ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नआत्तिनुस्, खिचडी पाक्दै छ

२०७९ मंसिर, २३  
तीतो मीठो
Tvs Raider
author avatar मदन लम्साल

चुनाव सकियो । सकियो के भन्नु अर्को चुनाव शुरू भयो । पहिला सांसद बन्न कसरत, अब मन्त्री, प्रधानमन्त्री बन्न । दलहरू दाल चामलको जोहो गरेर सरकार नामको खिचडी बनाउन कस्सिएका छन् । तर हिजोआज जसरी दाल र दलालहरूले आआफ्नो भाउ बढाको बढायै छन्, त्यस्तै छ दलहरूको पनि । को कता जोडिने हो, कता मोडिने, को को तोडिने हो, थाहा छैन । स्थायित्व, विकास, सुशासनको खिचडी त टाढै छ । त्यसै कहाँ खिचडी पाक्छ र ? त्यसैले खिचडी सजिलै र छिट्टै पाक्ला भन्ने कुरामा सन्देह छ । यसले मलाई वीरबलको खिचडीको सम्झना दिलाइरहेको छ । जनता चाहिँ खिचडी पाक्ला, केही होला भनेर बस्नुमात्रै होला जस्तो छ ।

वास्तवमा दाल चामल त तानाशाह, आफ्नै दौराको फेरमा लुकेको साँप हो । दाल चामलको बढिरहने भाउको दंशले सर्वसाधारणलाई डसिरहेको छ, आतंकित बनाइरहेको छ ।

फेरि कसैलाई दिल्ली दाइना, कसैलाई चाइना । हेरौं, सरकारी खिचडी पकाउने जिम्मा कसले चैं हो पाउन्या । यसरी नै बित्ला जस्तो छ केही महीना । फेरि यो सरकारी खिचडी पकाउन चाहिने भान्छेहरूको शेयरमूल्य यसरी बढिरहेको छ कि यो घट्ने त कुरै छाडौं, कसैको काबूमा समेत छैन ।

सरकारको खिचडी पकाउन यदि प्रविधिकै उपयोग वा दुरुपयोग भनौं, गरेर यदि दाल र चामलको फोटोकपी गरेर प्रयोग गर्न सकिने भए त्यस्ता फोटोकपी मेशिनको चाहिँ भविष्य दाल र चामलको भन्दा पनि सुनौलोे हुन्थ्यो होला । तर त्यस्तो प्रविधि अहिलेसम्म आएको छैन । आशा गरौं, कुनै त्यस्तो दिन पनि आउला । तर अहिलेलाई भने दलहरूले सरकार नामक खिचडी पकाउने सुर गर्दै गर्दा सांसदको मात्र होइन, दारुदेखि औषधिलगायत सबै थोकको भाउले आकाश छुन लागिरहेको छ । तर भाउ बढे पनि विक्री भने बढेको छैन, बरु घरजग्गाको जस्तै धेरै वस्तु तथा सेवाको विक्रीवितरण गर्ल्यामगुर्लम ढलेको छ । नेताको भाउ बढेको, तर जनताको घटेको छ । बजारमा तरलताको अभाव र नेपालका राजनीतिक दल तथा नेताहरूको ताल हेर्दा अर्थतन्त्र अझ ओरालो लाग्ने र महँगी भन्ने जन्तु सबैभन्दा अघि अघि भाग्ने निश्चित नै छ । यस्तोमा सुकुमबासी र हुकुमवासी त कुरा छाडौं, अलि अलि हुनेखानेहरू पनि अब कुन देश वा कतातिर लाग्ने भन्ने अन्योल छाउँदै गएको छ ।

तरकारीको भाउ त उफ्रिने र कुद्ने गरि नै रहन्छ । तरकारीको भाउ कुद्ने भनेको एउटा बालक कुद्ने जस्तै हो, कहिले तल त कहिले माथि । तर दाल र चामलको कुदाइ भने वयस्क कुरो हो । यसको भाउ एकपटक बढेपछि त्यो पछाडि फर्कने वा ओरालो लाग्ने छाँट कहिल्यै देखाउँदैन । दाल चामलको कुदाइले त राहत बाँड्दा बाँड्दै पनि जनतालाई आहत गरिरहेको हुन्छ । तर अचम्म ! यहाँ दाल र चामलको होइन कि तरकारीको कुदाइको कुरा चैं पत्रपत्रिकाको हेडलाइन बनिरहन्छन् । वास्तवमा दाल चामल त तानाशाह, आफ्नै दौराको फेरमा लुकेको साँप हो । दाल चामलको बढिरहने भाउको दंशले सर्वसाधारणलाई डसिरहेको छ, आतंकित बनाइरहेको छ । सबै पिलपिल रोइरहेका छन् । तर यो महँगी आतंकबाट मुक्ति पाउने शाश्वत उपाय खोज्न सकिरहेका छैनन् । अब त सर्वसाधारण मात्र होइन, देशका ठूला उद्योग व्यवसायीहरू समेत रुँदै छन्, आआफ्ना मन्द चलिरहेका उद्योग व्यवसाय बन्द हुन लागेकोमा दु:खी छन् । त्यो दु:खबाट त्राण पाउन उनीहरू ठूला भनाउँदा नेता नामक देउताहरूलाई हारगुहार पनि गरिरहेका छन् । तर मान्छेका आँसुले देउता बनेकाहरूको मन पगाल्न सक्ला र ?

फेरि यो दाल, चामलको मूल्य बढ्ने प्रक्रिया आफै बढ्ने स्वयम्भू यस्तो प्रक्रिया हो, जुन दाल चामलको खिचडी खाने मानिसहरूलाई जिउँदै भूत बनाइरहेको छ । जब कि यो कुरा सबैले बुझेकै छन् कि भूतले न दाल खान्छ न भात वा खिचडी । तर जसले जीवनमा दालभात खान पाउँदैनन्, उनीहरू अवश्य भूत बन्छन् नै । यसका थुप्रै प्रमाण पनि भेटिएका छन् । त्यही भूत मन्साउन त यति महँगो भए पनि दालचामल दोबाटोमा राख्छन् मान्छेहरू ।

खिचडी पाक्ने र पकाउने एउटा कुरा । तर यहाँ दालको धूलो र कुहिन लागेका चामलका कनिकाहरूले समेत मूल्यमा जनतालाई लात नै हानिरहेका छन् । यो दु:खद कुरा हो । तर यी दाल र चामलका धूलोहरूले ककसलाई घरघरबाट र सत्ताबाट बाहिर धकेल्ने हो, हेर्दै गर्नुपर्ने हुन्छ ।

खिचडी पकाउने जिम्मा पाएकाहरूले यो बुझ्न सकिरहेका छैनन् कि एउटा व्यक्ति जसले पहिले एक मुठ्ठी दाल खान्थ्यो, मूल्य बढ्दै गएपछि अहिले उसको पूरै परिवारले मुश्किलले एक मुठ्ठी दाल खान पाउँछ । दालमा त पानी थपेर खाए भैहाल्यो भन्नुहोला । हिजोआज त पानी पनि कहाँ सजिलै पाइन्छ र ?

अहिले त झन् बिहेको सिजन छ । तपाईंले सुन्नुभएकै होला तीनजना बोलाएको, १३ जना पो आए भनेर । अनि जे गरेर पनि पानी थपेर काम त चलाउनैपर्‍यो । तर के गर्नु, पानीले पनि पार्टीहरूबाट राम्रै ज्ञान लिइसके जस्तो छ, प्राय: हडताल गरिरहन्छ । भन्छन् नि, सम्हाल्न सकेन भने पानी र जवानी दुवैले मान्छे डुबाउँछ । जहाँ हुनुपर्ने हो, त्यहाँ हुँदैन । अनि जहाँ हुनु हुँदैन, त्यहाँ चैं मज्जैले हुन्छ । दाल र पानीमा यही फरक छ । तपाईंले चाहनुभयो भने दाललाई अलि बढी मूल्य तिरेर पनि आफ्नो बनाउन सक्नुहुन्छ, आफ्ना गोदामघरमा वास दिन सक्नुहुन्छ । तर पानीलाई पनि त्यस्तै गर्न खोज्नुभयो भने तपाईंलाई डुबाइदिन्छ । देख्नुभएन, मेलम्ची होस् या कति झोलामा खोला बोकेर हिँड्नेहरूलाई डुबाएको विगतमा ?

के तपाईंलाई भोक लाग्यो ? जागीर छैन ? व्यापार व्यवसाय भएन ? यसमा चिन्ता नलिनुस् । किनकि चिन्ताले चितामा पुर्‍याउन सक्छ । सन्तहरू भन्छन्– जीवनमा धैर्य गर्न सिक्नुपर्छ । अहिले धैर्य गर्ने बाहेक तपाईंले केही गर्न पनि सक्नुहुन्न । त्यसैले नआत्तिनुस्, सरकार नामक खिचडी पाक्दै छ क्या ! पाकेपछि तपाईंको भागमा पनि केही पर्ला नि त !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro