ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

इच्छाकामना गाउँपालिकाका दर्जनौं गाउँ मोबाइलको नेटवर्कबाहिर

२०७९ मंसिर, २२  
बागमती प्रदेश
Tvs Raider Image Not Found

भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका-१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो ।

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ,’ उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो, नेटवर्कको समस्या उस्तै छ ।’ भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट वञ्चित छन् । 

कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमानसँग सहज रूपमा कुरा गर्न नपाएको बताउँछिन् । ‘सबै कुराले पछाडि परेका हामीलाई मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन,’ उनले भनिन् । 

इच्छाकामना गाउँपालिका-१ को चौकीडाँडा, बंघ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए । 

‘मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन,’ उनले भने, ‘भएको ठाउँमा पनि नेटवर्क समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।’ उनले वडाको झण्डै तीन हजार जनसंख्या सञ्चार सेवाबाट वञ्चित रहेको बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे । ‘यसै त भौगोलिक रूपमा पछि परेको ठाउँ हो हाम्रो,’ वडाध्यक्ष मगरले भने, ‘विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पनि पाउँदैनौं ।’ 

चौकीडाँडाकै सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाउँबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताइन् । उनले नेटवर्क कमजोर हुँदा फोन पटकपटक काटिने गरेको गुनासो गरिन् । 

उनले नेट इन्टरनेट त टाढाको कुरा, सहज रूपमा फोन गर्न पाए पनि खुसी हुने बताइन् । ‘अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पठाउन पाइँदैन, उनले भनिन्, ‘लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।’

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । उनले भने, ‘मोबाइलको टावर जडानका लागि पटकपटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।’ 

उनले गाउँबाट ४०० भन्दा बढीको हस्ताक्षर संकलन गरेरसमेत टेलिकममा बुझाइएको बताए । नेटवर्कको समस्याका कारण स्कूलमा वाइफाई जडान गर्न सकिएको छैन । ‘गाउँपालिकाले वाइफाई जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुपर्‍यो,’ उनले गुनासो गरे ।

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाउँपालिका-१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्भे गर्न कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकता राखेर काम गरिने उनले जानकारी दिए । उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । 

उनले वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए ।

यस्तै वडा नम्बर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताए । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro