ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

तेस्रो मुलुकका पार्टपुर्जा भारतबाट आयात गर्न दिनु उपयुक्त

२०७९ मंसिर, १४  
सम्पादकीय
Tvs Raider Image Not Found

मुलुकमा थुप्रै उद्योग तथा कलकारखानामा भारत र तेस्रो मुलुकबाट आयात गरिएका यन्त्रोपकरण प्रयोग हुँदै आएका छन् । तर, यस्ता मेशिनको पार्टपुर्जा फेर्नुपर्दा व्यवसायीले निकै समस्या भोग्नु परिरहेको छ । जहाँबाट मगाउँदा उद्योगीलाई सहज र सस्तो पर्छ त्यहीँबाट पार्टपुर्जा आयात गर्न दिन सरकारले बाटो खुलाउनुपर्छ । तर, विद्यमान कानूनी व्यवस्थाअनुसार तेस्रो मुुलुकबाट आयात गरिएका उपकरणका पार्टपुर्जा भारतबाट ल्याउन समस्या छ ।

हरेक निर्णयमा तुलनात्मक लाभहानिका बारेमा पर्याप्त ध्यान दिनु आवश्यक हुन्छ । तेस्रो मुलुकभन्दा भारतबाट पार्टपुर्जा ल्याउँदा बढी लाभ देखिन्छ ।

भन्सार कार्यालयले तेस्रो मुलुकमा बनेका उपकरणको पार्टपुर्जा भारतबाट आयात गर्न नदिएको हो । नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार तेस्रो मुलुकको कुनै पनि उत्पादन ३० प्रतिशत मूल्य अभिवृद्धि नभई एकअर्को मुलुकमा निर्यात गर्न मिल्दैन । यही प्रावधानका अनुसार तेस्रो मुलुकमा उत्पादन भएका पार्टपुर्जा भारतबाट ल्याउँदा भन्सार कार्यालयल रोक्ने गरेको हो । तर, यसरी रोक्नु उचित देखिँदैन । जुन प्रावधानले गर्दा यसो भएको हो त्यसमा सुधार गर्नु जरुरी छ ।

हो, उत्पादन गरेको मुलुकबाट अर्को मुलुकमा पुगेको सामानमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्ने प्रावधान उपयुक्त नै देखिन्छ । आफ्नो देशको उत्पादनलाई प्राथमिकता दिन यस्तो व्यवस्था गरिन्छ । नेपालबाट भारत निर्यात गरिने वस्तुमा पनि यो प्रावधान लागू हुन्छ । मूल्य अभिवृद्धि हुँदा मुलुकले राजस्व उठाउन सक्छ भने केहीले रोजगारी पनि पाउँछन् । तर, औद्योगिक यन्त्रोपकरणका सबालमा यो नियम लगाउनु जरुरी देखिँदैन । यन्त्रोपकरण तथा पार्टपुजामा ३० प्रतिशत भन्सारको व्यवस्था उचित पनि देखिँदैन । हरेक निर्णयमा तुलनात्मक लाभहानिका बारेमा पर्याप्त ध्यान दिनु आवश्यक हुन्छ । तेस्रो मुलुकभन्दा भारतबाट पार्टपुर्जा ल्याउँदा बढी लाभ देखिन्छ भने स्वीकृति दिन किन आपत्ति ?

पहिलो त तेस्रो मुलुकबाट सामान आयात गर्दा समय बढी लाग्छ । भारत छिमेकी मुलुक भएको र नजिक भएकाले त्यस्ता सामान आफूले भनेकै दिनका लागि प्राप्त हुन्छ । सामान आउने दिन निश्चित नहुँदा अन्य देशबाट सामान ल्याउँदा व्यवसायीहरूलाई समस्या नै परेको पनि पाइन्छ । कुनै पनि सामान जति ठूलो परिमाणमा कारोबार गर्न सक्यो त्यति नै त्यस सामानको ढुवानी लागत सस्तो पर्छ, मूल्य पनि सस्तो पर्छ । नेपाली व्यवसायीले मेशिन र पार्टपुर्जा ठूलो परिमाणमा आयात गर्न सक्दैनन् । यसो हुनुमा नेपाली व्यापारीसँग पर्याप्त पूँजी तथा बजार नहुनु हो । ठूलो परिमाणमा ल्याउँदा मूल्यमा प्रतिस्पर्धा हुन्छ । भारत यस्ता सामानका लागि ठूलो बजार हो । कतिपय सामान भारतले अन्य देशबाट ल्याएर अन्य मुलुकमा निर्यात गरिरहेको पाइन्छ । अहिले रूसबाट सस्तोमा किनिएको तेल उसले यूरोपेली मुलुकमा निर्यात गरिरहेको छ । त्यसैले लाभहानिका तुलना गर्दा नेपाल भित्रिरहेको सामानलाई छोडिदिनु नै उपयुक्त देखिन्छ ।

भारतसँग सिमाना जोडिएको मात्र होइन, भारतीय रेलवेका कारण भारतको कुनै पनि कुनामा पुग्न हप्तौं लाग्ने अवस्था छैन । त्यसैले भारतीय व्यवसायीले ल्याएका ठूलो परिमाणको सामानबाट नेपाल ल्याउँदा पैसा कम लाग्ने र झन्झटसमेत कम हुने देखिन्छ । जति छिटो पार्टपुर्जा आइपुग्छ त्यति नै उद्योग छिटो सञ्चालन हुन्छ ।

भारतबाट मगाए पनि अन्य देशबाट मगाए पनि नेपालबाट विदेशी मुद्रा बाहिरिने उत्तिकै हो । तैपनि भारतीय व्यवसायीले ठूलो परिमाणमा ल्याउँदा त्यसको लाभ नेपालीले पनि लिन पाउँछन्, केही सस्तो पनि पर्न सक्छ । कतिपय उद्योगका कच्चा पदार्थहरू तेस्रो मुलुकबाट नल्याई भारतबाट नै ल्याउने गरिएको समेत पाइन्छ । भारतबाट ल्याए पनि तेस्रो मुलुकबाट ल्याए पनि मुलुकको विदेशी सञ्चितिमा दबाब परिहाल्छ । त्यसैले व्यवसायीले जे भन्छन् त्यसको सम्बोधन गर्नु जरुरी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro