ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चुनावी परिणामलाई कुर्दै लगानीकर्ता, नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

२०७९ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चुनाव पछिको दुई दिनको कारोबारलाई हेर्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यतिबेला चुनावको नतिजा सार्वजनिक भइरहेको छ । अहिलेसम्म आगामी सरकार कस्तो हुन्छ अनि कसले नेतृत्व गर्छ भन्ने टुंगो लागिसकेको छैन ।

सोही कारण कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको अनुमान गर्न सकिन्छ । किनभने शेयर बजारमा राजनीतिले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । आगामी सरकार कस्तो हुने र अर्थतन्त्रलाई कसले हाँक्ने लगायत कुरालाई पनि लगानीकर्ता निकै चासोका साथ हेरिरहेका छन् । त्यस्तै राष्ट्र बैंक पनि मौद्रिक नीति समीक्षाको तयारीमा रहेको छ । त्यसकारण लगानीकर्ताले मौद्रिक नीतिको समीक्षालाई पनि कुरेको देखिन्छ । मर्जर तथा प्राप्तिका लागि रोकिएका कम्पनीको शेयर नेप्सेले फुकुवा गरेको छ । यसले गर्दा पनि बजारमा आपूर्ति बढेको एक लगानीकर्ताले बताए । 

तर, जहाँ आपूर्ति हुन्छ, त्यहाँ माग पनि बढ्ने गर्दछ । यसो त पछिल्लो समय ब्याजदर घट्ने क्रममा रहेको छ । बिस्तारै तरलता सहज हुने देखिन्छ । यसले गर्दा पनि अब शेयर बजारमा बिस्तारै सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । पर्ख र हेरेको अवस्थामा लगानीकर्ता रहँदा कारोबार रकम पनि घटेको छ । मंगलवार रू. १ अर्ब ३५ करोड बराबरको शेयर किनबेच भएकोमा आज बुधवार रू. १ अर्ब २ करोडमा झरेको छ । 

बुधवार ७ दशमलव ७२ अंक घटेर नेप्से परिसूचक १ हजार ९२१ दशमलव ९९ विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २२३ धितोपत्रको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर १७ हजार ८७६ पटकमा रू. १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २२३ धितोपत्रमध्ये सिभिल बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २३४ दशमलव ३० पुगेको छ । त्यसैगरी घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएर रू. २०५ पुगेको छ । 

सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४ दशमलव ७८ प्रतिशत घटेर प्रतिकित्ता रू. ४१८ कायम भएको छ । त्यसैगरी नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाई मूल्य ४ दशमलव ७४ प्रतिशत घटेर रू. ७ दशमलव ४३ कायम भएको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री नेपाल बैंकको भएको छ । यस बैंकको रू. १२ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ११ करोड ९ लाख बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ८० प्रतिशत र व्यापार समूहको शून्य दशमलव २९ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा बढी ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro