ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चुनाव पछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो, अब बजार कता जाला ?

२०७९ मंसिर, ६  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चुनाव पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ७ दशमलव १३ अंक घटेर १ हजार ९२९ दशमलव ७० विन्दुमा कायम भएको छ । 

गत बिहीवार नेप्से परिसूचक २५ अंक बढेको थियो । बढेको बजारमा ट्रेडरहरूले नाफा बुक गरेसँगै मंगलवार बजार सामान्य प्रभावित भएको हो । पछिल्लो समय पूँजी बजारका लागि  सकारात्मक खबरहरू सार्वजनिक भएका छन् । ब्याजदर घट्ने क्रममा रहेको छ ।

अर्थतन्त्रका सूचकहरू पनि क्रमशः  सुधार हुन थालेका छन् । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसले गर्दा पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

यसो त यतिबेला चुनावको नतिजा सार्वजनिक भइरहेको छ । अहिलेसम्म आगामी सरकार कस्तो हुन्छ ? अनि कसले नेतृत्व गर्छ ? भन्ने टुंगो लागिसकेको छैन । सोही कारण कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको अनुमान गर्न सकिन्छ । किनभने शेयर बजारमा राजनीतिले  प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । 

आगामी सरकार कस्तो हुने र अर्थतन्त्रलाई कसले हाँक्ने लगायतका कुरालाई पनि लगानीकर्ता निकै चासोका साथ हेरिरहेका छन् ।  यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको ट्रेड, कम्पनीको आधारभूत एवं प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने विश्लेषकहरू बताउँछन् । 

कारोबारमा आएका २२८ धितोपत्रको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर २४ हजार २४३ पटकमा रू. १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका २२८ धितोपत्रमध्ये सबैभन्दा बढी जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ६ दशमलव २३ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७५ पुगेको छ । त्यसैगरी दोस्रोमा खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ३१५ दशमलव ३० कायम भएको छ । 

मंगलवार सबैभन्दा बढी युनिलिभर नेपालको शेयर मूल्य ५ दशमलव ५८ प्रतिशत घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८ हजार ६०१ मा झरेको छ । त्यसैगरी सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ४८ प्रतिशत घटेर रू. ३७१ भएको छ । सर्वाधिक शेयर खरीदविक्री नेपाल बैंकको भएको छ ।

यस बैंकको रू. १२ करोड १६ लाख बराबरको कारोबार भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. २८३ कायम भएको छ । त्यसैगरी सर्वाधिक दोस्रो शेयर खरीदविक्री रिडी पावर कम्पनीको रू. ३ करोड ६७ लाख बराबर भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक १ दशमलव ४४ प्रतिशत घटेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro