ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सरकारको नेतृत्वमा नयाँ अनुहार आउला ?

२०७९ मंसिर, ९  
पाठक विचार
Tvs Raider NA

मङ्सिर ४ गते सम्पन्न संसदीय निर्वाचनले नेपालको राजनीतिमा नया तरंग पैदा गरेको छ । कसैले नसोचेको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बन्ने सम्भावना देखिँदै छ । यो भनेको शान्तिपूर्ण राजनीतिमा ठूलो रूपान्तरण हो । मतदाताले नयाँ विकल्प खोजेका छन् । सम्भावना देखिएका पुराना पार्टीका नेतालाई पनि जिताएको छ । यद्यपि ‘नो नट अगेन’ अभियान भने असफल भएको छ । जुनजुन व्यक्तिलाई हराउनुपर्छ भनिएको थियो, ती व्यक्तिले निर्वाचन जितेका छन् । तर, निर्वाचनले एउटा स्पष्ट सन्देश के दिएको छ भने अब हुने निर्वाचनमा पुराना दल पूरै बढारिन पनि सक्छन् । तर, नयाँ शक्तिका रूपमा उदाएको स्वतन्त्र अभियानले ५ वर्ष गर्ने काम, उनीहरूको एकता, संगठन क्षमता आदिले धेरै अर्थ राख्छ । संसद्मा कुनै पनि दलको बहुमत नआएको अवस्थामा सत्तारोहण गर्ने कि नगर्ने, कांग्रेस–एमाले कससँग नजिकिने, सरकारमा गए कसरी परिणाम दिने जस्ता कुराले राजनीतिको भविष्य कोर्ने देखिन्छ ।

इतिहासमा नयाँ पार्टी उदाउनु र पुराना पार्टी हराउनु स्वाभाविक हो । नेपाली कांग्रेसले आफ्नो आचरण नसुधारेकाले जनता अहिले बिच्किएका छन् । भोलि राम्रो काम गर्न सके त्यो जनमत फेरि तान्न सक्ने अवस्था नभएको पनि होइन । अहिले कांग्रेसमा नयाँ पुस्ताले प्रधानमन्त्री हाँक्न पाउँछन् कि भन्ने आशा पलाएको छ । पार्टीभित्र नयाँ पुस्ताका गगन थापालाई प्रधानमन्त्री बनाउन युवा नेतृत्वबीच एकमत जस्तै देखिएको छ । यदि यसो भयो भने त्यसले राजनीतिमा ठूलो अर्थ राख्छ । कांग्रेसको भविष्य यसले निर्धारण गर्नेछ ।

अहिले जनताले युवा नेतृत्व खोजेका छन् । जनताको मनोभावना नेतृत्वले बुझ्नुपर्छ । नत्र जनताको मन र विचार भाँडिन सक्छ । यो राजनीतिक बहस हो । भावी सरकार र समीकरणका सम्भावनाबारे कांग्रेसले सत्ता गठबन्धनसँगै पार्टीभित्रै अब छलफल हुन्छ । अहिले हतार गर्नुपर्ने अवस्था छैन । यद्यपि पुष्प कमल दाहाल र माधवकुमार नेपाल सत्ता गठबन्धनप्रति असन्तुष्ट भएको विचार सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्रीको उम्मेदवार बन्न नेपाली कांग्रेसको विधानअनुसार सम्बद्ध व्यक्ति संसदीय दलको नेतामा चयन हुनुपर्छ । त्यसपछि मात्रै उक्त व्यक्ति संसद्मा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत हुने हैसियत राख्छ । देउवा निकै चतुर खेलाडी भएकाले उनले सहजै नयाँ पुस्तालाई नेतृत्व सुम्पने सम्भावना कम छ । त्यसमाथि पनि कांग्रेसमा प्रधामन्त्रीका दाबेदार धेरै छन् । आगामी प्रधानमन्त्रीको सार्वजनिक रूपमा दाबी प्रस्तुत गरेका गगन थापाप्रति धेरैको सद्भाव छ । तर, सद्भावले मात्रै प्रधानमन्त्री बन्न सकिँदैन । देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने कुरा त उनले स्वीकारिसकेको अवस्था छ । तर, संसदीय दलभित्रको चुनावी अंकगणित र गुट उपगुटको तानातानले के हुन्छ भन्न सकिँदैन । तर, जनता भने नयाँ नेतृत्वको पर्खाइमा छन् ।

शुभ महर्जन
नयाँ बजार, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro