काठमाडौं । बैंक, वित्तीय संस्थासँग लगानीयोग्य पूँजीको अभाव र कित्ताकाटको समस्याले किनबेच घटिरहेका बेला सर्वसाधारणले घरजग्गा तथा हाउजिङको मूल्य घट्ने अपेक्षा गरेका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक मुद्रास्फीति (महँगी) सर्वेक्षणमा आगामी एक वर्षभित्र घरजग्गा तथा हाउजिङको मूल्य घट्ने अनुमान गर्ने सर्वसाधारणको संख्या वृद्धि भएको देखिएको छ । सर्वेक्षणमा सहभागीमध्ये १० प्रतिशतले तीन महीनामा र ९ दशमलव ७ प्रतिशतले आगामी एक वर्षमा मूल्य घट्ने आकलन गरेका छन् । मूल्य घट्ने अनुमान गर्नेको संख्या थोरै भए पनि अघिल्ला सर्वेक्षणको तुलनामा वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसअघि २०७९ असारमा गरिएको सर्वेक्षणमा ५ दशमलव ९ प्रतिशतले मात्र तीन महीनामा घरजग्गाको मूल्य घट्ने बताएका थिए । यसैगरी २०७८ चैतमा ६ दशमलव ५ प्रतिशत र २०७८ पुसमा २ दशमलव ४ प्रतिशतले घरजग्गाको मूल्य घट्ने बताएका थिए ।
सर्वेक्षणमा सहभागीमध्ये ९ दशमलव ७ प्रतिशतले आगामी एक वर्षमा मूल्य घट्ने आकलन गरेका छन् । २०७९ असारमा ५ दशमलव ९ प्रतिशतले, २०७८ चैतमा ४ दशमलव २ प्रतिशतले र २०७८ पुसमा ३ दशमलव २ प्रतिशतले एक वर्षमा घरजग्गाको मूल्य घट्ने आकलन गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
बैंक, वित्तीय संस्थामा देखिएको तरलता अभावका साथै भू–उपयोग नियमावली २०७९ अनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट हुन नसकी घरजग्गा कारोबार घटिरहेको छ । यसले गर्दा सर्वसाधारणले आगामी दिनमा मूल्य घट्ने अनुमान गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ सर्वेक्षणले उपभोक्ताको अपेक्षालाई संकेत गर्ने र यसबाट मूल्य प्रभावित हुने बताउँछन् । ‘सर्वेक्षणमा घरजग्गाको मूल्य वृद्धिको आकलन गर्नेको अंश घटेको छ,’ उनले भने, ‘यसको अर्थ उपभोक्ताहरू घरजग्गाको मूल्य घट्ने अपेक्षामा छन् ।’
सर्वेक्षणमा ५३ प्रतिशतले आगामी तीन महीनामा र ७९ दशमलव २ प्रतिशतले एक वर्षमा घरजग्गाको मूल्य बढ्ने आकलन गरेका छन् ।
यसैगरी तीन महीनासम्म मूल्य स्थिर रहने आकलन गर्नेको संख्या ३७ प्रतिशत र एक वर्षसम्म स्थिर रहने अनुमान गर्नेको संख्या २७ दशमलव १ प्रतिशत छ । खाद्यान्न तथा सेवा क्षेत्रको तुलनामा घरजग्गाको मूल्य बढ्ने आकलन गर्ने सर्वसाधारणको संख्या थोरै छ ।
यस्तै सर्वेक्षणमा सर्वसाधारणले आगामी तीन महीनाभित्र औसत मूल्य वृद्धिदर १० दशमलव ५ प्रतिशत र एक वर्षभित्र १३ दशमलव ४ पुग्ने आकलन गरेका छन् । राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरेभन्दा उपभोक्ताले अनुभव गरेको महँगी उच्च छ । राष्ट्र बैंकको प्रतिवेदनमा २०७९ असोजमा मूल्य वृद्धिदर ८ दशमलव ५ प्रतिशत छ । उपभोक्ताले भने यस अवधिमा मूल्य वृद्धिदर १४ प्रतिशत रहेको महसुस गरेको बताएका छन् ।
राष्ट्र बैंकले २०७९ असोज २३ देखि २९ सम्म ५७ शहरका ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तरवार्तामार्फत सर्वेक्षण गरेको बताएको छ । दुई हजार ४० जनाको प्रतिक्रियामा आधारित सर्वेक्षणमा यसअघिको तुलनामा आठ सय ९९ व्यक्ति थपिएको राष्ट्र बैंकको भनाइ छ ।
Aaile po ke sasto xa ra
Krishandan Kumar Raj Raj AC fridge no ko no ko