ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

तीस वर्षदेखिको पीडा : चन्द्रावती–पोखरीछाप सडक

२०७९ मंसिर, ६  
गण्डकी प्रदेश
Tvs Raider Image Not Found

तनहुँ । सडकलाई विकासको पहिलो खुड्किलोको रूपमा लिइन्छ । मुलुक संघीय संरचरनामा गएसँगै बनेका स्थानीय तहहरूले पनि सडक खन्ने कामलाई नै प्राथमिकता दिए । वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी स्थानीय तहले सडक खन्ने कामलाई प्राथमिकता दिए । तर, वर्षौंअघि खनिएका सडकको स्तरोन्नतिमा भने कसैले पनि ध्यान दिएका छैनन् ।

तनहुँको भानुमार्ग अन्तर्गत चन्द्रावती–पोखरीछाप सडक खण्ड विस्तार गरिएको करीब ३० वर्ष भइसकेको छ । यो तीन दशकमा यहाँका राजनीतिक दल तथा उम्मेदवार सो सडक खण्ड स्तरोन्नति गर्ने एजेण्डा प्रत्येक निर्वाचनमा उठाउँछन् । तर, सडकको अवस्था सुधार हुन सकेको छैन ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रका ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ पृथ्वी राजमार्गको डुम्रेबाट भानुमार्ग विस्तार गरिएको छ । तनहुँका गाउँगाउँमा कच्ची सडक विस्तार गरिए पनि स्थानीयले सहज रूपमा उपभोग गर्न पाएका छैनन् ।

भानुमार्गको चन्द्रावतीबाट भानु नगरपालिकाको वडा नं १२ र १३ का ग्रामीण क्षेत्रमा कच्ची सडक विस्तार गरिएका छन् । ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्न खनिएका सडकको समयमै स्तरोन्नति हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । हिउँदको समयमा धूलो र वर्षायाममा हिलोको समस्या सामान्य जस्तै बनेका ग्रामीण कच्ची सडक अहिले सानो झरी पर्दा यातायातका साधन समेत चल्न नसक्ने अवस्थामा छन् ।

भानुमार्गको चन्द्रावती–पोखरीछाप–ठूलोढुंगा खण्डको स्तरोन्नति तथा कालोपत्र गर्ने काम अगाडि बढाइएपछि अहिले अलपत्र अवस्थामा रहेको भानु–१३ पोखरीछापकी गुनुमाया गुरुङ बताउँछिन् । ‘निर्माण पक्षले सडक कालोपत्र, नाला निर्माण लगायतका पूर्वाधार तयार गर्ने जिम्मा लिएको समय सकिएको वर्ष दिन बित्नै लागे पनि प्रगति शून्य देखिन्छ,’ उनले भनिन्, ‘सडक खनेको लामो समय बिते पनि स्तरोन्नति हुन नसक्दा निकै दुःख कष्ट झेल्नुपरेको छ ।’
२०४९ सालमा भानुमार्गको चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएका छन् । यो सडकको १० किलोमिटर खण्ड २०७८ माघ १५ गतेभित्र कालोपत्र गर्ने, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायत कार्य सम्पन्न गर्नेगरी २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता गरिएको थियो ।

शंकरमाली कन्स्ट्रक्सन काठमाडौंले उक्त सडक खण्डको स्तरोन्नतिका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा ठेक्का पाएको थियो । तर  ठेक्काको समयसीमा सकिँदा १० प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।

निर्माण पक्षले पेश्कीस्वरूप २ करोड ६८ लाख ६४ हजार १११ रुपैयाँ निकासा लिएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ ।

सार्वजनिक खरीद ऐनको १२औं संशोधनपछि निर्माण पक्षलाई २०८० असार मसान्तसम्ममा म्याद थपिएको कार्यालयले जानकारी दिएको छ । उक्त सडक खण्ड कालोपत्र लगायत कार्य गर्न शंकरमालीले आफ्नो प्रतिनिधिमार्फत काम गराउँदै आएको र ठेक्का सम्झौतालगत्तै काम अगाडि बढाउने प्रयास गरे पनि विभिन्न समस्या झेल्नुपरेको गुनासो गरेको छ ।

सडक दयनीय अवस्थामा पुग्दा पनि स्थानीय सरकार, राजनीतिक दलका नेता तथा अन्य सरोकारवाला निकायले सडक निर्माणमा ताकेता नदिनु, काम भए/नभएको अनुगमन नगर्नु र विकास निर्माणमा राजनीति गर्नु दुःखद रहेको भानु–१३ चनौटेका कृष्णबहादुर कार्की बताउँछन् । ‘सडक खनेको वर्षौं समय बितेको छ । यही सडकको स्तरोन्नति गर्छौं भन्दै चुनाव जितेर गएका नेताहरू अझै पनि यही कुरा गर्दै गाउँमा भोट माग्न आएका छन्,’ उनले भने, ‘नेताहरूले चुनाव जित्दै गए तर, हाम्रो समस्या समाधान गरेनन् । चुनाव जितेर गएका नेताहरूले आफ्नो जीवनस्तरमा परिवर्तन गरे, तर हामी सर्वसाधारणको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन ।’ सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरूले सडकको स्तरोन्नतिमा ध्यान नदिएको यातायात व्यवसायी बाबुलाल गुरुङको गुनासो छ । प्रदेश सरकार अन्तर्गत रहेको उक्त सडक निर्माण पक्षको लापरबाहीका कारण हालसम्म सडक निर्माणले गति लिन सकेको छैन ।

भानुमार्ग हुँदै गण्डकी प्रदेशकै नमूना सामुदायिक होमस्टेका रूपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे जाने गरिन्छ । सडकको स्तरोन्नति नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसकेको होमस्टेका अध्यक्ष होमबहादुर गुरुङको गुनासो छ । आईएनएस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro