ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेपालमा पेट्रोल र विद्युतीय गाडीको विक्री ५०/५० पुग्यो, टाटाका विद्युतीय गाडीको हिस्सा ८० प्रतिशत

२०७९ माघ, ३  
समाचार
Tvs Raider Image Not Found
अजितनारायण सिंह,नेपाल विक्री प्रबन्धक, टाटा मोटर्स
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढेको छ । सन् २०२१ को अप्रिलदेखि २०२२ को डिसेम्बरसम्ममा ईभी र पेट्रोलियम गाडी (आइस) को विक्री अनुपात ५०/५० प्रतिशत रहेको टाटा मोटर्सका नेपाल विक्री प्रबन्धक अजितनारायण सिंह बताउँछन् । यसमा ८० प्रतिशत टाटा मोटर्सका गाडी रहेको उनले दाबी गरे ।

आयात प्रतिबन्ध, देशको आर्थिक स्थिति, तरलताको अवस्था र नेपाल राष्ट्र बैंकको कडाइले अटोमोबाइल क्षेत्रको कारोबार निकै खस्केको बताइन्छ । विक्री प्रबन्धक सिंहका अनुसार गत र चालू आर्थिक वर्षको तुलना गर्दा सबै गाडी (विद्युतीय र पेट्रोलियम) को विक्री ७० प्रतिशतले घटेको छ ।

गाडी विक्रीको कुल परिमाण घटे पनि ईभी विक्रीदर ५० प्रतिशतले बढेको सिंह बताउँछन् । यसरी ईभी विक्री बढ्नुको प्रमुख श्रेय उनले सरकारलाई दिए । उनले थपे, ‘सरकारले जुलाई २०२१ मा कर घटाएपछि ईभीको क्षेत्र एक्टिभेट भयो । ईभी एक्टिभ हुनेबित्तिकै विक्री परिमाण बढ्यो र बजारको अवस्था यस्तो भयो । तरलताको समस्या नभएको भए अवस्था अर्कै हुन्थ्यो ।’

उनका अनुसार अवस्था सहज भएको भए ईभी विक्री ७० प्रतिशतभन्दा माथि हुन्थ्यो । ईभी किन्दा सस्तो, चलाउँदा पेट्रोल/डिजेलबाट चल्नेभन्दा आरामदायी हुन्छ भनेर ग्राहकले बताएको सिंहले सुनाए । आफूहरूले गरेको सर्वेक्षणमा ग्राहकले अब आइस गाडी नकिन्ने बताएको उनको भनाइ छ । ‘पुरुष र महिला दुवैको प्रतिक्रिया उस्तै थियो,’ सिंहले भने ।

ईभी विक्रेताहरू यसको मर्मत खर्च आइसको भन्दा तीन गुना सस्तो पर्ने दाबी गर्छन् । ‘आइसमा इन्जिन हुन्छ । यसमा ब्याट्री मात्रै हुने हो,’ सिंह अगाडि थप्छन्, ‘इन्धनबाट चलाउँदा औसत १४ रुपैयाँ प्रतिकिलोमीटर लाग्छ, ईभीमा ३ सय रुपैयाँले गाडी २ सय किलोमीटर गुड्छ । भन्नाले १ रुपैयाँ ५० पैसा प्रतिकिलोमीटर ।’

सरकारको यो क्षेत्रप्रति सकारात्मक दृष्टिकोण रहिरहे आगामी २/३ वर्षमा चारपांग्रे गाडीको कुल विक्रीमा ५०/६० प्रतिशतभन्दा बढी अंश ईभीको हुने उनको भनाइ छ ।

नेपालले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । यसका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । अर्कोतिर वर्षायाममा नेपालमा उत्पादित बिजुली खपत नभएर खेर गइरहेको स्थिति छ ।  

आगामी दिनमा विद्युत् उत्पादन अझै बढ्ने हुँदा यसको आन्तरिक खपत बढाउन सरकारले ईभीको थप प्रवर्द्धन गर्नुपर्ने उनी बताउँछन् । यसका लागि सरकारले ईभीले खपत गर्ने बिजुलीमा अनुदान, घरमा अनुदान, गाडीको चार्जिङमा अनुदान, करहरूमा अनुदान र ईभीलाई नि:शुल्क पार्किङको व्यवस्था गर्न सक्ने उनको भनाइ छ ।

ईभीको मूल्य अन्तरराष्ट्रिय बजारमै महँगो छ । तर, प्रविधिको विकाससँगै यसको मूल्यमा भारी गिरावट आउन सक्ने जानकार बताउँछन् ।

नेपाल सरकारले केही महीनाअघि निजी प्रयोजनको आइस गाडीलगायत विलासी वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । अहिले उक्त प्रतिबन्ध हटिसकेको छ । गाडीको आयात खुले पनि अटोमोबाइल क्षेत्रको अवस्थामा सुधार नआएको सम्बद्ध व्यवसायी बताउँछन् । यसमा सिंह पनि सहमत छन् ।

उनले अवस्थामा सुधारका लागि नेपाल राष्ट्र बैंकले गरेका कडाइहरू खुकुलो बनाउनुपर्ने बताए । ‘राष्ट्र बैंकले केही नियम ल्यायो, जस्तो अटो कर्जामा जोखिमभार अनुपात १५० प्रतिशत निर्धारण भएको छ । त्यसपछि बैंकहरूले यसमा कर्जा लगानी गर्न चाहेनन् । हाम्रो गाडी बिक्ने भनेकै फाइनान्सिङबाटै हो,’ सिंह भन्छन्, ‘अहिलेकै अवस्था हेर्ने हो भने पनि ८० प्रतिशत फाइनान्सिङ हो, क्यास त २० प्रतिशत मात्रै छ ।’

टाटा मोटर्सले भारतमा आफ्नो ईभी २०१८ मा पहिलोपटक सार्वजनिक गरेको थियो ।

अहिलेसम्म उसले ५० हजार थान ईभी उत्पादन गरिसकेको छ । तर, विक्रीका लागि अहिले पनि टाटा इलेक्ट्रिक मोटर्स बाहिरकै बजारमा निर्भर छ । ब्याट्री टाटा आफैले बनाउने गरेको छ ।

नेपालमा टाटा मोटर्सले सिप्रदी ट्रेडिङमार्फत २०२१ मा ईभी विक्री शुरू गरेको थियो । अहिले नेपालको ईभीमा ७० प्रतिशत टाटा रहेको सिंहको दाबी छ । विगत वर्षमा कोरोनाका कारण टाटा मोटर्सको उत्पादनमा कमी आएको भन्दै सिंहले सन् २०२३ मा एक/डेढ लाख युनिट उत्पादन हुने सम्भावना रहेको बताए ।

ईभी धेरै हिसाबले नयाँ भएकाले यसलाई लिएर सबैको मनमा शंका रहेको सिंहको बुझाइ छ । ‘त्यो शंकाबाट तपाईं, म कोही पनि अछुतो छैनौं । यस्ता शंकामा गाडी कस्तो कुद्ने हो, राम्रो कुद्छ कि कुद्दैन, उकालो चढ्छ कि चढ्दैन, ब्याट्री कति समय चल्ने हो, ब्याट्री बिग्रे कति खर्च लाग्छ, शहरबाहिर जाँदा कहाँ चार्ज गर्नेलगायत छन्,’ उनले भने ।

टाटा मोटर्सले यसका लागि आवश्यक इकोसिस्टम बनाएको उनले बताए । ‘नेपालमा गाडी लन्च हुनुभन्दा पहिले नै हामीले १५ ओटा फास्ट चार्जर लगाइसकेका थियौं । काठमाडौं र अरू मुख्य शहरका ठाउँठाउँमा एसी चार्जर पनि हालेका छौं,’ उनले थपे ।

टाटाका गाडीहरू धेरै कुरामा अरू कम्पनीका गाडीभन्दा उत्कृष्ट रहेको उनको दाबी छ । ब्याट्री र मोटर दुवैको वारेन्टी ८ वर्ष रहेको उनले जानकारी दिए । ‘यही वारेन्टी अरू मोटरमा ३ वर्षको मात्रै हुन्छ,’ उनले भने, ‘हामीले अलग्गै ट्रेनिङ सेन्टर पनि सञ्चालन गरेका छौं । ईभीको यस्तो सेन्टर नेपालभरमा हाम्रो मात्रै हो । त्यसमा दक्ष प्राविधिक छन् ।’

उनका अनुसार टाटाले १५ ओटा सर्भिस सेन्टरमा ईभी सर्भिस गर्ने क्षमता विकास गरेको छ । ईभीमा चाहिने सामग्री ल्याउन पनि टाटालाई सजिलो रहेको उनले बताए । ‘गाडी हाम्रो कम्पनी भारतकै भएकाले यस्तो हुन गएको हो,’ उनले भने ।

टाटा मोटर्सका थप विशेषता बताउने क्रममा सिंहले ती ईभी भारतमै उत्पादन हुने, भारत र नेपालको वातावरणीय अवस्था खासै फरक नभएको, बाटो पनि लगभग उस्तै रहेको, सोहीअनुसार गाडी तयार भएको बताए ।

टाटा मोटर्स ईभीले चार्जिङका लागि एउटा एप बनाएको सिंहले जानकारी दिए । हरेक फास्ट चार्जरमा मान्छे बस्न नसक्ने भएकाले गाडी धनीलाई त्यो एपसँगै दिएको युजर आईडी र पासवर्डबाट उसले आफै चार्ज र पेमेन्ट गर्न सक्ने उनको भनाइ छ ।

पहिले काठमाडौंबाट मात्र खरीदविक्री हुने टाटा मोटर्सको नेटवर्क अहिले नेपालका अधिकांश ठूला शहरमा पुगिसकेको छ । ‘हामीले निःशुल्क रूपमै एसी चार्जिङ बक्स हरेक ग्राहकको घरमा लगाउने गरेका छौं । हामी सर्वे गर्छौं उनीहरूको घरमा अर्थिङ छ कि छैन । छैन भने त्यो गर्छौं । ग्राहकलाई यो सबै निःशुल्क हुन्छ,’ सिंहले भने ।

उनकै शब्दमा टाटा मोटर्स अहिले ठूलो मार्जिनले देशको ईभी क्षेत्रको एक नम्बर कम्पनी भएको छ । ‘यसबाट टाटाले ट्रक/बस मात्रै बेच्ने हो साना गाडी त्यति सारो बेच्दैन भन्ने मान्यता टुटेको छ,’ उनले भने ।

टाटा मोटर्स ईभीको यो सफलता नेपाल विक्री प्रबन्धकका रूपमा आफ्ना लागि ठूलो खुशीको कुरा भएको सिंह बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro