काठमाडौं । मकवानपुरको थाहा नगारपालिका–१, कुन्छालमा शुक्रवार (आज)बाट रैथाने कृषि तथा सांस्कृतिक मेला हुने भएको छ । कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिको आयोजना तथा थाहा नगरपालिकाको १ नम्बर वडा कार्यालय र लवग्रिन नेपालको सहआयोजनामा कुन्छाल गाउँको पर्यटन विकासका लागि मेला हुन लागेको हो ।
मेलाको उद्घाटन बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले गर्ने छिन् ।
मेलामा रैथाने कृषि उपज प्रदर्शनी, परम्परागत सांस्कृतिक झाँकी प्रदर्शनी, गोपाली खाना महोत्सव, कुन्छाल फोटो प्रदर्शनी, स्थानीय कृषि उपज प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी रहने वडा नम्बर १ का वडाअध्यक्ष हेरामान गोपालीले जानकारी दिए । मेलामा कला, संस्कृति, भेषभूषासँग स्थानीय परिकार पनि राखिने बताइएको छ ।
कुन्छाल गाउँमा ऐतिहासिक गोपाल वंशका जाति मानिने गोपालीहरूको बसोबास छ । यससँगै मकवानपुरको शिखरकोट, न्हुलगाउँ, टौखेल, पापुङ्ग, गहते र कुलगाउँमा पनि गोपाली जाति छन् ।