ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

अलैंचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

२०७९ मंसिर, ६  
गण्डकी प्रदेश
Tvs Raider NA

पोखरा । कृषिका लागि निकै उर्वर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैंचीमा आत्मनिर्भर हुँदै छन् । नगदेबाली अलैंचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो ।

माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करीब ७० रोपनी जग्गामा व्यावसायिक रूपमा अलैंचीखेती गर्न थालेका छन् । ज्योति अग्र्यानिक कृषि फार्मका सञ्चालकसमेत रहेका लामिछानेले भने, ‘अन्य बालीभन्दा अलैंचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।’ उनले सेपिलो बाँझो जग्गामा अलैंचीखेती हुने हुँदा खेर गएको जग्गाको उपयोग भएको बताए ।

स्थानीय किसानले २०५०–५१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत इलाम र ताप्लेजुङ भ्रमणमा गएको बेला त्यहाँबाट अलैंचीको रामसाइँ र गोलसाइँ जातका केही बेर्ना ल्याएर रोपेका थिए । यसले राम्रो उत्पादन दिएपछि किसानहरू अलैंचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । त्यतिबेला रोपेको अलैंचीको बेर्नाले अहिलेसम्म पनि फल दिइरहेको छ । एकचोटिको लगानी र मेहनतको प्रतिफल लामो समयसम्म पाइने भएकाले पनि अलैंचीखेती किसानको रोजाइमा पर्दै गएको उनले बताए ।

लामिछानेका अनुसार पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैंची क्षेत्र कार्यक्रममार्फत अनुदान प्राप्त हुन थालेपछि यस क्षेत्रका किसानको रुचि अझ बढेको हो । परियोजनाको अनुदानमा उक्त क्षेत्रमा अलैंची सुकाउने आधुनिक भट्टी ११ ओटा निर्माण गरिएको छ ।

त्यसैगरी पोखरा–२५ हेम्जाका भुवनेश्वर पौडेलले पनि अहिले माछापुच्छ्रे गाउँपालिका–६ धिताल गाउँमा व्यावसायिक अलैंचीखेती शुरू गरेका छन् । सरकारी सेवाबाट अवकाश लिएपछि कृषि कर्ममा लागेका पौडेल अहिले अलैंचीखेतीबाट निकै उत्साहित छन् । माछापुच्छ्रे एग्रो सेन्टर प्रालिका अध्यक्षसमेत रहेका पौडेलले शुरूमा परीक्षणका लागि करीब सात रोपनी क्षेत्रफलमा मात्र अलैंची लगाएको र उत्पादन राम्रो भएपछि क्षेत्र विस्तार गरेर व्यावसायिक खेती गरेको बताए । ‘लगाएको दुई वर्षमै एक क्विन्टलभन्दा बढी अलैंची उत्पादन भयो, यसले हामीलाई उत्साहित बनायो,’ उनले भने ।

२०७५ सालमा करीब एक सय ६० रोपनी जग्गा खरीद गरी कृषि कर्मको बाटोमा लागेका पौडेलले ६० रोपनी क्षेत्रफलमा अलैंचीखेती गरेका छन् । उनले अहिले क्षेत्र विस्तार गरेर थप एक लाख अलैंचीका बेर्ना रोपेका छन् । यसबाहेक कालिज, स्थानीय जातका कुखरा, एभोकाडो र जापानी कटुस पनि उनको फर्ममा देख्न सकिन्छ ।

माछापुच्छ्रे मर्दी खोला अलैंची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैंची ब्लकको समन्वयमा बिर्तामोड केन्द्रमा लगेर विक्री गरिने बताए । उनका अनुसार गाउँपालिकाका वडा नं २, ६, ७, ८ र ९ का बासिन्दाले व्यावसायिक रूपमै अलैंचीखेती गरेका छन् भने बाँकी वडाका किसानले पनि चासो राख्न थालेका छन् ।

यसैगरी मादी गाउँपालिकाका वडा १, २, ३, ८, १० र ११, अन्नपूर्ण गाउँपालिकाका वडा १, ३, ४, ७, १० र ११ तथा पोखरा महानगरपालिकाका वडा नं १६ र १९ मा अलैंची क्षेत्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । अहिले गाउँपालिकाबाट मात्रै करीब २५ हजार केजी अलैंची उत्पादन भएको छ । गाउँपालिकामा अलैंचीबाट वार्षिक रू. दुई करोड ५० लाख भित्रिएको पौडेलले बताए । गाउँपालिकाका केही वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वन क्षेत्रमा रूखका हाँगाबिँगा छिमल्दा पनि संरक्षण क्षेत्रबाट अवरोध हुने गरेको किसानको गुनासो छ । अलैंची क्षेत्रलाई ध्यान दिएर एक्यापले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

अलैंची रोपेको तीन वर्षदेखि उत्पादन हुन थाल्छ । गतवर्ष अलैंची प्रतिकिलो रू. ११ सयका दरले विक्री भएकोमा अहिले केही मूल्य घटेकाले किसानहरू पर्ख र हेरको अवस्थामा छन् । भारतीय व्यापारीले अलैंचीको मूल्य निर्धारण गर्ने र त्यसै आधारमा खरीद विक्री हुने हुँदा मूल्य घटबढ भइरहन्छ ।

पछिल्लो समय नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा अलैंची पनि पर्न थालेको छ । यस भेगमा उत्पादन हुने अलैंचीको निर्यात बढाउन सके विदेशी मुद्राको आर्जन समेत बढ्ने गाउँपालिका–८ का अध्यक्ष रामबहादुर गुरुङले बताए । गाउँलाई कृषिमै आत्मनिर्भर बनाउन ज्ञान केन्द्र र गाउँपालिकाको सहयोगमा किसानलाई आलुको बीउ पनि निःशुल्क वितरण गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिकाका विभिन्न वडामा अलैंचीखेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताए ।

‘माछापुच्छ्रे गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती निकै राम्रो छ, किसानले उत्साहित रूपमा व्यक्तिगत र समूहमा गरेर अलैंचीखेती गरेका छन्,’ उनले भने ।

अलैंचीखेतीको क्षेत्र विस्तार भएकाले आगामी दिनमा उत्पादन बढ्ने र गाउँ अलैंचीबाटै आत्मनिर्भर हुने अवस्थामा रहेको उनले बताए । उनका अनुसार अलैंची सुकाउने आधुनिक भट्टी निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ भने क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, उपकरण, नर्सरी, अलैंचीको बेर्नालगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro