ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

परिसंघका पदाधिकारी र राजस्व सचिवबीच भेटवार्ता

‘मागमा आएको संकुचनले उद्योग क्षेत्र र राजस्व प्रभावित’

२०७९ मंसिर, ७  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र राजस्व सचिवबीच भेटवार्ता भएको छ । राष्ट्रिय कर दिवस २०७९ को अवसरमा परिसंघका पदाधिकारीले अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग अन्तरक्रिया गरेका हुन् ।

भेटवार्तामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचनको असर उद्योग क्षेत्रसँगै सरकारको राजस्वमा समेत परेको बताए । त्यसको समग्र असर अर्थतन्त्रले भोगिरहेको उनको भनाइ थियो । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याजदर घटाउने, समग्र माग बढाउने खालको नीति अबलमन गर्नुपर्नेमा उनले जोड दिए ।

परिसंघले गरेको सर्वेक्षण अनुसार उद्योगको प्रकृति अनुुसार ८० प्रतिशतसम्म मागमा संकुचन आएको देखिएको छ । अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा उद्योगसँगै राजस्व पनि थप प्रभावित हुने र त्यसको प्रत्यक्ष असर पूँजीगत खर्चका लागि सरकारलाई रकमको अभाव हुन सक्ने औंल्याइएको छ । उनले बहुदर भ्याट प्रणाली लागू गर्न आवश्यक रहेको बताए । भारतलगायत अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी गराउन पनि बहुदर भ्याट प्रणालीको विकल्प नभएको उनको भनाइ थियो ।

राजस्व सचिव दंगालले राजस्व संकलनमा कमी आउँदा त्यसले वित्तीय चाप पारेको बताए । अर्थतन्त्रमा परेको दबाबबारे निजीक्षेत्र जानकार रहेको भन्दै उनले राजस्वमा योगदान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

अर्थतन्त्रमा स्थायित्व ल्याउने गरी मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेको राजस्व सचिव दंगालले बताए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक शाक्यले निजीक्षेत्रलाई दोहोरो कर नपरोस् भन्नेमा विभाग सचेत रहेको बताए । कर अधिकारी र करदाताबीच भौतिक सम्पर्क नै हुन नपर्ने गरी कर प्रशासनमा सुधार गर्न लागिएको उनको भनाइ थियो । निजीक्षेत्र नफस्टाए सार्वजनिक क्षेत्र पनि अगाडि बढ्न नसक्ने उनले बताए । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले उद्योगहरू फस्टाउन नीतिगत स्थिरता आवश्यक रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro