ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

वैदेशिक व्यापार २० प्रतिशतले घट्यो

२०७९ मंसिर, ८  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को ४ महीनामा नेपालको वैदेशिक व्यापार झन्डै २० प्रतिशतले घटेको छ । वैदेशिक व्यापारको आकार घट्दा अर्थतन्त्रको प्रमुख चुनौती मानिएको व्यापारघाटा पनि झन्डै १६ प्रतिशतले घटेको छ ।

नेपाली मुद्राको अवमूल्यन र रूस–युक्रेन तनावले विश्वव्यापी आपूर्ति शृंखलामा पारेको असरस्वरूप इन्धनलगायत सबै वस्तुको मूल्यवृद्धि हुँदाहुँदै पनि झन्डै १६ प्रतिशतले व्यापारघाटा कम हुनुलाई निकै सकारात्मक मान्न सकिन्छ । तर, आयातमुखी राजस्व प्रणालीका लागि भने यो खतराको घण्टी हो ।

कोेभिड–१९ महामारी र रूस–युक्रेन तनावका कारण भएको वस्तुको मूल्यवृद्धि, बैंकिङ कर्जामा कडाइ र विदेशी मुद्रा सञ्चितिमा थप चाप पर्न नदिन आयात निरुत्साहित गर्ने सरकारी नीतिका कारण वैदेशिक व्यापार प्रभावित भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा चालू आवको कात्तिकसम्ममा नेपालले ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आवको यसै अवधिमा ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार गरेकोमा यस वर्ष १९ दशमलव ७९ प्रतिशतले घटेको हो ।

आयात र निर्यात दुवै घटेका कारण वैदेशिक व्यापारको आकार खुम्चिएको हो । यसको परिणाम व्यापारघाटामा कमी र विदेशी विनिमय सञ्चिति वृद्धिका रूपमा देखिएको छ ।

आव २०७९/८० को कात्तिकसम्ममा नेपालमा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ दशमलव शून्य ८ प्रतिशतले कम हो । अघिल्लो वर्ष ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

आयातसँगै निर्यात पनि ३३ दशमलव ३० प्रतिशतले घटेको छ । गत आवको कात्तिकसम्ममा नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष ५४ अर्ब ७७ करोडमा खुम्चिएको विभागको तथ्यांकले देखाउँछ ।

आयात र निर्यातमा आएको कमीले देशको व्यापारघाटा पनि घटाएको छ । २०७९ कात्तिकसम्ममा मुलुकको व्यापारघाटा १५ दशमलव ८८ प्रतिशतले घटेर ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिको व्यापारघाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ थियो ।

व्यापारघाटा कम भएपछि २०७९ असोजमा १४ महीनापछि देशको शोधनान्तर स्थिति बचतमा गएको थियो । असोज मसान्तमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । यसैगरी लामो समयदेखि दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिसमेत गत असारको तुलनामा २ दशमलव ५ प्रतिशतले बढेर असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

शोधनान्तर घाटा वृद्धि र विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि पोहोर मङ्सिरदेखि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको थियो । यसअन्तर्गत नेपाल राष्ट्र बैंकले २०७८ मङ्सिर १३ गते एउटा बीजकबाट एकपटकमा ३५ हजार अमेरिकी डलरभन्दा बढीको चाँदी आयात गर्न नपाइने व्यवस्था गर्‍यो । डीएपी (डकुमेन्ट एगेन्स्ड पेमेन्ट), डीएए (डकुमेन्ट एगेन्स्ड एसेप्टेन्स), टीटी र ड्राफ्टबाट चाँदी आयातको भुक्तानीमा पनि रोक लगायो ।

त्यसको १ महीना नपुग्दै आयात कर्जामा कडाइ गरियो । राष्ट्र बैंकले २०७८ पुस ५ गते विभिन्न २० हार्मोनिक कोडअन्तर्गतका सामान आयातको एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो ।

नगद मार्जिन राख्नुपर्ने वस्तुमा सुनचाँदी, मदिरा, भिनेगर, निजी सवारीसाधन (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृंगारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचरलगायत थिए ।

त्यसको डेढ महीनापछि २०७८ माघ २६ गते थप २७ हार्मोनिक कोडका वस्तु आयातको एलसीमा ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था भयो । यी कदम आयात नियन्त्रणमा असफल भएपछि २०७८ चैत २२ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर निजी सवारीसाधन आयातको एलसी नखोल्न मौखिक निर्देशन दियो ।

तैपनि आयात नियन्त्रण हुने लक्षण नदेखिएपछि २०७९ वैशाख १३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १० वस्तुको आयातमा प्रतिबन्ध लगायो । मन्त्रालयले तयारी मदिरा, खेल्ने तास, निजी सवारीसाधन, २५० सीसीमाथिका मोटरसाइकल, हीरा, कुरकुरे–लेज, ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका टेलिभिजन सेटको आयातमा रोक लगाएको थियो ।

२०७९ असार ३१ गते आयात गर्न नपाइने मोबाइलको मूल्य र मोटरसाइकलको सीसी घटाइयो, जसअनुसार ३०० डलरभन्दा महँगो मोबाइल र १५० सीसीभन्दा बढीको मोटरसाइकल आयात गर्न नपाइने भयो ।

२०७९ भदौ १३ गते एम्बुलेन्स र शबवाहनबाहेकका कार, जीप, भ्यान, ३०० डलरभन्दा बढी मूल्यका स्मार्टफोन, औद्योगिक कच्चा पदार्थबाहेकको सबै तयारी मदिरा र १५० सीसीभन्दा माथिका मोटरसाइकलबाहेक अन्य ६ वस्तु आयातको प्रतिबन्ध हटाएको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्ध भने मङ्सिर मसान्तसम्म थप गरिएको छ । पछिल्लो समयमा शोधनान्तर स्थिति बचतमा जानुका साथै विदेशी मुद्रा सञ्चिति बढेपछि आयात खुलाउन दबाब बढेको छ ।

यसैगरी तरलता अभावका कारण बैंकहरुले पनि मागअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । यसबाट पनि आयात प्रभावित हुँदै आएको छ ।

पेट्रोलियम आयात घट्यो
पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । (तालिका हेर्नुस्) डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ । पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा बाहिरिएकोमा यसपालि यो घटेर ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसपालि साउन–कात्तिकमा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल नै हो ।

पेट्रोल चालू आवको पहिलो ४ महीनामा २३ अर्ब ६९ करोड ७० लाख रुपैयाँको आयात भएको छ । पोहोर १८ अर्ब ६६ करोड ६५ लाख मात्रै पेट्रोल आयातमा बाहिरिएको थियो ।

यसपालि आयातको तेस्रो नम्बरमा रहेको एलपीजी ग्यास १९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँको पैठारी भएको छ । पोहोर साउन–कात्तिकमा १७ अर्ब ४३ करोड १७ लाख रुपैयाँभन्दा बढीको एलपीजी ग्यास आयात भएको थियो ।

कात्तिकसम्ममा नेपालबाट सबैभन्दा बढी पामोलिन ५ अर्ब ५४ करोड ४९ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै भटमासको तेल ५ अर्ब ३२ करोड २३ लाख र पाम तेल ३ अर्ब ३८ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro