ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायी आन्दोलित, माइतीघर मण्डलामा दिए धर्ना 

२०७९ मंसिर, २२  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सवारी साधनको आयात खुले पनि नेपाल राष्ट्र बैंकको नीतिका कारण गाडी विक्री गर्ने वातावरण नभएको अटो व्यवसायीहरू आन्दोलित भएका छन् । बिहीवार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा बिहीवार अटो व्यवसायीहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । 

उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरूले अगाडि सारेका मागहरू सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । 

धर्ना कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनुपर्ने बताए । गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरू मारमा परेको उनको भनाइ छ । उनले सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको बताए ।

सरकारले गाडी आयात गर्न दिने निर्णय भएपनि प्रतिबन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने उनको भनाइ छ । सरकारले गाडीको आयात खुलेपनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उनले बताए । ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने उनको भनाइ छ । उनले आयात खुला भएपनि तत्काल गाडी ल्याउनसक्ने अवस्था नभएको बताए ।

अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाबमुलक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरूका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । उनले नाडाले अटो व्यवसायीहरूको हकहितको लागि चरणवद्ध आन्दोलन गरेको बताए । सरकारले अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरूमा हुनुपर्ने व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था आएको उनको दुखेसो छ । उनले अटो क्षेत्रका लागि राष्ट्र बैंकले बनाएका नीतिहरू व्यवसायीहरूलाई गरिखान दिने खालको नभएको बताए । उनले बजारमा तरलता अभाव, ब्याजदर वृद्धिजस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको बताए । 

राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्‍याएको छ । व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ ।

राष्ट्र बैंकद्वारा जारी चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्न माग गरेको छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने उनीहरूको माग छ । अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकहरूको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, बैकहरूबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने माग रहेको छ ।

त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने व्यवसायीले माग गरेका छन् । 

धर्नामा व्यवसायीहरूले ‘जसले कर तिर्छ, उसैलाई पेल्छ’, ‘बैंकले अपमान गर्छ, सरकार व्याजदर कहिले घट्छ’ जस्ता नारा लेखेका प्लाकार्ड बोकेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro