ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भारू बोकेर आउने पर्यटकलाई सिमानामा सास्ती

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । नेपालमा भारू ५ सय र २ हजारको नोटमा लगाइएको प्रतिबन्धका कारण भारतबाट आएका पर्यटकले सीमाक्षेत्रमा समस्या झेल्नु परेको व्यवसायीले बताएका छन् । 

नेपाल आउने भारतीय पर्यटकले ती दरका नोट बोकेको भेटिएमा सिमानामा खटिएका सुरक्षाकर्मीले नोट जफत गर्ने र थुनामा राख्नेसम्मको कारबाही गर्दा पर्यटक समस्यामा पर्ने गरेको उनीहरूको भनाइ छ ।

नेपालमा भारू १ सयका नोटमात्र प्रचलनमा रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । भारूको अनधिकृत कारोबारको जोखिमलाई ध्यानमा राखेर यस्तो नियम लगाइएको राष्ट्र बैंकका अधिकारीहरूले बताउने गरेका छन् । 

व्यवसायी भन्छन्– नेपाल घुम्न आउने पर्यटकलाई स्वागत गर्ने कि थुनामा हाल्ने ?

कम दरका नोट बोक्दा थोरै रकमका लागि पनि ठूलो मात्रामा बोक्नुपर्छ । त्यो झन्झटिलो र भारी पनि हुन्छ । कतिपयले जानकारीको अभावमा ५ सय र २ हजार दरका भारू बोकेका हुन्छन् र तिनै पर्यटक समस्यामा पर्छन् । यसले गर्दा भारतीय पर्यटक नेपाल आउनै हिचकिचाउने गरेको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । 

ठूला नोट बोकेर आउँदा समस्या हुने कारण उनीहरू स्थलमार्गबाट आउन नचाहेको र यसबाट तराई क्षेत्रको पर्यटन र होटेल व्यवसाय प्रभावित हुन थालेको अध्यक्ष पन्तको गुनासो छ । ‘यो क्षेत्रको व्यवसाय भारतीयकै भरमा चलेको हो । भारतबाट आएका पर्यटक आफूसँग भएको नगदकै कारण समस्यामा पर्न थालेपछि त्यसको प्रत्यक्ष मार व्यवसायमा परेको छ,’ उनले भने ।

नेपालमा सय रुपैयाँभन्दा माथिका भारतीय नोट प्रतिबन्धित रहेको भारतीय नागरिकलाई जानकारी हुँदैन । खर्च गर्न भनेर साथमा ल्याएको रकमकै कारण पर्यटकले सिमानामा दुःख पाउने गरेको नेपाल उद्योग वाणिज्य महासंघको मधेश प्रदेश टुर एन्ड ट्राभल तथा पर्यटन समितिका सहसंयोजक सञ्जय अग्रवाल बताउँछन् । 

सिमानामा भारतीय पर्यटकको लागि सहायता कक्ष राखेरै भए पनि सहजीकरण गरिनुपर्ने सुझाव नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोकुमार वैदको छ । ‘भारतीय पर्यटकसँग भएका ५ सय र २ हजार दरका नोट स्वघोषणाका आधार भिœयाउन दिनुपर्ने उनको सुझाव छ । ‘ल्याउन नदिने भए सिमानामै सहटीको सहज व्यवस्था मिलाउनुपर्छ । उनीहरूलाई कारबाही गरेर थुनामा पठाउने होइन । सहजीकरण गर्नुपर्छ,’ वैदले भने । 

नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय नै हुने भए पनि सिमानामा ती पर्यटकलाई अपमानजनक व्यवहार हुने गरेको पर्यटन व्यवसायीको बुझाइ छ । भारतीय पर्यटकलाई सिमानामा खटिएका सुरक्षाकर्मीले अभद्र र रूखो व्यवहार गरेको बारे सरोकारका संघसंस्थाले प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । 

प्रहरी प्रशासनले व्यवहार सुधार्ने प्रतिबद्धता जनाए पनि पालना नभएको पर्यटन व्यवसायीको अनुभव छ । ‘पर्यटकसँग ५ सय र २ हजारको नोट भेटिएमा त्यस्ता नोट जफत गर्ने र उनीहरूलाई जाली नोट कारोबारको मुद्दा चलाउने गरिएको छ । यसले नेपालको पर्यटकीय छविमाथि ठूलो आघात पुर्‍याउँदै आएको छ,’ अग्रवालले भने ।

भारतमा ती दरका नोट निर्बाध रूपमा चलिरहेको अवस्थामा नेपालमा प्रतिबन्ध लगाउनु र त्यसको बहानामा पर्यटकलाई दुःख दिनुको औचित्य नभएको व्यवसायी बताउँछन् । ‘कि त नेपालमा भारूमा पूर्ण प्रतिबन्ध लगाए भयो होइन भने सयको नोट चल्न दिने, ५ सय र २ हजारको रोक्नुको अर्थ छैन । यो नेपाल आउने पर्यटकका लागि अन्योल र समस्याको कारणमात्रै बनेको छ,’ पर्यटन व्यवसायीको तर्क छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro