ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘मौद्रिक नीतिको त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रको समस्या सम्बोधन गरेन’

२०७९ मंसिर, १३  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम हुन नसक्ने नेपाल चेम्बर अफ कमर्सले बताएको छ । संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसकेको चेम्बरको ठहर छ ।

‘मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुने चेम्बरको अपेक्षा थियो,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्दैन ।’

शून्य दशमलव ४ प्रतिशत घटाइएको स्प्रेडदरले आगामी दिनमा ब्याजदर बढ्न नदिए पनि हाल कायम उच्च ब्याजदर घटाउने सम्भावना भने न्यून रहेको चेम्बरको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधारदरमा लिने प्रिमियम २ प्रतिशतसम्म मात्रै कायम गर्न पनि चेम्बरले राष्ट्र बैंकलाई आग्रह गरेको छ । मौद्रिक नीतिको सम्बन्धमा केन्द्रीय बैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रभावित हुने चेम्बरको आकलन छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका सन्दर्भमा चेम्बरले सात बुँदामा ध्यानाकर्षण गराएको छ । चेम्बरले हाल कायम ८ दशमलव ५ प्रतिशतको बैंकदरलाई ५ प्रतिशतमा झार्न पनि माग गरेको छ ।

विदेशी विनिमय सञ्चितिमा सुधार आएको भन्दै चेम्बरले केही वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्दा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्था हटाएर सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ । यस्तै चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन हाललाई स्थगित गरिनुपर्ने चेम्बरको भनाइ छ । सरोकारवाला निकायसँग छलफल गरेर मार्गदर्शन संशोधन गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बरले सीडी रेशियो ९० प्रतिशतको सट्टा विगत वर्षहरूमा जस्तै सीसीडी रेशियो ८५ प्रतिशत कायम गर्न वा सीडी रेशियोलाई ९५ प्रतिशत गर्न समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro