ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिबद्धताभन्दा निकै थोरै वैदेशिक लगानी

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालको तीव्र विकास र आर्थिक समृद्धिका लागि लगानीको आवश्यकता छ । स्वदेशी लगानी जुटाउन हम्मेहम्मे परिरहेको बेला धेरैको आशा वैदेशिक लगानीमा रहँदै आएको छ । तर नेपालमा भित्रिने वैदेशिक लगानी सन्तोषजनक छैन । प्रतिबद्धता अनुसारकै वैदेशिक लगानी भित्रिन नसक्दा त्यसको कारण खोज्नुपर्ने देखिएको छ ।

पछिल्लो १० वर्षको सरकारी तथ्यांक हेर्दा करीब साढे ३ खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएकोमा १ खर्ब रुपैयाँ हाराहारी मात्र भित्रिएको देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०६८/६९ यता विभिन्न मुलुकबाट ३ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसार आर्थिक वर्ष २०७८/७९ मा कति रकम भित्रियो भन्नेबारे तथ्यांक संकलन हुने क्रम जारी रहे पनि आर्थिक वर्ष २०७७/७८ सम्ममा १ खर्ब १४ अर्ब ८४ करोड रुपैयाँ मात्रै भित्रिएको विभागले बताएको छ ।

केही समयअघि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा पनि आर्थिक वर्ष २०५१/५२ देखि २०७७/७८ सम्ममा ३ खर्ब ५७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा १ खर्ब ३० अर्ब ४३ करोड रुपैयाँ मात्र नेपालमा लगानी भएको पाइएको थियो ।

नेपालमा अपेक्षित वैदेशिक लगानी आउन नसकेपछि हरेक सरकारले वैदेशिक लगानी बढाउन जोड दिँदै आएको छ । तर, वैदेशिक लगानी भित्र्याउन सरकारी स्तरबाट उपयुक्त वातावरण तयार नभएकाले समस्या हुँदै आएको विभागकै कतिपय अधिकारी बताउँछन् ।

केही समय अघिसम्म वैदेशिक लगानीको तल्लो सीमा ५ करोड रुपैयाँ तोक्नुले पनि प्रतिबद्धता अनुसार वैदेशिक लगानी आउन गाह्रो भएको कतिपयको भनाइ रहँदै आएको छ । तर केही दिनअघि वैदेशिक लगानीको तल्लो सीमा घटाएर २ करोड रुपैयाँमा झारिएको छ ।

कतिपय अर्थशास्त्रीहरू अझै पनि वैदेशिक लगानीका लागि सीमा तोक्नु ठीक नभएको तर्क गर्छन् । खासगरी सूचना र प्रविधिसँग जोडिएका उद्योग, व्यवसायमा लगानीभन्दा पनि नवीनतम सोचको आवश्यकता पर्ने भएकाले लगानीको सीमाले झन्झट मात्र सृजना गर्ने उनीहरूको तर्क रहँदै आएको छ । सरकारले भने यस्तो कुराको सम्बोधन गर्नुभन्दा विदेशी नागरिकको व्यावसायिक भिसामा कडाइ गर्ने नीति लिएको छ ।  व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिक उद्देश्य विपरीतका गतिविधिमा सामेल भएको र हुन सक्ने भन्दै सरकारले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न कडाइ गरिएको बताएको थियो ।

यसअघि विभागले विदेशी लगानी प्रतिबद्धता गरेपछि एक वर्षसम्मका लागि व्यावसायिक भिसा प्रदान गर्दै आएको थियो । सो अवधिमा कम्पनी किन दर्ता भएन भन्नेबारे जानकारी लिँदा विभिन्न कारण देखाउँदै व्यावसायिक भिसा थप गर्दै आएका थिए । तर, आगामी दिनमा तोकेको शर्त पूरा नभए भिसा थप नहुने बताइएको छ । अबदेखि विदेशी लगानी स्वीकृत भएपछि विभागले पहिलोपटक ३ महीनाका लागि व्यावसायिक भिसा सिफारिश गर्दा अनिवार्य रूपमा कम्पनी दर्ताको प्रमाणपत्र पेश गर्नुपर्ने शर्त राखेको छ ।

आर्थिक वर्ष २०६८/६९ मा विभिन्न मुलुकबाट ७ अर्ब १३ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै आव २०६९/७० मा नेपालमा १९ अर्ब ८१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा ९ अर्ब ८ करोड रुपैयाँ मात्र लगानी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

आव २०७०/७१ मा विभिन्न मुलुकबाट २० अर्ब १३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा ३ अर्ब १९ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै, आव २०७१/७२ मा ६८ अर्ब ४५ करोड रुपैयाँको लगानी प्रतिबद्धता गरिएकोमा ४ अर्ब ३८ करोड रुपैयाँ भित्रियो । आव २०७२/७३ मा १५ अर्ब २५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा ५ अर्ब ९२ करोड रुपैयाँ मात्र आउन सकेको विभागले बताएको छ ।

आव २०७३/७४ मा १५ अर्ब २० करोड रुपैयाँको लगानी प्रतिबद्धता गरिएकोमा १३ अर्ब ५० करोड रुपैयाँ भित्रियो । आव २०७४/७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँको प्रतिबद्धता आएकोमा १७ अर्ब ५० करोड रुपैयाँ भित्रिएको थियो ।

त्यसैगरी २०७५/७६ मा २५ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा त्यसको करीब आधा १३ अर्ब ६ करोड रुपैयाँ भित्रियो ।  आव २०७६/७७ मा ३७ अर्ब ८० करोड  रुपैयाँ बरारबको प्रतिबद्धता आए पनि १९ अर्ब ४७ करोड रुपैयाँ मात्र भित्रियो । यो क्रम आर्थिक वर्ष २०७७/७८ मा पनि जारी रह्यो । त्यस वर्ष विभिन्न मुलुकबाट ३२ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा १९ अर्ब ५१ करोड रुपैयाँ नेपाल भित्रिन सक्यो ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मुलुकबाट ५४ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । तर त्यस्तो प्रतिबद्धता अनुसार नेपालमा कति रकम भित्रियो भन्नेबारे तथ्यांक संकलनको काम भइरहेको विभागले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro