ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रयोगमै आएन आधाभन्दा बढी मतपत्र

२०७९ मंसिर, ९  
बागमती प्रदेश
Tvs Raider NA

नुवाकोट । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई खर्च कटौती गराउन भन्दै चुनाव प्रचार प्रसारका पुराना प्रकृतिहरूलाई परिवर्तन गरिदियो । दल तथा उम्मेदवारको तस्वीर, चिह्न अंकित टिसर्ट, टोपी, ज्याकेट लगायत छाप्न नै प्रतिबन्ध लगायो । ठूला ब्यानर, ठूला साइजका झण्डा, सवारीसाधन र्‍याली, भोजभतेरमा कडाइ गर्‍यो, जसले गर्दा उम्मेदवारको लाखौं रुपैयाँ जोगिएको छ । उम्मेदवार र राजनीतिक दलको खर्च कटौती गर्न ध्यान दिने आयोगले भने आफ्नै खर्च कटौतीमा ध्यान नदिँदा करोडौं रुपैयाँ खेर गएको छ । त्यसको एउटा उदाहरण हो– मतपत्र ।

नुवाकोटमा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अस्थायी मतदाताका लागि ६ हजार मतपत्रसहित दुई लाख ७१ हजार मतपत्र आएको थियो । नुवाकोटमा अस्थायी मतदातासहित दुई लाख ४० हजार सात सय १५ मतदाता थिए । मत भने ५३ दशमलव ९१ प्रतिशत मात्र खस्यो । एक लाख २९ हजार सात सय ८१ मत खस्दा मतपत्र पनि सोही अनुसार प्रयोग भयो । मतदाताभन्दा झण्डै १३ प्रतिशत बढी मतपत्र आएको नुवाकोटमा समानुपातिकतर्फ मात्र एक लाख ४१ हजार दुई सय १९ मतपत्र प्रयोग नै भएन । जिल्लामा आएकोमध्ये ५ दशमलव ११ प्रतिशत मतपत्र बाँकी रह्यो अर्थात्, प्रयोग भएकोभन्दा प्रयोग नभएको रित्तो मतपत्रको संख्या धेरै भयो । यसैगरी प्रत्यक्षतर्फ पनि मतपत्र झण्डै ५० प्रतिशत प्रयोगमै आएन ।

निर्वाचनमा मतदाताको उत्साह कम भएको र आयोगले मतदाताभन्दा बढी मतपत्र छापेकाले यसपटक देशभर लाखौं मतपत्र प्रयोगमा आएन ।

दुई करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेको निर्वाचनमा आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकका लागि आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छापेको थियो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक करोड ९८ लाख ७१ हजार, समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार, प्रदेश प्रत्यक्षतर्फ एक करोड ९९ लाख १८ हजार पाँच सय र प्रदेश समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छापेको निर्वाचन आयोगको बुलेटिनमा उल्लेख छ । आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा बढी मतदाताभन्दा १३ दशमलव ५२ प्रतिशतसम्म बढी मतपत्र छापेको छ । आयोगले यो पटक २०१५ को आम निर्वाचन भए यताकै सबैभन्दा कम मत ६० प्रतिशतमात्र खसेको बताएको छ । ६० प्रतिशत अर्थात् एक करोड ९ लाख ७३ हजार मतदाताले चारओटा मतपत्र प्रयोग गर्दा चार करोड ३८ लाख ९२ हजार एक सय ८ मतपत्र मात्र प्रयोग भयो ।

आयोगले मतदाता संख्या बराबर मात्र मतपत्र छापेको भए अहिलेको निर्वाचनमा ८४ लाख ४० हजार मतपत्र कम हुने थियो । २०१५ सालयता नेपालमा (पञ्चायतबाहेक) भएका निर्वाचनमा सबैभन्दा बढी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा ७८ दशमलव ७४ प्रतिशत मत खसेको थियो । अन्य निर्वाचनमा ७० प्रतिशत पनि नाघ्न सकेको छैन । प्रयोगमा नआउने गरी मतदाताभन्दा बढी मतपत्र किन छापेको भन्ने प्रश्नमा निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यविधिमा बढी मत छाप्नुपर्ने व्यवस्था भएकाले छापिएको बताइन् । आईएनएस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro