ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गौशालामा मापदण्डविपरीत संरचना नबनाइएको दाबी

२०७९ मंसिर, ११  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाले मापदण्ड विपरीत संरचना नबनाइएको दाबी गरेका छन् । केही दिनअघि पशुपति क्षेत्र विकास कोषले मापदण्ड विपरीतका संरचना भत्काउने सूचना जारी गरेपछि शनिवार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै मारवाडी सेवा र पशुपति गौशालाले यस्तो दाबी गरेका हुन् । 

लामो समयदेखि सामाजिक कार्यमा संलग्न संस्थाको नाम किटान गरेर सार्वजनिक सूचना जारी गरिनु उचित नभएको समेत बताइएको छ । धर्मशालाको अधिकांश संरचना २०१९ अघि नै निर्माण गरिएको संस्थाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

कोषले आफ्नो क्षेत्राधिकारभित्र नभएको गौशाला धर्मशालामा बनाइएको भौतिक संरचना भत्काउन खोजेको भन्दै मारवाडी सेवा समितिले विरोध गरेको छ । समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले पशुपति कोषले आफ्नो क्षेत्रभित्र नपरेको विषयमा हात हालेकाले ती भौतिक संरचना कुनै पनि हालतमा भत्काउन नदिने चेतावनी दिए । 

सो क्षेत्र वैध भए/नभएको छानविन गर्ने आधिकारिक निकाय काठमाडौं महानगरपालिका भएकाले कोषले दिएको निर्देशन र पत्राचार आफूहरूलाई मान्य नहुने समितिको भनाइ छ । समितिले धर्मशालामा बनाइएका सटर भाडा सामाजिक सेवा कार्यमा मात्रै खर्च गरेको बताएको छ । अध्यक्ष गोयलले सटरभाडा त्यही क्षेत्रको सामाजिक सेवा कार्यमा खर्च गरिएको दाबी गरेका छन् ।

यता, पशुपति क्षेत्र विकास कोषले भने मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरेको बताएको छ । साथै उक्त संरचना सम्झौताविपरीत बनेको कोषको जिकीर छ । पशुपतिनाथ क्षेत्रको जग्गा कानूनअनुसार उपयोग गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

सो जग्गाको विषयमा कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो । मारवाडी सेवा समितिले त्यसविपरीत संरचना निर्माण गरेको भन्दै कोषले त्यस्ता संरचना भत्काउन कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro