ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मंसिर ७ देखि रोकिएको रिडी हाइड्रोको किन खुलेन शेयर कारोबार ?

२०७९ मंसिर, १६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लाभांश सार्वजनिकको विषयलाई लिएर गत मंसिर ७ गतेदेखि रोक्का रहेको रिडी हाइड्रोपावरको शेयर कारोबार अझै खुलेको छैन ।

रिडी हाइड्रोपावरले मंसिर ६ गते बिहान ११ बजे सञ्चालक समितिको बैठक बसेर आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २ दशमलव १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

कम्पनीले लाभांशसम्बन्धी निर्णय नेप्सेमार्फत दिउँसो ३ बजेर ५५ मिनेटमा सार्वजनिक गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणको पहुँचबाट वञ्चित गराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

नेप्सेले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का भएको एक साता बित्दा पनि कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेकाले नेप्सेले कारोबार रोक्का राखेकाे बताएको छ । नेप्सेलाई स्पष्टीकरण पेश गर्दै कम्पनीले मंसिर ६ गते दिउँसो ३ बजेपछि नै बैठक बसेको तर सूचनामा गलत समय भूलबस उल्लेख भएको बताएको छ ।

नेप्सेले भने कम्पनीको जवाफप्रति चित्त नबुझेर आवश्यक छानबिनका लागि सूचीकरण विभाग प्रमुख भेषराज खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेर काम गरिरहेको छ । नेप्सेले उक्त छानबिन समितिले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा आवश्यक परे थप कारबाहीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष रिडीको लाभांशको विषय पेश गर्ने बताएको छ ।

यसअघि पनि विभिन्न कम्पनीहरूले धितोपत्र कारोबार र मूल्यमा असर पर्ने गरी सार्वजनिक गरेको सूचनाका आधारमा नेप्सेले कारोबार रोक्का गर्दै आएको थियो । कम्पनीहरूले पेश गरेको स्पष्टीकरणका आधारमा कारोबार खुल्दै आएपनि रिडीको विषयलाई नेप्सेले गम्भीरताका साथ लिएको छ ।

रिडीले विगतका वर्षहरूमा अधिकतम १० दशमलव ५३ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्दै आएको तथ्यांक छ । साविक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँगको मर्जर प्रकृया पूरा गरी गत असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरेको रिडीले यस वर्ष बम्पर लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको क्षमता अनुसार लाभांश प्रस्ताव गरेकोमा कुनै आपत्ति नभएपनि आम लगानीकर्ताको समान पहुँच हुने गरी सूचना प्रवाह गर्नुपर्ने मान्यता नेप्सेको छ । विनियमावलीमा भएको व्यवस्थालाई ध्यान नदिने कुनै पनि कम्पनीलाई आवश्यक काराबाहीको दायरामा ल्याउने गरी नेप्सेले नियमन अघि बढाएको छ ।

आकर्षक लाभांशपछि हर्षित भएका रिडी हाइड्रोका शेयरधनीहरूले आवश्यक प्रमाण पूरा गरी आम लगानीकर्ताको हितमा काम गर्न आग्रह गरेका छन् । जलविद्युत् क्षेत्रमै लाभांशको इतिहासमा रेकर्ड स्थापना गर्न प्रस्तावित लाभांश कायम रहने गरी नियामक निकायमा आवश्यक प्रमाण पेश गर्न लगानीकर्ता डम्बरु बल्लब घिमिरेले आग्रह गरेका हुन् । जलविद्युत् क्षेत्रमै पहिलो पटक मर्जर प्रकृया सम्पन्न गरेको रिडीले बम्पर लाभांश लगानीकर्ताको हातबाट नउम्कने गरी काम गर्नुपर्नेमा घिमिरेले जोड दिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro