ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यी मन्त्री, जसको संसद् यात्रामा लाग्न सक्छ ‘ब्रेक’

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्को वरीयतामा चौथो नम्बरमा रहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चुनावी मतगणनाको परिणाम आफ्नो विपक्षमा आउला भन्ने सायदै सोचेकी थिइन् । त्यो पनि भर्खरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारसँग यत्रो मतान्तर आउँला भन्ने कल्पनाबाहिरको विषय थियो उनका लागि । तर, चुनावी मतगणनाले देखायो यस्तै । यद्यपि, मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन । 

ललितपुर–३ बाट चुनाव लडेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग ७ हजारभन्दा बढी मतले पछाडि छिन् । कार्कीले १० हजार ८३२ मत ल्याउँदा उनले ३ हजार ५०२ मत मात्रै पाएकी छन् । 

सो क्षेत्रमा दोस्रो स्थानमा रहेका नेकपा एमालेका अमृत खड्काको ६ हजार ४८७ मत छ । उनले पाएको मत मन्त्री भुसालको भन्दा झण्डै दोब्बर हो । यस आधारमा मत बाँडिएको खण्डमा यो पटक उनको संसद् छिर्ने यात्रामा ब्रेक लाग्न सक्छ । 

मतगणनामा पछाडि परेका मन्त्रीमा उनी मात्रै एक्ली छैनन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन् । काठमाडौं–८ बाट चुनाव लडेका नेकपा एकीकृत समाजवादीका श्रेष्ठ पनि आफ्नो क्षेत्रमा तेस्रो स्थानमा छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ८ हजार २९० मतसहित अग्रता बनाएका छन् । दोस्रो स्थानमा छन्, हाम्रो नेपाली पार्टीका सुमन सायमी । उनले ५ हजार ५८९ मत ल्याउँदा मन्त्री श्रेष्ठले ३ हजार ८४० मत मात्रै पाएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवारसँग मन्त्री श्रेष्ठको मतान्तर ४ हजार ४५० छ । अर्थात् उनले पाएको मतभन्दा बढी मतान्तर छ । यस आधारमा उनको पनि संसद् यात्रामा पूर्णविराम लाग्न सक्छ । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अवस्था पनि उस्तै छ । बाँके–१ बाट संसद् बन्ने प्रयासमा रहेका उनी एमाले उम्मेदवारसँग ११ सयभन्दा बढी मतले पछि छन् । सो क्षेत्रका एमाले उम्मेदवार सूर्यप्रसाद ढकालले ८ हजार १५४ मत ल्याउँदा मन्त्री गहतराजको मत ७ हजार २७ मात्रै छ । 

यो सूचीमा मन्त्री उमेश श्रेष्ठ पनि छन् । चितवन–२ बाट चुनाव लडेका उनी आफ्नो क्षेत्रमा तेस्रो स्थानमा छन् । उनको क्षेत्रमा अग्रस्थानमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । लामिछानेले ६ हजार ४०१ म्त पाउँदा श्रेष्ठको मत ४ हजार १६५ मात्रै छ । अर्थात् दुवैको मतान्तर २२ सयभन्दा बढी छ । सो क्षेत्रमा एमालेका कृष्णभक्त पोख्रेलले ४ हजार ६३६ मत ल्याएका छन् । यही अनुपातमा मत बाँडिए उनको संसद् छिर्ने यात्रामा पूर्णबिराम लाग्न सक्छ । 

चुनावमा झिनो मतान्तरले पछि पर्ने मन्त्री पनि छन् । सुनसरी–४ बाट चुनाव लडेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदीशप्रसाद कुसियैतसँग ५४ मतले पछि छन् । कुसियैतले ३ हजार ८२ मत पाउँदा कार्कीको मत संख्या ३ हजार २८ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro