ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

लघुवित्तमा रहेको डेढ खर्ब सुरक्षणको दायराबाहिर 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तसम्ममा ६५ ओटा लघुवित्तमा सर्वसाधारणको १ खर्ब ५९ अर्ब २ करोड २७ लाख रुपैयाँ बचत छ ।

२०७९ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत सुरक्षित गर्न सरकारले निक्षेप सुरक्षणको प्रावधान ल्याए पनि लघुवित्त वित्तीय संस्थामा रहेको डेढ खर्ब रुपैयाँभन्दा बढी रकम सुरक्षणको दायराबाहिर रहेको पाइएको छ । 

कर्जा तथा निक्षेप सुरक्षण ऐनले सर्वसाधारणको निक्षेप मात्र सुरक्षण गर्ने व्यवस्था गरेकाले लघुवित्तले ग्राहकबाट अनिवार्य, ऐच्छिक र क्रमिक बचतका नाममा उठाउने निक्षेप सुरक्षण नभएको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सुरक्षण हुन थालेको १ दशक भइसक्दा पनि लघुवित्तमा संकलन भएको बचतलाई सुरक्षणको दायरामा ल्याउन सरोकारवालाले चासो दिएका छैनन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तसम्ममा ६५ ओटा लघुवित्तमा सर्वसाधारणको १ खर्ब ५९ अर्ब २ करोड २७ लाख रुपैयाँ बचत छ । त्यसमध्ये अनिवार्य बचतमा ३७ अर्ब ५१ करोड, ऐच्छिक बचतमा ८० अर्ब ८१ करोड र क्रमिक बचतमा २५ अर्ब ७९ करोड रुपैयाँ छ । 

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रवक्ता विनोद पन्त ऐनमा बैंक तथा वित्तीय संस्थाहरूले प्राकृतिक व्यक्तिबाट संकलन गर्ने निक्षेप मात्र सुरक्षण गर्ने व्यवस्था भएकाले लघुवित्तको बचत सुरक्षण नभएको बताउँछन् । ‘ऐनले बैंक तथा वित्तीय संस्थामा रहेको प्राकृतिक व्यक्तिको निक्षेप मात्र सुरक्षण गर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘लघुवित्तले ग्राहकबाट विभिन्न नाममा संकलन गर्ने बचत त्यही समूहमा नै परिचालन गर्ने भएकाले त्यो सुरक्षणको दायरामा आएको छैन ।’

राष्ट्र बैंकले हालसम्म निर्धन उत्थान र छिमेक लघुवित्तलाई मात्र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने अनुमति दिएको छ । दुईओटा संस्थामा सर्वसाधारणको १ अर्ब ८६ करोड १६ लाख रुपैयाँ निक्षेप रहेको छ । उक्त रकममध्ये व्यक्तिगत निक्षेपकर्ताको रकम भने सुरक्षण गरिएको कोषले जानकारी दिएको छ । 
लघुवित्तको बचत पनि सुरक्षणको दायरामा ल्याउन ऐन नै परिवर्तन गर्नुपर्ने कोषका प्रवक्ता पन्त बताउँछन् । ‘ऐनमै परिवर्तन आवश्यक छ, त्यसका लागि हामी काम गर्दै छौं,’ उनले आर्थिक अभियानसँग भने । 

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लघुवित्तको बचतलाई सुरक्षणसँगै तिनलाई निक्षेप संकलनसमेत गर्न दिनुपर्ने बताउँछन् । ‘जोखिम कम गर्ने भएकाले लघुवित्तको बचतलाई पनि सुरक्षणको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘यससँगै लघुवित्तलाई सर्वसाधारणबाट निक्षेप उठाउन पाउने सुविधा पनि दिनु आवश्यक छ ।’

कोषले हाल बैंक तथा वित्तीय संस्थामा रहेको प्राकृतिक व्यक्तिको प्रतिखाता ५ लाखसम्म सुरक्षण गर्दै आएको छ । प्रतिखाता २ लाख रुपैयाँबाट सुरक्षण शुरू गरिएकोमा चालू आर्थिक वर्षदेखि ५ लाख रुपैयाँ सुरक्षण हुन थालेको हो । कोषको तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा १ सय ८ ओटा बैंक तथा वित्तीय संस्थामा रहेका व्यक्तिगत ३ करोड ३७ लाख १८ हजार खाताको ८ खर्ब ७१ अर्ब २१ करोड रुपैयाँ सुरक्षण भएको छ । 

एक दशकअघि नेपाल विकास बैंक समस्याग्रस्त भएसँगै साना निक्षेपकर्तालाई सुरक्षित राख्न र बैंकिङ सेवा विश्वसनीयता बनाउन सरकारले निक्षेप सुरक्षणको कार्यक्रम शुरू गरेको हो । सुरक्षणपछि बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भई खारेजीमा गएमा र उक्त संस्थाको सम्पत्तिबाट निक्षेप फिर्ता नभएमा कोषले बेहोर्ने प्रावधान छ । यही प्रावधानअनुसार यसअघि कोषले हिमालय फाइनान्सका निक्षेपकर्तालाई करीब ११ करोड रुपैयाँ भुक्तानी गरेको थियो । 

यसैगरी कोषले गत आर्थिक वर्षसम्ममा १७ लाख ४५ हजार ऋणीको २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँ बराबरको कर्जा पनि सुरक्षण गरेको छ । कोषले बैंकहरूले लगानी गर्ने पशुधन, साना तथा मझौला उद्यम र लघुवित्त तथा विपन्न वर्ग कर्जाको सुरक्षण गर्दैै आएको छ । यस कार्यक्रममा भने लघुवित्त संस्थाहरू सहभागी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro