ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अन्धकार सडक

२०७९ माघ, ३  
टिप्पणी
Tvs Raider Image Not Found

शहरी सडक उज्यालो पार्ने विषयमा समन्वय हुन नसक्दा राजधानी काठमाडौंका प्रमुख सडक अन्धकारपूर्ण देखिने गरेका छन् । महानगरपालिका भएर पनि अँध्यारो सडकमा यात्रा गर्नुपर्दा पैदल यात्रु र सवारीसाधन चालकसमेत समस्यामा परेका छन् भने विभिन्न आपराधिक घटनासमेत भएको पाइन्छ ।

काठमाडौं महानगरपालिकाले ‘स्मार्ट स्ट्रीट लाइट’ जडान गर्न सम्झौता गरेको २ वर्ष बितिसक्दा पनि काम अघि बढेको छैन । महानगरमा नवनिर्वाचित मेयर बालेन शाहले सडक बत्तीका लागि काम अघि बढाउन त्यति चासो दिएको पाइँदैन । सँगैको ललितपुर महानगरपालिकाले आफ्ना धेरैजसो सडकमा झिलिमली पार्दा काठमाडौंले त्यो गर्न नसक्ने पक्कै होइन । त्यसैले महानगर प्रशासनको प्राथमिकतामा सडक बत्ती नपरेको भन्ने यसले देखाउँछ ।

शहरी सौन्दर्य र सुरक्षासँग जोडिएको विषय हो : सडक बत्ती । यसले सडक उज्यालो पार्ने मात्र होइन, रात्रिकालीन शहरलाई चलायमान बनाउन पनि मद्दत गर्छ । विश्वका पुराना शहरहरूमा सडक बत्तीको सजावटबाट पर्यटकलाई आकर्षित गरेको पाइन्छ । प्यारिसलगायत थुप्रै शहरमा यस्तो दृश्य देख्न पाइन्छ । सांस्कृतिक नगरीको उपमा दिने गरिएको काठमाडौंमा भने सांस्कृतिक सम्पदाका क्षेत्रहरूमा समेत अन्धकार पाइन्छ । विश्व सम्पदामा सूचीकृत भनेर गर्व गरेर मात्र पुग्दैन, त्यसअनुसार साजसज्जा गरिनु पनि आवश्यक हुन्छ । बिजुलीबत्तीको कलात्मक सजावट राजधानीका कुनै पनि ठाउँमा पाइँदैन । सांस्कृतिक सम्पदा क्षेत्रमा यसको आवश्यकता महानगरले देखेको पाइँदैन । सडक बत्तीको व्यवस्थापनको जिम्मेवारी सडक विभाग, विद्युत् प्राधिकरण र महानगरपालिकामध्ये कसको हो भन्नेमै पनि विवाद पाइन्छ । महानगरले प्राधिकरणले आफ्नो जमीनमा पोल गाडेकाले बिजुली बालिदिनुपर्छ भन्ने तर्क गरेको समेत पाइन्छ । जे भए पनि यी निकायबीच समन्वय र सहकार्य नहुँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको छ ।

सौर्य सडक बत्ती बाल्ने र त्यसको लागत विज्ञापनमार्फत उठाउने भनेर एउटा स्टार्ट अपले केही सडकमा बत्ती जडान गरेको थियो । तर, उसले त्यसलाई निरन्तरता दिन सकेन । ती बत्ती करीब करीब काम नलाग्ने भइसकेका छन् । त्यसलाई सहयोग गरिदिएको भए पनि सडक उज्यालो बनाउन सकिन्थ्यो । प्राधिकरण र महानगरले साझेदारी गरेर पनि सडक झिलिमली बनाउन सक्छन् । उपभोक्ता समितिको सक्रियतामा भित्री सडक उज्यालो भएको पाइन्छ । त्यही मोडल अपनाउन सकिन्छ भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro