ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

साना उद्योगलाई सहुलियत

२०७९ मंसिर, १२  
सम्पादकीय
Tvs Raider Image Not Found

चालू आर्थिक वर्षको ४ महीनामा मुलुकभर १६ हजार ३४१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएको तथ्यांक सार्वजनिक भएको छ । सरसर्ती हेर्दा यो तथ्यांक त्यति नराम्रो होइन । यति संख्यामा उद्योग दर्ता हुँदा ५१ हजारभन्दा बढी रोजगारी सृजना भएको बताइएको छ ।

जबसम्म उद्योग, व्यवसाय गर्नेहरूले सरकारको साथ पाउने अवस्था हुँदैन वा सरकारले सहयोग गर्दैन तबसम्म अर्थतन्त्रका जतिसुकै सुन्दर कुरा गरे पनि खासै नतिजा आउँदैन ।

तर, नेपालमा जसरी सानो उद्योग दर्ता हुने र ती उद्योगलाई राज्यले गर्ने व्यवहार छ त्यसमा सन्तुष्ट हुन भने सकिँदैन । यद्यपि बलियो अर्थतन्त्रका लागि स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ भन्ने विषय लामो समयदेखि चर्चामा रहँदै आएको हो । कुनै बेला लघु उद्योगलाई प्रोत्साहन दिन प्रयास पनि गरिएको देखिन्छ ।

यति हुँदाहुँदै पनि जति नेपालमा लघु उद्योगको सम्भावना छ त्यसअनुसार काम भने हुन नसकेको पक्कै हो । नेपालमा कृषिमा आधारित उद्योगको सम्भावना धेरै छ । पहिला नेपालमा उत्पादन गरिएको अनाज विदेश पठाउने गरिन्थ्यो । तर, उद्यमशीलताको विकास नहुँदा अहिले अवस्था उल्टो छ । विदेशबाट खाद्यान्न आयात नभई नेपालीहरूको चूल्होेमा आगो बल्न नसक्ने अवस्था छ ।

जसरी नेपालमा स्वदेशी उत्पादनको आवश्यकताका बारेमा बहस, छलफल हुने गर्छ त्यसरी काम नहुँदा धेरैलाई निराश बनाएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा हरेक वर्ष विदेशबाट विभिन्न वस्तुको आयात गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष २०७९/८० को ४ महीनामा व्यापारघाटा झन्डै १६ प्रतिशतले घटेको छ । २०७९ कात्तिकसम्ममा मुलुकको व्यापारघाटा १५ दशमलव ८८ प्रतिशतले घटेर ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिको व्यापारघाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ थियो । यस अवधिमा निर्यातसमेत ३३ दशमलव ३० प्रतिशतले घटेको छ । गत आवको कात्तिकसम्ममा नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष ५४ अर्ब ७७ करोडमा खुम्चिएको छ । नेपालले भोग्दै आएको व्यापारघाटा सुधारका लागि साना उद्योगहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्नेबारेमा विज्ञहरूले पटकपटक सरकारलाई सल्लाह, सुझाव दिँदै आएका छन् । खासगरी उद्योगमैत्री वातावरण बन्न नसकेको व्यवसायीहरूको गुनासो रहँदै आएको छ । संसारका थुप्रै मुलुकमा साना उद्योगले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको हुन्छ । यसबारेमा नीति निर्माता पनि जानकार नै रहेको पाइन्छ । तर पनि किन हो कुन्नि व्यवहारमा साना उद्योग, व्यवसाय फस्टाएको पाइँदैन, जबकि भौगोलिक अवस्था, बजार र लगानीको दृष्टिकोणले नेपालमा साना उद्योगको सम्भावना निकै देखिन्छ ।

सरकारी निकायबाट सहयोग नपाएकै कारण कोरोना महामारीपछि घरेलु तथा साना उद्योगमा समस्या आएको समेत सम्बद्ध उद्योगीले बताएका छन् । छिमेकी मुलुक भारत र चीनमा घरेलु तथा साना उद्योगलाई विशेष रूपमा सेवासुविधा दिने गरिन्छ । त्यहाँ लघु उद्योगलाई २० लाख रुपैयाँसम्म विनाधितो शून्य प्रतिशत ब्याजदरमा कर्जा दिने व्यवस्था छ । घरेलु उद्योगलाई ५० लाख रुपैयाँसम्म शून्य प्रतिशत ब्याजदरमै धितोविना कर्जा दिने गरिन्छ । साना उद्योगमैत्री नीति लिएका कारण बंगलादेशमा घरेलु तथा साना उद्योग राम्रोसँग फस्टाएका छन् । बंगलादेशका गार्मेन्ट उद्योगले संसारमा ख्याति कमाउन थालेका छन् ।

नेपालको कुरा गर्ने हो भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा औद्योगिक क्षेत्रको योगदान १३ प्रतिशत हुँदा त्यसमा घरेलु तथा साना उद्योगको मात्रै ९३ प्रतिशत योगदान छ । तर, ती उद्योगले सरकारका तर्फबाट पाउने सुविधा निकै कम पाएको देखिन्छ । उद्योग स्थापना गर्दा भौतिक पूर्वाधारदेखि ठूलो लगानीको आवश्यक पर्छ । त्यसैले उत्पादनमूलक उद्योगलाई सरकारको विशेष सहयोग चाहिन्छ । साना उद्योग व्यवसाय सञ्चालन गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्न खोज्नेलाई सरकारको साथ चाहिन्छ । व्यवसाय गर्दा कुनै अवरोध सृजना हुन्छ भने त्यस्तो बेला सहयोग गर्नु उसको कर्तव्य हो । उद्योग, व्यवसाय गर्नेहरूले जबसम्म सरकारको साथ पाउने अवस्था हुँदैन वा सरकारले सहयोग गर्दैन तबसम्म अर्थतन्त्रका जतिसुकै सुन्दर कुरा गरे पनि खासै नतीजा आउँदैन । त्यसैले नेपालको जुन भूभागमा जे सम्भावना हुन्छ त्यहाँ उद्योग, व्यवसायलाई फस्टाउन केकस्ता नीति र जिम्मेवारी आवश्यक पर्छ, सोहीअनुसार काम गर्न जरुरी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro