काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेको दुई दिनपछि (मंगलवार) मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै स्टाटस लेखे– ‘...सकेको सहयोग गर्नुहोला । तर, कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’
महानगरले सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन खोजेपछि एमाले अध्यक्ष ओलीले दिएको वक्तव्यको जवाफी फायर थियो त्यो ।
एमाले अध्यक्ष ओलीले महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउनु गलत भएको बताएका थिए । ‘त्यहाँ भन्ट्याङभुन्टुङ केटाकेटी होलान्, चिसोमा बसेका अशक्त बूढाबूढी होलान् । तिनैलाई नै पराजित गर्न गएको होला सरकार ? यो बेठिक भइरहेको छ,’ उनले भनेका थिए ।
उनले सुकुम्बासी समस्या समाधान महानगरले नभई आयोगले गर्नुपर्ने तर्क गरेका थिए । ‘सुकुम्बासी समस्या समाधानसम्बन्धी आयोग छ । सुकुम्बासीलाई डोजर लगाएर पेल्या छ । अनि आयोग किन बनाएको त ? तन्खा (तलब) किन खुवाएको त ?’ ओलीले प्रश्न गरे ।
ओलीले काठमाडौंका मेयर शाहले सरकारको आदेशमा सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको आरोप लगाएका थिए । ‘सरकारको आदेश अनुसार तिनीहरूलाई पराजित गरेर त्यहाँ खाली गराउन म डटेर लाग्या छु’ भन्ने देखाउन मेयर शाहले सुकुम्बासी बस्तीमा डोजर चलाएको उनको आरोप थियो ।
ओली मात्रै होइनन्, नेकपा माओवादी केन्द्रले पनि मेयर शाहको प्रयासको विरोध गरेको छ । माओवादी केन्द्रकी सचिव पम्फा भुसालले सोमबार आफ्नो ट्विटर ह्यान्डलमार्फत सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयासको विरोध गरेकी छन् ।
‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीनरूपमा समस्या समाधान गरिनुपर्छ,’ उनले लेखेकी छन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि सुकम्बासी बस्ती हटाउन नहुने धारणा राख्दै आएको पाइन्छ ।
ठूला ३ ओटा मुख्य राजनीतिक दलका नेताबाटै सुकुम्बासी बस्ती हटाउने महानगर प्रमुख बालेनको योजनामा प्रश्न उठाएपछि मंगलवार मेयर शाहले त्यसको कडा शब्दमा जवाफ फर्काएका हुन् ।
ठूला दलका नेताले विरोध गरिरहँदा पनि महानगर बस्ती हटाउन पछि नहट्ने मनसायमा देखिन्छ । महानगर स्रोतका अनुसार अहिले महानगर परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीतिमा छ । प्रशासनको सहयोगमा बस्ती खाली गर्ने स्रोतको भनाइ छ ।
यता सुकुम्बासी पनि बस्ती नछाड्ने अडानमा छन् । महानगरले बस्ती हटाइ छाड्ने संकेत पाएपछि मंगलवार सुकुम्बासीले महानगर घेराउ गरे ।
यता काठमाडौं उपत्यका विकास प्राधिकरण पनि अतिक्रमण गरेर बनाइएका संरचना हटाउन लागेको छ । प्राधिकरणले बुधवार (आज) सूचना जारी गर्दै सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको हो । सूचनामा काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ती, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनिएको छ ।