ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कर्णालीका तीन जिल्लामा मंगलवारसम्ममा मतपेटिका संकलन हुने

२०७९ मंसिर, ६  
कर्णाली प्रदेश
Tvs Raider NA

सुर्खेत । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा मंलवारसम्ममा मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा बेलुका र रुकुम पश्चिममा मंगलवार दिउँसोसम्म मतपेटिका संकलन हुने जानकारी दिए ।

माथिल्लो कर्णालीका तीन जिल्लाबाट सोमवारसम्म मतपेटिका जिल्ला नआएको उनले बताए । ‘भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्,’ प्रहरी नायब महानिरीक्षक पोखरेलले भने, ‘हुम्ला, मुगु, र डोल्पा जिल्लामा मंगलवारसम्म मतपेटिका जिल्लामा आइपुग्ने देखिन्छ । रुकुमपश्चिममा मंगलवार दिउँसोसम्म मतपेटिका आइपुग्दै छ ।’ उनका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालिकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका संकलनका लागि हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकोप्टर माग गरिएको जानकारी दिए ।

डोल्पाका निर्वाचन अधिकारी रामबहादुर शाक्यले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ से–फोक्सुन्डो र  डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरबाट ल्याउने भनिए पनि सोमवारसम्म हेलिकोप्टर पुग्न नसकेको बताए । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्लाका सबै पालिकामा सडक नजोडिएकाले दुई दिनको बाटो हिँडेर मतपेटिका सदरमुकाम गमगढी ल्याउने काम भइरहेको जानकारी दिए । सबै पालिकाको मतपेटिका सदरमुकाम पुगेपछि मंगलवारदेखि मतगणना शुरू हुने उनले बताए । प्रजिअ महतका अनुसार हुम्ला, डोल्पा र मुगुमा मंगलवारदेखि मात्र मतगणना हुनेछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro