन्तरगतकै प्रोजेक्ट कै हो । यो पाँचथर जिल्लामा छ । यसको क्षमता ३७ दशमलव ६ मेगावाट रहेको छ । यसमा के भयो भने वल्र्ड बैंकले कावेली कोरिडोर ट्रान्समिसन लाइन बनाउने भनेर १०० मिलियन डलरको फण्ड छुट्याएको थियो । त्यो निर्माण गर्न पनि निक्कै ढिला सुस्ती भयो । सरकारले वल्र्ड बैंकलाई नविकरण नगरेकाले काम हुन सकेन । त्यसबेला हामीले हिम्मत गरेर यसको काम शुरू गरेका हौं । यो प्रोजेक्ट बन्छ, अगाडि बढिसकेको छ । यो प्रोजेक्टमा म आफै पनि अध्यक्ष छु । 

तपाईंहरूले त्यसपछि वित्तीय क्षेत्रमा लगानी विस्तार गर्नुभएको रहेछ । कतिओटा क्षेत्रमा लगानी विस्तार गर्नुभएको छ ?
काम गर्दै जाँदा एउटै क्षेत्रमा मात्रै हात हालेर नहुने रहेछ । व्यवसायलाई विविधीकरण गर्ने योजना अन्तर्गत नै अरु क्षेत्रमा पनि हाम्रो लगानी छ । वित्तीय क्षेत्रमा पनि छ । बैंक अफ काठमान्डू, सिटिजन्स बैंक, इन्भेष्टमेण्ट बैंकमा पनि हामी प्रमोटर शेयर होल्डरको रूपमा छौं । 

नेपालको औद्योगिक घरानाको रूपमा रहेको पञ्चकन्या ग्रूप निर्माण क्षेत्रमै बढी केन्द्रित देखिन्छ । यसको कारण के होला ?
देशको विकासका लागि निर्माण अनिवार्य आवश्यकता हो । यसले नै मुुलुकको विकासको प्रतिनिधित्व गर्छ । बाटोघाटोदेखि सबै आधारभूत कामका लागि निर्माण सामग्री आवश्यक पर्छ । हाम्रो काम कन्स्ट्रक्सन सेक्टरमा केन्द्रित भयो । त्यसकारण हामी पञ्चकन्याको ब्रान्डिङमार्फत ९–१० ओटा उद्योगमा काम गरिरहेका छौं । हाम्रा उपभोक्ता र शुभचिन्तक पनि धेरै छन् । हामीले गुणस्तरमा कहिल्यै पनि कमीकमजोरी राखेनौं । सोही कारण सबैभन्दा पहिला क्वालिटी अवार्ड पनि पाएका थियौं । 

सरकारले उचित नीति नल्याएकाले उद्योग व्यवसाय फस्टाउन सकेको छैन ।

सामान्यतया नेपालका औद्योगिक घरानाहरू उद्योग र सेवा क्षेत्रमा संलग्न रहेको पाइन्छ । तपाईंहरू यसमा अलि पर नै देखिनुहुन्छ । अरूले ट्रेडिङबाट धेरै पैसा कमाएको देख्दा तपाईंहरूलाई मन थाम्न गाह्रो त भइरहेको छैन ?
गाह्रो त हुन्छ नै ।  हामी पनि हल्काफुल्का ट्रेडिङमा त छौं । तर एउटा कुरा के हो भने ट्रेडिङ गर्दा हाम्रो मात्र चुल्हो बल्छ भने उद्योगबाट धेरै जनाको चुल्हो बालेका छौं । यसो भएकाले गर्दा गर्व पनि लाग्छ । यो दीर्घकालीन लगानी पनि हो । यसले क्रमशः आफ्नो आधार बनाउँदै जान्छ । उद्योगको आधार बलियो भयो भने आम्दानी लामो समयसम्म निरन्तर दिइरहन्छ । नामले नै पछिसम्म कमाउने हो । यसकारण मलाई के लाग्छ भने अद्योग सञ्चालक र ट्रेडर्सलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । यही कारणले गर्दा आजकै दिनमा ऋण माग्न कुनै पनि बैंकमा जाँदा पञ्चकन्या ग्रूप खाली हात फर्किनुपर्ने अवस्था छैन । व्यवसायमा कहिलकाहीँ उतारचढाव हुनु स्वाभाविक हो । तर हामीले कसैलाई नठगीकन इज्जतका साथ कमाएका छौं । अरूभन्दा भिन्न तरीकाले काम गरिरहेका छौं । कुनै पनि काम गर्दा आत्तिनु र मात्तिनु हुँदैन भन्ने मान्यताले काम गरिरहेका छौं । 
अन्य औद्योगिक घरानाभन्दा पञ्चकन्या ग्रूपले कसरी फरक किसिमले काम गरिरहेको छ ?
हामी बोली र व्यवहारमा फरक नपार्ने किसिमले काम गर्छौं । गुणस्तरलाई सधैं उच्च प्राथमिकतामा राख्छौं । आजको दिनसम्म आइपुग्दा हामीले मात्र कमाउनु पर्छ भनेर कहिल्यै सोचेनौं । हाम्रो आफ्नै तरीकाले क्रमिक रूपमा आम्दानी भइरहेको छ । हाम्रो त तेस्रो पुस्ता पनि व्यवसायमै संलग्न भइसकेको छ । झन् राम्रो पुस्ता प्रवेश गरेको छ । उनीहरूको काम गर्ने तौरतरीका र दृष्टिकोण नै फरक छ । पञ्चकन्याको ब्रान्ड र इज्जत बचाउन सधैं प्रतिबद्ध छौं ।
 
पञ्चकन्या ग्रूप आजको अवस्थामा आइपुग्नमा कुन भुमिकाले टर्निङ प्वाइन्टको काम गरेको जस्तो लाग्छ ?
यसमा कुरा गर्ने हो भने त झापा छोड्नु नै प्रमुख कारण हो जस्तो लाग्छ । किन भने त्यहाँ हाम्रो स–मिल र राइस मिल मात्र थियो । झापा नछोडेको भए सायद हामी राइसमिल र स–मिलमा अल्झिएर बस्थ्यौं होला । अनि त राइसमिल पनि बन्द हुन्थ्यो, स–मिल पनि बन्द हुन्थ्यो । सायद त्यहाँभन्दा माथि आउँदैन थियौं कि भन्ने लाग्छ । अघि पनि मैले भनिसकेँ । बसार्इं सरेपछि नाम पनि आउने रहेछ, चुनौती पनि आउने रहेछ ।
 
तपाईंहरूले व्यापार विस्तारको क्रममा स्थापना गरेका कतिपय उद्योग बन्द पनि भए होलान् । त्यसलाई कसरी लिनुभएको छ ?
हामीले कुनै समयमा सिलिण्डर फ्याक्ट्री (नेपाल सिलिण्डर) खोलेका थियौं । त्यसअघि नेपालमा एलपीजीको एउटा मात्र सिलिण्डर फ्याक्ट्री थियो । शुरूमा हाम्रो उद्योगको राम्रो अवस्था थियो । पछि बोटलिङ प्लान्ट (ग्यास भर्ने उद्योग) का कारण गाह्रो भयो । बोटलिङ प्लान्टका उद्योगीहरूले बद्मासी गर्न थालेछि यसमा जहिल्यै घाटा हुन थाल्यो । किनभने हामीसँग बोटलिङ प्लान्ट थिएन । सिलिण्डर विक्री गर्दा व्यापारीबाट रकम एकदमै ढिला आउने र सस्तोमा विक्री गर्नुपर्ने भएपछि यसबाट पछि हट्यौं । त्यस्तै हाम्रो लगानी कुनै समय कार्पेटमा पनि थियो । त्यतिखेरको समयमा सबैले आयात मात्र गर्ने गरेका थिए । निर्यातको व्यापार पनि गरौं भन्ने हिसाबले कार्पेटमा लगानी बढाएका थियौं । यसमा धेरै लगानी ग¥यौं । जुन बेला हामीले कार्पेट कारखाना खोलेका थियौं, त्यतिखेर नेपालमा बालश्रम, डाई तथा केमिकलको समस्या चर्किन थाल्यो । मूल्य पाउन अत्यन्त प्रतिस्पर्धा हुन थाल्यो । नेपाली कार्पेटको छवि बिग्रिएपछि माग घट्न थाल्यो । त्यसबेला यसमा लगानी सही थियो, तर समय र वातावरण दुवै प्रतिकूल बन्यो । यसमा पनि काम अगाडि बढाउन सकिएन ।

कृषि व्यवसायतर्फ पनि जाने कि भन्ने सोचिरहेका छौं ।

आजको यो अवस्थामा आइपुग्दा गृहकार्य गरेर वा चाहँदा चाहँदै पनि शुरुआत गर्न नसकेको कुनै व्यवसाय छ ?
नेपालमा सिमेन्ट उद्योगको भविष्य छ भन्ने लागेको थियो । पञ्चकन्याकै ब्रान्डमा सिमेन्ट उद्योगमा काम गरौं भनेर परिवारमा छलफल पनि भएको हो । तर सिमेन्टमा गर्ने या नगर्ने भन्ने बारेमा सही निर्णय समयमै हुन सकेन । निर्णय समयमा हुन नसक्दा हामी यो क्षेत्रमा पछि परेका हौं । सिमेन्ट उद्योगको क्षेत्रमा पञ्चकन्या ग्रूप पछाडि परेकै हो । आजको दिनमा हामीसँग चुनढुंगा खानी तयारी अवस्थामा छ । अब यसमा आफ्नो तरीकाले केही गर्ने सोचिरहेका छौं । त्यस बेलाको कुरा गर्नुहुन्छ भने सिमेन्टका लागि हामीलाई पाटर्नरहरूले पनि साथ नदिएकै हुन् । त्यतिखेर हाम्रो समूहले सिमेन्टमा काम शुरु गरेको भए अहिले निकै अगाडि हुन्थ्यौं होला । अहिले सम्झँदा दुःख लाग्छ । अन्य एक/ दुईओटा काममा पनि हामी चुकेका छौं । जस्तै, सौर्य ऊर्जा क्षेत्र । यसको आयात तथा विक्री पनि गर्‍यौं । तर सफल हुन सक्ने देखिएन । हरेक व्यापारको साइकल र टाइम हुने रहेछ । यो कुरो उचित समयमा थाहा नपाउँदा सफल हुन नसकिने रहेछ ।

पञ्चकन्या ग्रूपलाई व्यापार विस्तारमा त्यति धेरै जोखिम नलिने व्यापारिक घराना पनि भनिन्छ । कतिपयले त तपाईंहरूलाई कन्जरभेटिभ पनि भन्ने गरेका छन् । यसबारे के भन्नुहुन्छ ?
जोखिमको कुरा गर्ने हो भने घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने उखान नै छ नि । मेरो स्वभाव पहिलादेखि नै अरूले गर्न सक्छ भने हामीले किन गर्न सक्दैनौं भन्ने खालको थियो । व्यापारमा ‘नो रिक्स नो गेन’ भनिन्छ । तर कोहीको विस्तारै अगाडि बढ्ने सोच हुन्छ भने ममा चाहिँ राम्रो बाटो छ भने अगाडि बढिहाल्ने सोच छ । अहिले हामीमा कन्जरभेटिभ सोच छैन । अरूको भन्दा हाम्रो सोच र काम गर्ने शैली फरक हुन सक्छ । तर पुरातन खालको सोच छ जस्तो लाग्दैन । म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि नेटवर्क बढ्यो । यसबाटै आत्मबल पनि बढेको हो । 

तपाईंहरूको तेस्रो पुस्ता पनि व्यापारमा प्रवेश गरिसकेको छ । तीन पुस्ताबीच व्यापार व्यवसायलाई कसरी अगाडि बढाउने भनेर योजना बनाउनुहुन्छ ?
यसमा म एउटा प्रसँग बताउन चाहन्छु । जब नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यकाल सकियो, त्यसपछि म केही समय खाली जस्तै भएँ । त्यसपछि हाम्रा व्यवसायको निर्णय म आफै गर्थें । यसरी गर्दा केहीमा राम्रो पनि भएको छ । केहीमा त्यस्तो निर्णय नगरेको भए पनि हुने रहेछ भन्ने लाग्छ । परिवारका सदस्यहरूमा धेरै सल्लाह गर्न थाल्यो भने अघि बढ्न ढिला हुने रहेछ । यो हामीले भोगेका पनि छौं । पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ताबीच सोच्ने र कसरी अगाडि बढ्ने भन्ने तौरतरीका नै फरक हुन्छ । समयमै निर्णय हुन सकिएन भने समस्या आउँछ । चाहेर पनि गर्न सकिँदैन । आफूसँग कुनै व्यवसायको बारेमा आइडिया छ, तर काम गर्न परिवारबाट अनुमति पाइँदैन भने त्यो अवस्थामा समस्या आउँछ । त्यसका लागि हामीले कार्य विभाजन पनि गरेका छौं । ‘डू एण्ड डज’ को अवधारणा अनुसार सबैमा उत्तरदायित्व विभाजन गरेकाले त्यस्तो समस्या हामीमा आएको छैन ।

तीन पुस्तावीच कहिलेकाहीँ काम गर्ने क्रममा द्वन्द्व पनि हुन्छ होला । दैनिक कामकाजका लागि पारिवारिक सदस्य बीच पनि विधान नै बनाउनु भएको छ कि मौखिक कुराकानीबाट काम शुरु हुन्छ ?
यसमा हामीले खाका बनाएका छौं । दैनिक रूपमा मौखिक रूपमा पारिवारिक सल्लाह पनि हुन्छ । मेरो बुवा अहिले ९१ वर्षको हुनुभयो । उहाँ वृद्ध भए पनि व्यापारमा सक्रिय हुनुहुन्छ । उहाँले सक्रियताका साथ घरमै बसेर भए पनि उद्योग व्यवसायको जानकारी लिइरहनुहुन्छ । उहाँ आदरणीय व्यक्ति भएकाले निर्णय गर्दा जानकारी गराइ रहन्छौं । उहाँ पञ्चकन्या ग्रूपको अध्यक्ष पनि हुनुहुन्छ । कतिपय निर्णय हामी दाजुभाइ मिलेर पनि गर्ने गरेका छौंं ।

काम गर्ने तौरतरीकामा तपाईं र तेस्रो पुस्ताबीच खास के फरक पाउनुहुन्छ ?
म चेम्बर मुभमेन्टमा लागेको व्यक्ति हुँ । तेस्रो पुस्ताको उज्ज्वल र उदिप पनि विभिन्न संघसंस्थामा सक्रिय छन् । विभिन्न संघसंस्थामा पहिलादेखि नै पहिलो वा दोस्रो पुस्ता मात्र होइन, तेस्रो पुस्ता पनि सक्रिय छ । काम गर्ने तौरतरीकाको कुरा गर्ने हो भने अवश्य पनि फरक छ । हामी आफ्नो अनुभवको आधारमा काम गरिरहेका हुन्छौं भने तेस्रो पुस्ताचाहिँ तथ्यांक र बजार ट्रेण्डको आधारमा काम गरिरहेका हुन्छन् । काम गर्ने तौरतरीका आ–आफ्नै भए पनि हामी सबैको उद्देश्य भने व्यावसायिक रूपमा कसरी सफल हुन सकिन्छ भन्ने नै हो । हामी दिमाग र अनुभवको आधारमा काम गरिरहेका हुन्छौं भने उनीहरू लेखेर र क्याल्कुलेट गरेर अगाडि बढेका हुन्छन् । फरक यतिमात्र हो ।

अहिले त तपाईंका छोरा भतिजाहरू प्नि व्यवसायमा प्रवेश गरिसकेको अवस्था छ । उहाँहरूले कुन–कुन क्षेत्रमा नेतृत्व गरिरहनुभएको छ ? 
पहिले मेरो ध्यान उत्पादनमा केन्द्रित थियो । अरू काम पनि मैले काठमाडौंबाटै हेर्थें । ती काम अहिले भतिजा उज्ज्वलले हेरिरहेको छ । उदिपले चाहिँ कन्स्ट्रक्सन, फाइनान्स र अन्य दुई–चारओटा उद्योग हेरिरहेको छ । क्रियटिभ काममा पनि उसको संलग्नता छ । कान्छो छोरा आशिकले प्लाष्टिक डिभिजनतर्फ हेरिरहेको छ । मैले आफ्नो ठाउँबाट केही न केही काम गरिरहेको हुन्छु भने मेरो दाइ पनि आफ्नो क्षेत्रबाट काम गर्नुहुन्छ । हामीले डुब्लिकेशन नहुने गरी कार्य विभाजन गरेका छौं । 

आफ्नै व्यावयिक यात्रामा व्यस्त भएको बेला युवाको नेतृत्व गरेर तपाईं चेम्बर मुभमेन्टमा आउनु भयो । त्यतिखेर नेपाल उद्योग वाणिज्य संघमा अरु नै बादशाह भएको बेला निजीक्षेत्रको मूल नेतृत्वमा चाहिँ कसरी आउनु भयो ?
त्यतिबेलाको कुरा हो, नेपाल उद्योग वाणिज्य संघ थियो, महासंघ थिएन । पछि महासंघ नामकरण भयोे । मेरो बुवा प्रेमहादुर श्रेष्ठ झापामा व्यवसायीको रूपमा प्रख्यात हुनुहन्थ्यो । उहाँ वाणिज्य संघको अञ्चल प्रतिनिधि हुनुहुन्थ्यो । संघको साधारण सभामा भाग लिन उहाँ काठमाडौं आइरहनु हुन्थ्यो । संघमा बुवाको यो गतिविधिलाई हामीले पनि नियालिरहेका हुन्थ्यौं । त्यतिखेर मेरो उमेर २९ वर्षको थियो । बुवा र उहाँका साथीहरूको सल्लाह अनुरूप अञ्चल प्रतिनिधिको रूपमा उम्मेदवारी दिएको थिएं । लगत्तै अञ्चल प्रतिनिधिमा गोलाप्रथाबाट म चुनिएँ । म चेम्वर मुभमेन्टमा एकैपटक आएको भने होइन । फरक–फरक समयमा महासंघको विभिन्न पदमा पनि मैले काम गरेँ । जुन बेला विनोद चौधरी र पद्म ज्योतिबीच अध्यक्षमा प्रतिस्पर्धा भयो । त्यसबेला विनोद चौधरी अध्यक्ष हुनुभयो । त्यसबेलादेखि म सक्रिय रूपमा चेम्बर मुभमेन्टमा लागेको हो । निजी क्षेत्रको बारेमा विनोद चौधरीबाट मैले धेरै सिक्ने मौका पाएको हुँ । तर महासंघको इतिहासमा भने कुनै कारणवश म पद्म ज्योतिसँग नजिकिएँ । त्यतिखेर पनि मेरो स्वभाव सवैसँग मिल्ने खालको थियो । त्यसले पनि महासंघको नेतृत्वमा पुग्न सहयोग पुगेको हो कि जस्तो लाग्छ । आज पनि महासंघको नेतृत्वमा पुगेका कारण मलाई सबैले चिन्ने गर्दछन् । यो नै मेरो जीवनका लागि ठूलो उपलब्धि हो भन्ने ठानेको छु । जुन बेला महासंघको प्रथम उपाध्यक्ष भएको थिएँ । त्यतिबेला ममाथि धेरै चुनौतीहरू थिए । किनभने म पद्म ज्योति ग्रूपबाट एक्लो उपाध्यक्षको रूपमा निर्वाचित भएको थिएँ । फेरि महासंघ नेतृत्वको निर्वाचन हुने बेला भयो । अध्यक्षमा म त स्वाभाविक हकदार थिएँ । त्यसपछि अध्यक्षको निर्वाचनमा पनि रविभक्त श्रेष्ठ र म बीच प्रतिस्पर्धा हुने भयो । धेरै प्रयासपछि पत्रकार सम्मेलन गरेर पालो मिलाउने गरी प्रतिबद्धता व्यक्त गरेर नै म अध्यक्ष भएँ । मेरो कार्यकालमा धेरै काम गरें भन्ने लाग्छ । मलाई अहिले पनि महासंघको सफल अध्यक्ष भन्ने गरिन्छ । 


उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि त तपाईं पञ्चकन्या ग्रूपको आइकोनको रूपमा नै चिनिनु भयो । तर लामो समयदेखि तपाईंको दाइ ध्रुब श्रेष्ठ त पर्दा पछाडि रहनुभयो । यसले कहीँ कतै दाजुभाइबीच वैमनस्य ल्याउने काम त गरेन ?
मेरो दाइ सिद्धार्थ चेम्बर अफ कमर्सको अध्यक्ष हुनुहुन्थ्यो । एक दिनको कुरा हो, म महासंघको अध्यक्षको हैसियतले त्यहाँ जाँदा उहाँले स्वागत गर्नुभयो । नाताले भाइ भए पनि म त अध्यक्षको हैसियतले त्यहाँ गएको थिएँ । त्यो दिन मलाई अहिले पनि याद आउँछ । त्यतिखेर उहाँलाई चिसोपना भयो कि भन्ने लाग्छ । मैले ढोग्नुपर्ने आदरणीय व्यक्ति हो उहाँ । काम गर्ने क्रममा हामी दाजुभाइमा कहिल्यै पनि बेमेल र वैमनस्य भएन, हुँदैन पनि । 

भावी दिनमा पञ्चकन्या ग्रूप कसरी अगाडि बढ्छ ? के–के योजनाहरू छन् ?
यो देश गरीब होइन, जबरजस्ती गरीब बनाइएको छ । देशमा भिजनरी लिडर नभएकाले मुलुक आज यो अवस्थामा छ । अबको दिनमा युवाशक्तिहरूलाई अगाडि ल्याउन आवश्यक छ । पञ्चकन्या ग्रूपको इमेज आफ्नो ठाउँमा भए पनि आगामी दिनमा पब्लिक कम्पनीमा जाने हो कि भन्ने बारेमा पनि सोच्न आवश्यक छ । हामीलाई मात्र होइन, समग्र देशलाई हित हुनेगरी प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्नुपर्ने हुन्छ । पहिले पो सानो तिनो लगानीले पुग्थ्यो, अब त अर्बको प्रोजेक्ट शुरू गर्नुपर्ने अवस्था आइसकेको छ । अब हाम्रो सोचाइमा पनि परिवर्तन आवश्यक भइसकेको छ । यसका लागि विभिन्न योजनाका साथ काम भइरहेको छ ।

उद्योगमा लगानी गरेर धेरै जनाको चुल्हो बालेका छौं ।

पञ्चकन्या ग्रूपको मुख्य आम्दानी कुन - कुन उद्योगबाट संकलन भइरहेको छ ? वार्षिक कति आम्दानी हुन्छ ?
पञ्चकन्या ग्रूपको मुख्य आम्दानी उत्पादन सेक्टरबाटै भइरहेको छ । यसमा स्टिल र प्लाष्टिकको पनि योगदान उल्लेख्य छ । वित्तीय क्षेत्रबाट पनि लाभांश आइरहेको छ । त्यसबाहेक अरू पनि छन् । सबै क्षेत्रबाट एकनासको आम्दानी नभए पनि वर्षको अन्त्यमा हुने हिसाबकिताबबाट सन्तुष्ट छौं । सधैंभरि यति नै हुन्छ भनेर भन्न सकिँदैन । तर पनि उद्योग तथा टे«डिङ मिलाएर वार्षिक ८–१० अर्ब रुपैयाँको टर्नओभर हुन्छ ।

पञ्चकन्या ग्रूपको पहिलो पुस्ता अझै पनि सक्रिय रहेको अवस्थामा बुवाबाट तपाईंहरूले सिकेको केही पाठ छन् कि ?
उहाँको भनाइ जहिले पनि के हुन्छ भने बलेको आगो जसले पनि ताप्छन् । त्यसकारण कुनै काम गर्दा नआत्तिकन गर्नुपर्दछ । उहाँको स्वभाव के पनि छ भने कसैलाई दिनु छ भने तुरुन्तै दिनुपर्दछ, तर लिनु छ भने छोड्नु पनि हुँदैन । सकेसम्म सरसल्लाह गरेर काम गर्नुपर्छ भन्ने उहाँको मान्यतालाई नै आत्मसात् गरेर हामी अगाडि बढिरहेका छौं । 

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro