ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

उडान कटौतीले आम्दानी खुम्चियो : वायुसेवा निगम

२०७९ मंसिर, ७  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान कटौती यथावत् राख्दा आर्थिक समस्यामा परेको भन्दै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग उडान रद्द नगरिदिन आग्रह गरेको छ ।

उडान स्वीकृति र रद्द गर्ने क्रम नियमित रहेको भन्दै निगमले मन्त्रालयसँग पहिलाकै उडान अवस्थालाई यथावत् राखिदिन आग्रह गरेको हो । प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान नगर्दासम्म नियमित उडान संख्या कटौती गरिदिएपछि आफ्नो आम्दानीमा संकुचन र अतिरिक्त लागत थपिएको निगमको भनाइ छ ।

अर्बौं रकम खर्च गरेर तयार भएको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले जान आनाकानी गरेपछि प्राधिकरणले कात्तिक दोस्रो सातादेखि निगमको १४ ओटा अन्तरराष्ट्रिय उडान कटौती गरिदिएको छ । निगमले विभिन्न १० अन्तरराष्ट्रिय गन्तव्यमा सातामा ५६ उडान गर्दै आएको थियो । 

साप्ताहिक उडान संख्या ४२ मा सीमित भएपछि निगमले आम्दानी नै गुमाएको प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो । यसका साथै अतिरिक्त लागत भार पनि थपिएको उल्लेख गरिएको छ । प्राधिकरणका प्रवक्ता अर्चना खड्काले अहिले पनि उडान कटौती कायमै रहेको बताइन् । उडान कटौतीले निगमको आम्दानीमा भएको संकुचनको अंक भने उनले खुलाएकी छैनन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्वाचनअघि प्रस्ताव पेश गरेको र स्वीकृतिको पखाईमा रहेको उनले बताइन् । 

निगमले काठमाडौं–दिल्ली रूटमा सबैभन्दा धेरै उडान गर्दै आएको छ । उसले यो रूटमा सातामा १४ उडान गर्छ । दोहा, मलेशिया र दुबईमा ७/७ र रियादमा ६ उडान गर्छ । यस्तै मुम्बई, बैंगलोर, हङकङ, बैंकक र नारिताका लागि ३/३ गरी कुल ५६ ओटा उडान गर्छ । अहिले यो संख्या ४२ मा झरेको हो । निगमको विज्ञप्तिमा भनिएको छ, ‘पुरानो रूटमध्येको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको साप्ताहिक १४ उडानमध्ये अहिले १० ओटा मात्रै स्वीकृत भएका छन् । बाँकी उडान रद्द हुँदा निगमको आम्दानीमा संकुचन आएको छ ।’

साप्ताहिक रूपमा चारओटा उडान रद्द भई त्यसका यात्रुलाई रि–रूटिङ गर्दा त्यसबाट हुने अतिरिक्त लागतको भारसमेत निगमले बेहोर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी निगमले गौतमबुद्ध विमानस्थलबाट हप्तामा चारओटा उडान स्वीकृतिका लागि प्राधिकरणमा पत्राचार गर्दासमेत उडान कटौती गरेको उल्लेख गरेको छ । उडान रद्द हुँदा समस्या भएको भन्दै निगमले काठमाडौं–दिल्ली–काठमाडौं उडान यथावत् र अन्य उडान पनि रद्द नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेको हो । प्राधिकरणले कात्तिक १३ गते बोर्डिङ पास जारी भइसकेपछि निगमको उडान रद्द गर्दा निगमको जहाजबाट नयाँ दिल्ली जान ठिक्क परेका २ सय ५४ यात्रु अलपत्र परेका थिए ।

गौतमबुद्धमा उडान स्वीकृति पाउँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न स्वीकृति दिने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधवार निगमलाई उडान स्वीकृति दिने जानकारी दिएका हुन् । काठमाडौंबाट मात्रै अन्तरराष्ट्रिय उडान गर्दै आएको निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सातामा चारओटा उडानका लागि प्राधिकरणमा पत्राचार गरेको थियो ।

उक्त विमानस्थलमा विदेशी एयरलाइन्स कम्पनी आएर उडान शुरू गरिसक्दा समेत निगमले चासो नदिएपछि प्राधिकरणले निगमको उडान संख्या नै कटौती गरिदिएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले उडान स्वीकृति दिने र त्यसपछि निमगले उडान गर्न सक्ने बताए । प्राधिकरणले स्वीकृति दिएपछि निगमले काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा सातामा ५६ ओटा उडान गर्न पाउनेछ । निगमले उक्त विमानस्थलबाट काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं रूटका लागि स्वीकृति माग गरेको छ । 

पोखराको ग्राउन्ड ह्यान्डलिङ माग

निगमले प्राधिकरणसँग पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ आफूलाई दिन पनि माग गरेको छ । निगमले आफूसँग ग्राउन्ड ह्यान्डलिङको अनुभव रहेको उल्लेख गर्दै नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम दिन माग गरेको हो । भैरहवा विमानस्थलको पनि ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको निगमले ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो व्यवस्थापकीय अनुभव, सोहीअनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक स्रोतसाधनको उपलब्धता रहेको बताएको छ ।

आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तरराष्ट्रिय स्तरको रहेको दाबी निगमको छ । निगमले विभिन्न १० गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आए पनि पछिल्लो समय प्राधिकरणले उडान कटौती गरेको आरोप लगाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro