काठमाडौं । नेपाली कांग्रेस आम निर्वाचन २०७९ बाट ठूलो दल बनेसँगै कांग्रेसभित्र प्रधानमन्त्री दाबी गर्नेको संख्या दिनदिनै बढीरहेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका किशोर सिंह राठौरले पनि आफू प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका छन् ।
नेपालगञ्जमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा राठौरले गगन थापालाई ईंगित गर्दै 'कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको' कुरा विर्सन नहुने भन्दै प्रधानमन्त्रीको दाबी भन्दा ५ वर्ष पार्टी संगठन निर्माणमा लाग्नुपर्ने बताए ।
कांग्रेसभित्र आधा दर्जनभन्दा बढी नेता प्रधानमन्त्रीका दाबेदार छन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता प्रकामान सिंह, डा. शशांङ्क कोइराला र डा. शेखर कोइरालाले प्रधामन्त्रीमा दाबी रहेको बताइसकेका छन् । सहमहामन्त्री किशोर सिंह राठोरको नाम पनि प्रधामन्त्रीको आकांक्षीमा जोडिएको छ ।