ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

ताप्लेजुङमा उत्पादित किवीलाई बजार अभाव

२०७९ मंसिर, १३  
प्रदेश ०१
Tvs Raider Image Not Found

ताप्लेजुङ  । ताप्लेजुङको फुङलिङ नगरपालिकामा पर्ने दोखुका राजकुमार गुरुङले यस वर्ष झन्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन्  । व्यावसायिक रूपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनी नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा हुन्थे  । उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता हुन्छ । यस वर्ष उत्पादन भएकोमध्ये करीब चार क्विन्टल किवी विक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको किवी कहाँ विक्री गर्ने भन्ने अन्योल छ ।

‘जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलिअलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौंला भन्ने छ,’ उनले भने । काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाए । होलसेल प्रतिकिलो रू. एक सय र फाट्टफुट्ट रू. एक सय ५० का दरले विक्री गरेको उनले बताए । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनले बताए ।

यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राखेका गुरुङले बजार पाएनन् । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए । यसरी बजार नपाउँदा उनीहरू मात्रै नभई जिल्लाका दर्जनौं किसान निराश छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती शुरू गरेका थिए । तर बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । ‘एक समयमा किवीको खुबै चर्चा थियो । बजार र मूल्य राम्रो छ । मनग्गे आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो, तर अहिले न बजार छ न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ,’ गुरुङले भने

समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए केही राहत मिल्ने किसानको भनाइ छ । ‘पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै विक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँ–ठाउँमा शीतभण्डार भए केही राहत हुने थियो,’ सिरीजंगा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने । उनले यसपटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर प्रतिकिलो रू. एक सयमा बेचे । गाउँघरमा प्रतिकिलो रू. ७० देखि ८० मा विक्री गरेको उनको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निराश हुनुपरेको तिवारीले बताए ।

किवीखेतीका लागि यहाँको जमीन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्री सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ । फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न शुरू गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने कृषकको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro