ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शरद्मा हिमाल चढ्न ७६ देशका पर्यटकलाई अनुमति

सबैभन्दा धेरै आरोही अमेरिका, बेलायत र फ्रान्सबाट

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमाल तथा चुचुरा आरोहणका लागि वसन्त ऋतु (स्प्रिङ सिजन)पछि दोस्रो उत्कृष्ट सिजन मानिने शरद् (अटम)मा ७६ देशका पर्यटकलाई अनुमति दिइएको छ । पर्यटन विभागले शरद् ऋतुमा विभिन्न ४८ ओटा हिमाल तथा चुुचुरा आरोहणका विभिन्न देशका १ हजार ४३५ जनालाई अनुमति दिएको हो । 

सबैभन्दा बढी आम्दानी हुने सगरमाथामा समेत यो सिजनमा आरोहणका लागि अनुमति लिने पर्यटक छन् । वसन्त ऋतुमा पर्यटकको रोजाइ सगरमाथा हिमाल हुन्छ भने शरद्मा ८ हजार १६१ मीटर अग्लो मनासलु हुन्छ । यो वर्षको शरद् सिजनमा पनि मनासलु हिमाल आरोहणका लागि सबैभन्दा धेरैले अनुमति पाएका छन् । विभागको पछिल्लो तथ्यांकअनुसार यो हिमाल आरोहण गर्न ३८ दलका ४०४ जनाले अनुमति पाएका छन् ।

यो सिजनमा हिमाल तथा चुचुरा आरोहणका लागि ३३० महिलाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट पर्यटन विभागले ९ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार मनासलु आरोहण अनुमतिबाट ४ करोड ६२ लाख रुपैयाँ आम्दानी भएको छ । सगरमाथा आरोहणका लागि ५ जनालाई अनुमति जारी गर्दा ३५ लाख रुपैयाँ आम्दानी भएको छ ।

यो सिजनमा युद्धरत देश रसिया र युक्रेनका पर्यटक पनि हिमाल आरोहणका लागि नेपाल आएका छन् । कोरोना भाइरस (कोभिड–१९) कम भएपछि यो वर्ष १० महीनामा पौने ५ लाख पर्यटक नेपाल आइसकेका छन् । 

नेपालमा यो वर्ष शरद् ऋतुमा हिमाल आरोहण गर्न आउने पर्यटक सबैभन्दा धेरै बेलायत, अमेरिका र फ्रान्सका छन् । विभागका अनुसार अमेरिकाका १४४, बेलायतका १२९ र फ्रान्सका १३२ अरोहीले हिमाल आरोहण अनुमति लिएका छन् । यसैगरी जर्मनी, स्पेन, भारत, जापान, इटाली, अस्ट्रेलिया, नर्वे, पोल्यान्ड, रसिया, स्लोभानिया, इरानजस्ता देशबाट पनि अन्य देशको तुलनामा उल्लेख्य संख्यामा पर्यटक आएका छन् ।

यो अवधिमा सर्वियादेखि स्लोभाकिया, इजरायल, मेक्सिको, मलेशिया, पनामा, पोर्चुगललगायत देशबाट पर्यटकले हिमाल तथा चुचुरा आरोहणका लागि अनुमति लिएका छन् । 

यो सिजनमा मनासलु, अमादब्लम, चण्डी हिमाल, थापा पिकदेखि हुन्कु चुलीका थाथै सगरमाथा आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । कोरोना भाइरसका कारण २ वर्षसम्म थलिएको नेपालको पर्यटनमा २०२२ मा सकारात्मक सुधार देखिएको छ । कोभिडअघिको सन् २०१९ कै लयमा फर्किन अझै केही वर्ष कुर्नुपर्ने व्यवसायी बताउँछन् । सन् २०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल आएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro