ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कृषि औजार कारखाना साठी वर्षपछि पुन: सञ्चालन हुने आशा

२०७९ मंसिर, ८  
समाचार
Tvs Raider Image Not Found

वीरगञ्ज  ।  सरकारसँग कृषि औजार कारखाना सञ्चालनको सम्झौता गरेपछि राष्ट्रिय आविष्कार केन्द्रबाट आएको टोलीले सरसफाइको काम थालिसकेको छ ।

उक्त टोलीले वीरगञ्जस्थित कृषि औजार कारखानाभित्र रहेको सामग्रीको लगत संकलन पनि गरिरहेको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरू गरिएको जानकारी दिएको छ ।

केन्द्रका प्राविधिकसहितको टोली कारखानाभित्र प्रवेश गरेर औजार/उपकरणको अवस्था हेरिरहेका छन् । कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समितिको बैठकको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएको हो ।

कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीले कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मूल्यांकन गरिरहेको बताए ।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेशिन/औजार मर्मतसम्भार गर्ने, मेशिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक पर्ने लागत अनुमान गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनीयर प्रज्वल कोजुले औजार उपकरणको अवस्था परीक्षण भइरहेको बताए ।  ‘काम गर्न यताउता हिँडडुल गर्न मिल्नेगरी सरसफाइ गरेका छौं । मेकानिकल सेक्सनमा पहिलाका मेशिन/उपकरणको सफाइ तथा परीक्षण गरेर बनाउन मिल्ने/नमिल्ने हेरिरहेका छौं,’ उनले भने, ‘लेथ मेशिन, सेपर, ग्रेन्डरहरू ठीकै अवस्थामा छन् । मोटरहरू राम्रै कन्डिसनमा छ । पछि चालू अवस्थामा ल्याउन मर्मत नै गर्नुपर्ने हुन्छ ।’

परीक्षण गर्दा धेरैजसो मेशिन बनाएर काम गर्न मिल्ने अवस्थामा रहेको उनको भनाइ छ । बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानाको सुरक्षाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिइएको छ ।

कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीले कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मूल्यांकन गरिरहेको बताए । ‘प्राविधिक मूल्यांकन गर्नुहुन्छ, रेकर्ड राख्नुहुन्छ,’ उनले भने, ‘लागत इस्टमेटसहित प्रतिवेदन समितिलाई बुझाएपछि बाँकी प्रक्रिया अघि बढ्छ ।’ प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएर रकम निकासा गरी कारखाना सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताए । सबै उत्पादन गर्न नसके पनि एक वर्षभित्र १०/१५ किसिमका कृषि औजार उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो । ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो,’ उनले भने, ‘यसलाई आधुनिकीकरण गर्नु नै पर्छ ।  यहाँका मेशिन सबै हातले चलाउने किसिमको छ । अटोमेटिक मेशिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

२–३ वर्षभित्र कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको अध्यक्ष पुनले बताए । आईएनएस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro