ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चुनावको ‘अप्रत्यासित’ नतिजाले धरापमा सत्ता गठबन्धन ! के होला भविष्य ?

२०७९ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीवार टेलिफोनमार्फत सहकार्यको प्रस्ताव गरे । ओलीले दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बधाई दिन फाेन गरेका थिए ।  

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच कुराकानी भएकै दिन बिहीवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको ढोका खुलै रहेको प्रतिक्रिया दिए । उनले चुनावअघि नै अहिलेको गठबन्धन चुनावपछि नरहन सक्ने बताउँदै आएका थिए । 

उनले चुनावपछि गठबन्धनको सरकार बन्ने वा नबनेबारे पनि प्रष्ट बोलेनन् । ‘अब सरकार कसको बन्छ भन्ने कुरामा यत्तिकै भन्न सकिँदैन,’ उनले भने । 

चुनावको अन्तिम परिणाम आइनसक्दैका संवाद र प्रतिक्रियाले चुनावपछि सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको) कायमै रहला कि नयाँ बन्ला भन्ने प्रश्न उठेको छ । यसको जवाफ पाउन भने मतपरिणामपछिको समय नै कुर्नुपर्छ । 

तर, ओलीले दाहालसँग गर्ने भनेको सहकार्य र नेपालले भन्दै आएको वाम गठबन्धन सहजै होला भन्न सकिने अवस्था छैन । यद्यपि, असम्भव पनि देखिँदैन । 

किनकि अहिले गठबन्धनमा रहेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा चुनावी परिणामबारे असन्तुष्टि देखिएको छ । कारण हो– अपेक्षित नतिजा नआउनु । यसबारे माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । 

अघिल्लो चुनावमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३६ सिट गरी कूल ५३ सिट जितेको माओवादी केन्द्रले यो चुनावमा प्रत्यक्षतर्फ अघिल्लो चुनावको आधा सिट मात्रै जित्ने देखिएको छ । 

शुक्रवार बिहान १ः३० बजेसम्म माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने ६ सिटमा अग्रता लिएको छ । अग्रता लिएका सबै सिटमा माओवादी केन्द्रले जित्ने हो भने उसको प्रतिनिधिसभामा सिट संख्या १५ पुग्नेछ, जुन अघिल्लो चुनावको कूल सिट संख्याको तुलनामा आधाभन्दा कम हो । 

चुनावमा प्रभावशाली नेताले नै पराजय भोगेपछि गठबन्धनप्रति माओवादी केन्द्रका नेता खुसी छैनन् । माओवादी केन्द्रको युवा संगठन योंग कम्युनिस्ट लिग (वाईसीएल) अध्यक्ष रामप्रसाद सापकोटाले चुनावी परिणामको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गरिसकेका छन् । 

उनले आफ्नो फेसबुक अकाउन्टको वालमा नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गठबन्धनका उम्मेदवारहरूलाई हराएको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईंको पुस्तक विमोचनमा भनेका थिए– म कालो कांग्रेस हुँ । हो रहेछ– तपाईं र तपाईंको टिमले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न)सँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो । ...हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार्छाैं । तर, यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो,’ उनले लेखेका छन् । 

ललितपुर–३ बाट चुनाव लडेकी माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल, काठमाडौं–२ बाट  प्रतिस्पर्धा गरेकी ओनसरी घर्ती र काठमाडौं–७ बाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराई यो चुनावमा पराजित भएका छन् । 

यी तीन ओटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ललितपुर–३ मा डा. तोसिमा कार्की, काठमाडौं–२ मा सोविता गौतम र काठमाडौं–७ मा गणेश पराजुली विजयी भएका छन् । 

आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी केन्द्र खुसी देखिएको छैन । यद्यपि पार्टीका शीर्ष नेताले भने यसबारे मुख खोलेका छैनन् । तर, नेताहरू यसलाई  ‘अप्रत्यासित’ ठान्छन् ।

माओवादीसँगै एकीकृत समाजवादी पनि चुनावी परिणामबारे त्यति खुसी देखिँदैन । एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीवार चुनावी परिणाम सोचेजस्तो नभएको टिप्पणी गरे । चुनावमा कम सिट जितेको उनको आशय थियो । ‘सम्पूर्ण परिणाम आउन बाँकी छ,’ रौतहट–१ बाट निर्वाचित भएपछि संवाददाताहरूसँगको कुराकानीमा उनले भने, ‘यो हामीले सोचेको भन्दा अलि कम त हो ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि चुनावको नतिजा ‘आश्चर्यचकित पार्ने खालको’ भएको प्रतिक्रिया दिए । केही ठाउँमा गठबन्धन दलहरूबीच मत ‘ट्रान्सफर’ नभएको देखिएको उनको भनाइ छ । 

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । उसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १९ क्षेत्रमा उम्मेदवार उठाएको थियो । बिहीवार राति ९ बजेसम्म उसले समानुपातिकतर्फको कूल २८ लाख ९५ हजार ५१५ सदर मतमध्ये ५० हजार ६८९ मत पाएको छ । यो कूल सदर मतको १.७५ प्रतिशत हो । 

एकीकृत समाजवादीका नेता खनालले गठबन्धन दलहरूबीच मत ‘ट्रान्सफर’ भए/नभएकोबारे पछि समीक्षा हुने बताए । 

तर, गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका नेताहरू भने गठबन्धन दलहरू नै मिलेर सरकार बनाउने दाबी गर्छन् । ‘हाम्रो गठबन्धनको बहुमत आउँछ । र, यो गठबन्धन पनि जारी रहन्छ,’ उनले भने । गठबन्धनमा रहेको माओवादी केन्द्रले यो निर्वाचनमा कांग्रेस इमान्दार नबनेको आरोप लगाएको प्रश्न गर्दा उनले त्यस्तो नभएको प्रतिक्रिया दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro