काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ९९ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक १ हजार ९५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।
दिनभरिको कारोबार अवधिमा केही उतावचढाव आए पनि अन्त्यमा नेप्से परिसूचक बढेरै बन्द भएको छ । समग्र शेयर बजारका लागि आगामी दिन सकारात्मक हुने देखिन्छ । घट्दो क्रममा रहेको ब्याजदर र वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ ।
लाभांशको सिजन चलिरहेको छ, लामो समयदेखि घटेको बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य निकै सस्तिएको छ । यसले गर्दा पनि यो शेयर खरीदको उचित समय रहेको विश्लेषकहरू बताउँछन् ।
सोमवार रू. १ अर्ब ४९ करोड बराबरको शेयर खरीदविक्री भएकोमा मंगलवारको कारोबार भने रू.९५ करोडमा झरेको छ । यस दिन कारोबारमा आएका २३४ धितोपत्रको २५ लाख ८९ हजार ९९७ कित्ता १८ हजार ३६ पटकमा रू. ९५ करोड ७० लाख ६० हजार २२५ बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २३४ धितोपत्रमध्ये सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६६ पुगेको छ । त्यसैगरी नेपाल क्रेटिड एण्ड कमर्स बैंकको शेयर मूल्य ५ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएर रू. १८७ पुगेको छ ।
मंगलवार सबैभन्दा बढी एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई मूल्य ४ दशमलव ६० प्रतिशत घटेको छ । इकाई मूल्य प्रतिकित्ता रू. ८ दशमलव ५१ मा झरेको छ । त्यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई मूल्य ३ दशमलव ६८ प्रतिशत घटेर रू. ७ दशमलव ८६ कायम भएको छ ।
मंगलवार हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. ९ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । डिष्टिलरीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ९७० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ४ करोड ३१ लाख बराबर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी समूहको समूहगत परिसूचक घटेको हो ।सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक १ दशमलव २१ प्रतिशत वृद्धि भएको छ ।