काठमाडौं । पर्यटक पथप्रदर्शकलाई पुनर्ताजगी तालीम दिइएको छ । टुरिष्ट गाइड एशोसिएशन नेपाल (टुर्गान)को आयोजनामा पथप्रदर्शकलाई तालीम दिइएको हो । तालीममा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त परियोजना ‘जीविकोपार्जनको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’को सहयोग रहेको थियो ।
तालीम समापन कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटक पथप्रदर्शकको क्षमता अभिवृद्धिका लागि बोर्डले तालीम आयोजना गरेको बताए । ‘पर्यटकलाई सही जानकारी दिने पथप्रदर्शक नै खास पर्यटन दूत हुन्,’ उनले भने, ‘उनीहरूले गर्ने व्यवहार र सूचनाले नै पर्यटकले नेपालबारे दृष्टिकोण बनाउँछन् ।’
नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)का ट्राभल एण्ड टुरिजम विभागका विभागीय प्रमुख अजय ढकालले नाथमले प्रदान गर्ने तालीमले नेपालमा पर्यटन क्षेत्रका जनशक्ति विकासमा टेवा पुगेको बताए । यस किसिमका तालीमले सम्बन्धित क्षेत्रमा काम गरिरहेका व्यक्तिको क्षमता विकासका साथै नयाँ परिवर्तनबारे जानकारी हुने उनको भनाइ थियो ।