ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिबद्धताको राजनीतिक बजार

२०७९ मंसिर, ९  
तीतो मीठो
Tvs Raider
author avatar मदन लम्साल

प्रेम र युद्धमा जे पनि जायज हुन्छ रे, एभ्री थिङ इज फेयर इन वार एन्ड लभ । चुनाव पनि त युद्ध जस्तै हो नि । त्यसैले यहाँ पनि जे पनि जायज । उहिले युद्ध जित्न तरबार, ढाल, खुँडा, खुकुरीको जोहो गर्नुपर्थ्यो रे । तर, अहिले सजिलो छ । प्रतिज्ञापत्र छाप्यो, प्रतिबद्धता बनायो, उल्लुहरूलाई उल्लु बनायो, भेडालाई भेडा बनायो युद्ध जित्यो । सजिलो छ चुनावी युद्ध जित्न ।

गुन्डुका काजीसँगै पानी ट्यांकी तथा सर्पको खेतीमा प्रख्यातहरू पनि पाखा लागे क्यार । गच्छेवालाको पनि चुनाउ जित्ने गच्छे हराएछ । सिलौटा र कुजाता दुवै हार्ने भए रे । सलहलाई मेटल गीत बजाएर कक्रक्क पार्ने हारेर आफै कक्रक्क परेछन् ।

तर नेपाली राजनीतिमा कोरा प्रतिज्ञामात्र गरिन्नन् । यी प्रतिज्ञाहरू पालना गरिराख्न नेताहरूले हर यत्न प्रयत्न पनि गरिरहन्छन् । ‘प्राण जाओस् तर वचन नजाओस्’ भने जसरी उनीहरू जनतालाई आफूले गरेको वाचा पूरा गर्न लागिरहन्छन् । त्यसका लागि उनीहरू कसम खान्छन्, शक्तिकेन्द्र धाउँछन्, ढाँट्छन्, छल्छन्, जे जे सकिन्छ, गरिरहन्छन् । देश बनाउनु छ । देश बदल्नु छ । आफू नबनी न देश बन्छ, न बदल्न सकिन्छ । त्यसैले पहिलो आफू बनूँ भन्छन् । देश बन्न नसकेपछि आफैलाई बदलिरहन्छन् ।

काम गर्न नसकेपछि मामका लागि दल बदलिहाल्छन्, रंग बदलिहाल्छन् । आफ्नै घोषणापत्र, आफ्नै अडान, सिद्धान्त सबै सबै बदलिरहन्छन् । संसारै परिवर्तनशील छ भने सिद्धान्त र पार्टी मात्रै स्थिर रहनुपर्छ र ?

त्यसैले त हिजोका हलो बोक्नेहरू सूर्य समात्न सुरिए, हिजो तराजु तौलनेहरू पछि हलोको हली बन्न पुगे । अनि कतिपय सूर्यको तापले आफै नराम्ररी सेकिए र सकिए, कोही फाली लागेर घाइते भए । कोही ओछ्यान नछाडी विजयी भए, कोही रछानमा पुगे । कसैको जमानतै जफत, कोही जेलबाटै विजय पाउन सफल । अनि झाँक्री, डाक्टर, वैद्य र मधेशका मसिहाहरू सबै स्वाहा । अनि त धेरैले भनेका छन् आहा !

तर जे होस्, दल बदल्नासाथ फेरि नयाँ कसम खाने र खुवाउने मेला शुरू हुन्छ । अझ चुनावमा त यसको भेला नै लाग्छ । अनि आपसमा विधर्मी, विपरीत ध्रुव र वर्गशत्रुहरू रूख, हँसिया हथौडा र कलम एक ठाउँमा उभिन्छन् वा सूर्य र हलो जोडिन्छन् र गाउँछन्– ए दोस्ती, हम नहीँ तोडेंगे । गणित, विज्ञान, अध्यात्म कुनै हिसाबले पनि मिल्न नसक्ने तत्त्वहरूबीच यो कस्तो दोस्ती हो ?

राजनीतिका उच्च तहमा पुग्नेबित्तिकै नयाँ नयाँ दर्शन पनि जन्मन्छ । अनि अनवरत सत्ताको घेरामा घुमिरहने प्रयत्न जारी रहन्छ । सत्ता र भत्ताका लागि बाँस झैं निहुरिन परे पनि घाँस झैं दबिन परे पनि वा साँप झैं डस्न परे पनि तयार रहनु नै त नेताको लक्षण हो ।

तर, कसम, तिम्रो कसम वा कसम हजुरको, भगवान् कसम भनेर जति चलचित्र बनाए पनि वा जति गीत गाए पनि, गीताको कसमै खाए पनि अथवा जति वचन दिए पनि नीतिगत कुराहरू राजनीतिको बजारमा सम्पूर्ण अनीतिका साथ पूर्णरूपमा लहराउँछन् । वचन, कसम, संकल्प, घोषणापत्रका पुलिन्दा आदिको सहारामा प्रतिबद्धता पूरा गर्न थुप्रै आमसभा, कोणसभा पनि हुन्छन् नै । ‘पक्का’ ‘वचन भो’, ‘प्रतिबद्ध छु’ जस्ता थुप्रै जनआन्दोलन पनि चलाइन्छ । यसको समानान्तर ‘रोड शो’ आदि पनि आयोजना गरिन्छ ।  

मतदाता आकर्षित गर्न सामाजिक सुरक्षा (सासु) भत्ता बढाउनेदेखि देशलाई धनी देशको सूचीमा चढाउनेसम्मका प्रतिबद्धता जारी गरिन्छन् । ठूला नेताले त प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, अध्यक्ष, संयोजक के के पदहरू बाँड्छन् । राज्यको स्रोत पाएपछि यी त दानमा कर्ण र बलि दुवैलाई जित्ने महाबलि पो हुन् त । नि:शुल्क शिक्षा, स्वास्थ्य, बत्ती, पानी सबै सबै कुरा, के मात्रै लिने ? दिनेलाई भन्दा लिनेलाई पो आपत् । भलै दिन्छु भन्ने मान्छे स्वयं उभिएको जमीन भासिएको किन नहोस् । चुनावअघिका केही दिन र मतदान अवधिभर मासुभात, दारुपानी त सित्तैमा दिइन्छ पनि । यो त लगानी पो हो पाँच वर्षका लागि ।

त्यति मात्र काँ हो र ? प्रतिबद्धता कार्यक्रमहरूमा एउटाले अर्को दलसँग झगडा गर्न घोषित, अघोषित र घोष्ट गरी तीन प्रकारका अरिंगाल वा हनुमान् अथवा अर्को शब्दमा भनौं प्रवक्ताहरू टेलिभिजन र सामाजिक सञ्जालमा छोडिएका हुन्छन् विपक्षीका उम्मेदवारलाई टोक्न । तर बाहिर बाहिर गालीगलौज चले पनि सत्तामा पुग्न आवश्यक पर्‍यो भने अर्को दलसँग गठबन्धन गर्ने भित्रभित्रै प्रेम–प्रस्ताव पनि आदानप्रदान भइरहेको हुन्छ । वास्तवमा यो गठबन्धनको खोलमा ठगबन्धन गरिरहेका हुन्छन् । अन्तमा यी सबै लठभञ्जनमा परिवर्तित हुन्छन् ।

तर ‘पार्टी नेतैव ईश्वर’ भन्ने सिद्धान्तका पक्का दोस्रो तहका नेताहरू केही हारेका, केही हार्दै गरेका देखिन्छन् । घन्टी, ढ्वाङ र ढकिया चुनाउ चिह्न लिएर जितेकाहरू र फोर्ब्स अर्बपतिले संसद्मा के कति गर्न सक्लान्, हेर्नु छ । फिल्डमा त के के गरे गरे भन्ने सुनिन्छ ।

यता, छाता र साइकलवाला माइकलहरूबाट तराईका जनताहरू वाक्क दिक्क भएको पनि देखिँदै छ । गुन्डुका काजीसँगै पानी ट्यांकी तथा सर्पको खेतीमा प्रख्यातहरू पनि पाखा लागे क्यार । गच्छेवालाको पनि चुनाउ जित्ने गच्छे हराएछ । सिलौटा र कुजाता दुवै हार्ने भए रे । सलहलाई मेटल गीत बजाएर कक्रक्क पार्ने हारेर आफै कक्रक्क परेछन् । तर ‘नो नट अगेन’ भनेर पार्टीका जो जो सर्वोच्च नेतालाई उनीहरूको फोटो नै देखाएर हराउने अभियान चलाइएको थियो, आखिरमा गएर तिनै दाई, बा, सीसीटीभी र भेलुहरू भारी मतले जिते । जति तथानाम गाली गरे पनि यी नेताहरू त जितिहाल्ने रहेछन् त ।

धेरैओटा घन्टी संसद्मा पुग्ने पनि भए । ती घन्टी आफै बजिमात्र रहन्छन् कि अरूलाई पनि बजाउँछन्, हेर्न कुर्नुपर्ने हुन्छ । राजनीति बुझ्न किन यति सारो हो, यहाँ कस्ताले जित्ने कस्ताले हार्ने, बुझ्नै गाह्रो भो ।

कसम, प्रतिबद्धता, संकल्प, घोषणापत्र यी त सब भन्ने कुरा न हुन् । यी सबै कुरा जान्दाजान्दै पनि एउटा भोटर आफ्नो अमूल्य भोट सामान्यतया तिनै राजनीतिखोरहरूलाई हाल्न पुग्छ, जसलाई वर्षौंदेखि गाली गरिरहेको हुन्छ, रेष्टुराँमा धेरै बेर लाएर मेनु हेरे पनि अन्तमा मम र चाउमिन अर्डर गरेजस्तै ।

भलै यसपालिको चुनाउले केही परिवर्तन चैं देखायो है ! जनता पनि नयाँ स्वादतिर पल्के जस्तो छन् । त्यसैले मम, चाउमिन छाडेर पिज्जा, बर्गरतिर पनि लागे जस्तो छन् । यस्तै पारा रहे अर्को चुनावसम्म पुराना मम, चाउमिन पसलहरू त सुक्न पनि बेर छैन है ! त्यसैले आउनोस्, घन्टी बजाऔं र राम राम जपौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro