ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सांकेतिक रूपमा मनाइयो २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

२०७९ माघ, ३  
विविध
Tvs Raider NA

काठमाडौं । राष्ट्रिय शोकका कारण २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सांकेतिक रूपमा मात्रै मनाइएको छ । काठमाडौं महानगरपालिकाले भूगोलपार्कस्थित भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सोमवार कार्यक्रम गर्ने तयारी थियो । तर, आइतवार पोखरामा भएको विमान दुर्घटनापछि सोमवार शोक मनाउन सरकारले सार्वजनिक बिदा दिएको थियो । सोही कारण स्मारकमा फूल चढाएर कार्यक्रम गरिएको र सांकेतिक रूपमा मात्रै दिवस मनाइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुखहरूको उपस्थिति थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको थियो । त्यसैको सम्झनामा सरकारले माघ २ गतेका दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । सरकारले आइतवार यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ यात्रुको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सहभागी हुने कार्यक्रम पनि स्थगित गरिएको थियो ।

यस वर्ष ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नारासहित दिवस मनाउने तयारी गरिएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरू गरेको थियो ।

सोमवार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने प्रचारप्रसार समितिका संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro