ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रकृतिको अनुपम उपहार खप्तडको विशेषता

२०७९ मंसिर, ८  
सुदूरपश्चिम प्रदेश
Tvs Raider Image Not Found

बझाङ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्रकृतिले सुशोभित क्षेत्र हो ।

भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त, शरद र ग्रीष्म ऋतुमा रंगीबिरंगी फूलले छोपेको हुन्छ ।

वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूको नजरमा खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन । त्यसैले पहिलोपटक खप्तड भ्रमण गर्नेहरू स्वर्गमा पुगेको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानका आ–आफ्नै महत्त्व छन् । त्यसकै आधारमा खप्तडको पौराणिकता पनि यथार्थ जस्तै झल्किन्छ ।

खप्तडको अर्को छोटो परिचय हो, २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनका दु:ख, पीडा केही क्षणका लागि भए पनि बिर्सिन्छन् ।     

ऐतिहासिकता     
ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्र पौराणिक कालमा ‘खेचरादी’ पर्वतका रूपमा चिनिन्थ्यो । खेचरादी पर्वतको नाम बिस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पुराणका अनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।

खप्तडमा रहेको केदार ढुंगा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको अगाडिपट्टिको कपडा) मा हालेर ल्याएको किंवदन्ती छ । त्रिवेणी पाटनमा केदारढुंगा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको थियो रे । यस्तै खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुंगा, जेठी बहुरानी ढुंगा, नागढुंगा, सहस्त्रलिंग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायत चर्चित ठाउँहरूको छुट्टै इतिहास छ । तीमध्ये केही स्थानमा स्थानीयले शिवको रूपमा पूजाआजा गर्छन् ।     

राज्यको नजरपछि प्रचार     
विसं २०४२ मा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको महिमा भने ७५ वर्ष अघिदेखि नै व्यापक हुन थालेको पाइन्छ । (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) खप्तड बाबा तपस्या गर्न खप्तड पुग्नुभयो, त्यसपछि खप्तडको प्रचार हुँदै गयो ।

विसं २००२ मा बझाङी राजा रामजङ्गबहादुर सिंहको अगुवाइमा खप्तडका जङ्गलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए । पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए । त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो । देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो ।     

दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पक्षीयुक्त समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र २२५ वर्गकिमि क्षेत्रफलमा फैलिएको खप्तडमा सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना भयो ।

बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔंले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौं प्रकारका जडीबुटी पाइन्छन् । यो निकुञ्ज हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावरको बासस्थान हो ।

तथ्यांक हेर्दा खप्तडमा वन क्षेत्र १९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि ९ र झाडी बुट्यान २ दशमलव ८ वर्गकिमीमा फैलिएको छ । खप्तडमा ३८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइन्छन् । यहाँ रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा आठ र उन्यु १९ प्रजातिको भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकमा छ । कार्यालयको तथ्यांकअनुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।

संस्कृतिको संगम : गंगा दशहरा
हरेक वर्ष जेष्ठ शुक्ल दशमीमा मनाइने गंगा दशहरा मेलामा हजारौं तीर्थालु खप्तड पुग्ने गर्छन् । गंगा दशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गंगा दशहरा मेला खप्तडको प्रमुख आकर्षण हो ।

मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म पनि चल्ने गर्छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने अवसर पाउँछन् ।

राजधानी काठमाडौंबाट करीब १५ घण्टाको समयमा बसबाट कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जान बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेशद्वार बनाइएका छन् । त्यसमा पनि खप्तड पुग्न सबैभन्दा नजिक रहेको सडक सञ्जाल बझाङ छान्नाको मेल्तडी हो । मेल्तडीबाट साढे २ घण्टामा खप्तड पुग्न सकिन्छ ।

खप्तडछान्ना गाउँपालिकाका सबै वडाबाट खप्तड प्रवेश गर्न धेरै समय लाग्दैन । खप्तड मध्यवर्ती क्षेत्रका बासिन्दाको चरिचराउन गर्ने लेक हो । बझाङको खप्तडछान्ना र थलाराका विभिन्न गाउँ, बाजुरा (साविकको काँडा गाविस), अछाम (साविकको खप्तड गाविस) र डोटीको सायल, झिग्राना, काठमाडौंबाट खप्तड प्रवेश गर्ने सहज मार्ग मानिन्छन् ।

काठमाडौंबाट हवाईजहाजमा धनगढी पुग्न समय एक घण्टा र रू. १०–१५ हजारसम्म टिकट खर्च लाग्छ । त्यस्तै धनगढी–बझाङ हवाई टिकट रू. ५–७ हजार लाग्छ । हवाई यात्रामा करीब २२ हजार खर्चमा बझाङको देवल विमानस्थलसम्म पुग्न सकिन्छ । यसरी जाँदा एक दिनमै खप्तड पुग्न सकिन्छ । विमानस्थलबाट खप्तड पुग्नसम्म बाटोमा खाना, खाजामा बढीमा रू. २ हजार खर्च हुन्छ ।

बसमा जाँदा राजधानीबाट १५ घण्टामा कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जानका लागि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हुँदै जान सकिन्छ । बेलुका अत्तरियाबाट हिँड्दा भोलिपल्ट बिहान बझाङको तमैल बजार पुगिन्छ । तमैलबाट दिउँसो १२ बजेसम्ममा खप्तडछान्नाको मेल्तडी पुगिन्छ । मेल्तडी खाना/खाजा खाएर केहीबेर आराम गरेर हिँडेपछि दिउँसो २–३ बजे खप्तड पाटन पुगिन्छ । बुकिङ गाडीमा भने अत्तरियाबाट एकै दिनमा खप्तडछान्ना र भोलिपल्ट बिहानै खप्तडमा झुल्के घाम हेर्न पुग्न सकिन्छ ।     

डोटीबाट खप्तड जाँदा अत्तरियाबाट बुकिङ गाडीमा १० घण्टामा झिग्राना बजार पुगिन्छ । त्यहाँ खान बस्नका लागि राम्रो सुविधा भएका खप्तड होमस्टेलगायतका होटल छन् । अत्तरियादेखि झिग्रानासम्म सार्वजनिक यातायात पनि चल्छन् ।     

काठमाडौँबाट खप्तड गएर काठमाडौं फर्कन एक साता लाग्छ । खप्तडमा खाने/बस्ने प्रबन्ध भए पनि पाल, स्लिपिङ ब्याग, ड्राइफुड, ज्याकेट, रेनकोट, ऊनीको टोपी, मोजालगायत न्याना कपडा पनि लगेमा सहज हुन्छ । खप्तडमा पानी पर्दा सहनै नसक्ने चिसो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ । १० मिनेटको फरकमा पानी पर्ने र घाम लाग्ने गर्छ । पानी परेपछि ती रमाइला फाँटहरू एकैछिनमा जलाशयमा परिणत हुन्छन् । वर्षापछि पानी धेरैबेर रोकिँदैन । पानी पर्न छाड्नेबित्तिकै जमिन सुक्खा हुने खप्तडको विशेषता हो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro