काठमाडौं (अस) । सुकुम्बासी वस्ती व्यवस्थापन अहिले काठमाडौं महानगरको टाउको दुखाइको विषय बनेको छ । महानगरका कयौं वडामा छरिएर रहेका बस्ती जसरी पनि खाली गराउनु महानगरलाई फलामको च्यूरा चपाउनु सरह भएको छ ।
यस्तैमा एशियाको सबैभन्दा ठूलो सुकुम्बासी बस्ती मुम्बईको धारावीको पुनर्बास कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ ।
धारावी सुकुम्बासी पुनर्बास परियोजनाको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अदानीको रियल इस्टेट कम्पनीले पाएको छ । बोलकबोलमा ५० अर्ब ६९ करोड रुपयाको बोली लगाएर २ खर्ब भन्दा धेरै रकमको यो परियोजना अदानीको कम्पनीले जितेको हो ।
गएको १८ वर्ष देखि यो परियोजना अड्किएको थियो । धारावी पुनर्बास परियोजनाले झन्डै १० लाख मानिसहरु प्रभावित हुने बताइएको छ ।
सो परियोजनाका लागि दोस्रो उच्च बोली अर्को घरेलु रियल इस्टेट कम्पनी डीएलएफले २० अर्ब २५ करोड लगाएको थियो । धारावी पुनर्बास परियोजनाको मूल लागत २ खर्ब रुपया रहेको छ । यो परियोजनामा दक्षिण कोरिया र संयुक्त अरब ईमिरेट्स (यूएई)का कम्पनीहरुसमेत आठ ओटा कम्पनीले बोली लगाएका थिए ।
भारतको वित्तीय राजधानी मुम्बईको केन्द्रमा ६०० एकड क्षेत्रफलमा यो बस्ती फैलिएको छ । यहाँ ५८ हजार भन्दा धेरै सुकुम्बासी घर छन् भने १२ हजार भन्दा धेरै व्यवसायिक संघसंस्था छन् । यहाँ औषधि, छालाजन्य सामाग्री, जुत्ता र लत्ताकपडा बनाउने स–साना स्तरका कयौं असंगठित उद्योगहरु पनि छन् ।
यो परियोजनामा सहभागी हुन योग्य घर परिवार र व्यवसायहरूको पुनर्बास गरिनेछ । अदानीको कम्पनीले सात वर्षभित्र यस बस्तीका सुकुम्बासीहरूको पुनर्बासका लागि घर बनाउनु पर्नेछ ।
धारावीको ६०० एकड क्षेत्रफलमध्ये पुनर्बास परियोजनाले २४० एकड क्षेत्रफल मात्रै ओगट्नेछ । औद्योगिक र व्यवसायिक संघसंस्थाहरूलाई भने धारावीबाट अन्यत्र सारिनेछ । यो योजनामा योग्य नभएका सुकुम्बासी बासिन्दाहरूलाई पनि अन्यत्र सारिने योजना छ । एजेन्सी