ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भारतले इन्टरमिडियट स्टील निकासीमा कर घटायो,  नेपाली स्टील उद्योग पनि लाभान्वित हुने

२०७९ मंसिर, ६  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

नयाँ दिल्ली । भारतले तल्लो श्रेणी (लो ग्रेड) को आइरन ओर (कच्चा फलाम) र नेपालमा समेत आयात हुने केही इन्टरमिडियट स्टील उत्पादनमा गत मेमा लगाएको अतिरिक्त कर हटाएको छ ।

खानी उद्योगी र स्टील उत्पादकले उक्त करका कारण आफूहरूले विदेश निकासीमा घाटा बेहोर्नुपरेको भन्दै महीनौंदेखि गुनासो गर्दै आएका थिए । शनिवारदेखि लागू हुने गरी ती वस्तुको निकासीमा लाग्ने अतिरिक्त कर कटौती भएको समाचार रोयटर्सले सार्वजनिक गरेको छ । शुक्रवार अबेरतिर प्रकाशित सूचनाले गत मेदेखि ५८ प्रतिशतभन्दा कम फलाम तत्त्व रहेको आइरन ओर लम्प्स र फाइन्स निकासीमा लगाइएको ५० प्रतिशत कर उल्टाएको छ ।

सरकारले मे मै रोस्टेड आइरन पाइरिट्सबाहेकको आइरन ओर कन्सन्ट्रेट्समा लगाएको कर पनि उल्टाएको छ । उक्त कर अब ५० प्रतिशतबाट ३० प्रतिशतमा झरेको छ । मेमा ती वस्तुमा अतिरिक्त कर लगाउनुको उद्देश्य आइरन ओरको घरेलु आपूर्ति बढाउनु र महँगी बढ्न नदिनु थियो । यो स्टील बनाउने कच्चा पदार्थ हो । 

भारतले अक्टोबरअघिको ७ महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम कच्चा फलाम निकासी गरेको सरकारी तथ्यांकले देखाउँछ । भारतका प्रमुख स्टील उत्पादकले सरकारलाई आयातमा लगाइएको थप कर हटाउन आग्रह गर्दै आएका थिए । उक्त करले कमजोर हुँदै गइरहेको अन्तरराष्ट्रिय मागमा समस्या थपेको उनीहरूको भनाइ थियो । 

भारतका खानी उद्योगीहरूको संस्थाले पछिल्लो कर कटौतीपछि पनि निकासी बढ्ने सम्भावनाप्रति सन्देह प्रकट गरेको छ । ‘चिनियाँ बजार अहिले धेरै उल्लासमय छैन । हेर्दै जाउँ हामी कति निर्यात गर्न सक्छौं,’ फेडेरेशन अफ इन्डियन मिनरल इन्डस्ट्रिजका महासचिव आरके शर्माले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘व्यापारमा एकपटक समस्या आइसकेपछि पुनः लयमा आउन निकै कठिन हुन्छ ।’ 

यसै महीनाको शुरूतिर शर्माले अक्टोबरमा भारतको कच्चा फलाम निकासी करीब शून्यमा झरेको बताएका थिए । यसमा उनले उच्च निकासी करलाई प्रमुख कारण भनेका थिए । चीनको कमजोर अर्थतन्त्रका कारण घट्दो मागले निकासी अझै खस्किने उनको भविष्यवाणी थियो । 

तल्लो श्रेणीको ओर उत्पादन गर्ने भारतीय उत्पादकहरू विदेशी बजारमा बढी आश्रित छन् । भारतका प्रमुख स्टील उत्पादकले उच्च ग्रेडको आइरन ओर प्रयोग गर्छन् । 

शुक्रवारको सूचनामा सरकारले केही बार, रड जस्ता इन्टरमिडियट स्टील उत्पादनमा लाग्ने १५ प्रतिशत निर्यात कर पनि हटाएको छ । यसबाट नेपाली वायर उद्योगहरू पनि लाभान्वित हुनेछन् । भारतबाट बार, रड जस्ता कच्चा फलाम आयात गर्दा १५ प्रतिशत कर तिर्न नपरेपछि उनीहरूको लागत घट्नेछ ।

उक्त कर पनि गत मेदेखि नै लगाउन थालिएको थियो । नेपालका वायर उत्पादकले गत मेदेखि भारतले लगाउन थालेको १५ प्रतिशत निकासी करकै कारण आफ्नो उत्पादनको लागत बढेर प्रतिस्पर्धी क्षमता खस्किएको गुनासो गर्दै आएका छन् । गत साता क्षमताका आधारमा भारतकै सबैभन्दा ठूलो स्टील उत्पादक जेएसडब्ल्यूले रोयटर्सलाई घट्दो विश्वव्यापी माग र अतिरिक्त करका कारण चालू आर्थिक वर्षमा आफ्नो निकासी ५ वर्षकै सबैभन्दा तल्लो तहमा ओर्लिने बताएको थियो ।

कम्पनीका ज्वाइन्ट म्यानेजिङ डाइरेक्टर सेसागिरी राव एमभीले अतिरिक्त कर कटौती गर्ने पछिल्लो कदमले उद्योगको मनोबल बढाउने प्रतिक्रिया दिएका छन् । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro