ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

निर्यात प्रवर्द्धनमा आर्थिक पत्रकारिता : सरकारलाई खबरदारी र निजीक्षेत्रलाई सचेत पार्ने क्षमता

२०७९ माघ, ३  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found

पत्रकारिताको सबैभन्दा जटिल र गहन विधामा आर्थिक पत्रकारितालाई लिने गरिन्छ । विश्व व्यवस्थाका प्रमुख आधारका रूपमा रहेका उत्पादन, वितरण, उपभोग र मौद्रिक आपूर्ति यी चारओटा विषय यस क्षेत्रभित्र पर्ने र यी क्षेत्रभित्र थुप्रै उपक्षेत्र अन्तरनिहित रहेको र अर्थतन्त्र राजनीतिसँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने क्षेत्र भएकाले पत्रकारितामा यस क्षेत्रको दायरा पनि अन्य क्षेत्रको भन्दा विस्तृत रहेको छ ।

सरकार, निजीक्षेत्र, अन्तरराष्ट्रिय संघसंस्था र प्राज्ञिक क्षेत्रका सीमारेखाहरू केके हुन्, सबल पक्ष दुर्बल पक्ष, अवसर र हाँकहरू केके छन् भन्ने पक्षलाई मिहीन रूपमा विश्लेषण गरी सबै पक्षलाई सही मार्गमा डोर्‍याउने कार्यमा आर्थिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

आर्थिक पत्रकारिता भन्नासाथ यसमा सूक्ष्म अर्थशास्त्र र समष्टि अर्थशास्त्र दुवै पक्ष स्वत: जोडिएर आउने गर्छ । सूक्ष्म अर्थशास्त्रभन्दा साथ यसमा उत्पादन सिद्धान्त, उपभोक्ता माग सिद्धान्त, उत्पादन लागत सिद्धान्त, मूल्य सिद्धान्त, फर्म र बजारको संरचना र द्युत सिद्धान्त (गेम थ्योरी) जस्ता विषय स्वत: आकर्षिक हुन्छन् ।

समष्टि अर्थशास्त्रका तीनओटा मोडेल कुल माग र कुल आपूर्ति मोडेल, लगानी बचत तथा तरलता मुद्रा मोडल तथा वृद्धि मोडलको सैद्धान्तिक ज्ञान तथा समष्टि अर्थशाास्त्रका अंगका रूपमा रहेका कुल गार्हस्थ्य उत्पादनको संरचना, रोजगारी, मुद्रास्फीति र भुक्तानी सन्तुलनका पक्षहरू पनि आर्थिक पत्रकारितासँग स्वत: जोडिएर आउने विषयहरू हुन् । वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध, पाश्र्वप्रभाव र यी दुई नीतिको अर्थतन्त्रसँगको सम्बन्ध स्थापना गर्नु आर्थिक पत्रकारिताको महत्त्वपूर्ण पक्षका रूपमा रहँदै आएको छ ।

आर्थिक पत्रकारिताको अर्को पक्ष भनेको राजनीति र अर्थतन्त्रको अन्तरसम्बन्ध स्थापना गर्नु हो । यो पक्ष आर्थिक पत्रकारिताको सबैभन्दा संवेदनशील विधामा रूपमा समेत चिनिन्छ । आर्थिक पत्रकारितामा मेधा (इन्टेलिजेन्स) को सबैभन्दा बढी उपयोग हुने क्षेत्र पनि यही नै हो ।

आर्थिक पत्रकारिताको अर्को महत्त्वपूर्ण पक्ष भनेको गणित र तथ्यांकशास्त्र पनि हो । यी दुई विधाको आधारभूत आर्थिक पत्रकारिताको अपरिहार्य तत्त्वका रूपमा रहेको हुन्छ ।

आर्थिक पत्रकारिताको अर्को पक्ष भनेको तथ्यांकमा व्यवस्थित पहुँच तथा प्राप्त तथ्यांकलाई विश्लेषण गर्नयोग्य स्वरूपमा फिल्टर गर्ने कलायुक्त हुनु हो । यसरी प्राप्त तथ्यांकलाई सूचनासँग संयोजन गरी प्रभावकारी रूपमा उजागर गरेपश्चात् आर्थिक पत्रकारिताको चक्र पूरा हुन्छ ।

आर्थिक पत्रकारिताका विभिन्न उद्देश्य रहेका हुन्छन् ।

यी उद्देश्यमध्ये सरकारका नीतिहरूका समालोचना पनि एक हो । अर्थतन्त्रको स्वस्थताका लागि यसका समग्र पक्षको समालोचना सबैभन्दा महत्त्वपूर्ण हुने गर्छ । नि:सन्देह अर्थतन्त्रको महत्त्वपूर्ण पक्षका रूपमा रहेको सरकार र त्यससँग आबद्ध क्षेत्र घोषित नीति र कार्यक्रमहरूको पक्षपोषण गर्ने कर्तव्यबाट बाँधिएका हुन्छन् । अर्थतन्त्रको अर्को पांग्राका रूपमा रहेको निजीक्षेत्र व्यावसायिक स्वार्थजन्य कर्तव्यबाट परिचालित हुन्छ । तसर्थ सरकारका तर्फबाट हुने पक्षपोषण र निजीक्षेत्रका तर्फबाट हुने माग र आलोचनाबीचमा यथार्थ पक्ष अर्कै हुने गर्छ । यो यथार्थ पक्षलाई उजागर गर्ने क्षमता आर्थिक पत्रकारिता क्षेत्रले मात्रै राख्छ । सारमा भन्नुपर्दा अर्थतन्त्रका बारेमा सरकार, निजीक्षेत्र, आम जनता, प्राज्ञिक क्षेत्र र अन्तरराष्ट्रिय संघसंस्थाले विचार सृजना र निर्धारण गर्ने गर्छन् । यी चारओटै क्षेत्रका विचारहरूलाई समालोचनाको कसीमा जाँच्ने कार्य पनि आर्थिक पत्रकारिता क्षेत्रकै कर्तव्यभित्र पर्न जान्छ । यस्तो समालोचनाले सरकारलाई मार्गदर्शन, निजीक्षेत्रलाई आत्मसमीक्षा, प्राज्ञिक जगत्लाई व्यावहारिक र अन्तरराष्ट्रिय संघसंस्थालाई बढी उदार हुन उत्प्रेरणा प्रदान गर्छ ।

पत्रकारिता क्षेत्रमा यत्ति धेरै महत्त्व राख्ने आर्थिक पत्रकारिता क्षेत्रले नेपालमा भने यथोचित प्राथमिकता प्राप्त गर्न सकेको छैन । यस क्षेत्रलाई समग्र अर्थतन्त्रको समालोचना गर्न सक्ने गरी दक्षताको विकास र साधनस्रोतको व्यवस्था गर्न सकिएको छैन । सरकारका सूचना, निजीक्षेत्रका माग, प्राज्ञिक क्षेत्रको सैद्धान्तिक ज्ञान र अन्तरराष्ट्रिय संघसंस्थाका सुझाव र सल्लाहहरूको समाचोलना गर्न सक्ने गरी यस क्षेत्रलाई परिचालन गर्न सकिएको छैन ।

उपर्युक्त धरातलीय यथार्थलाई मनन गर्दै नेपालले पनि आर्थिक पत्रकारितालाई समग्र अर्थतन्त्रको समालोचना गर्ने गरी सरकारकै अंगका रूपमा विकास गर्नु जरुरी देखिन्छ । यसका लागि नेपाल सरकारका निकाय र आर्थिक पत्रकार जगत्बीच गहन अन्तरक्रिया हुनु जरुरी छ । आर्थिक पक्षहरूसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका निकायहरू र आर्थिक पत्रकारजगत्बीच तालिकाबद्ध अन्तरसम्बन्ध स्थापना हुने परिपाटीको विकास हुन जरुरी छ । नेपाल सरकारका क्षेत्रगत निकायहरूले आर्थिक पत्रकारिताको सबलीकरणमा शीपमूलक तालीमको पनि व्यवस्था गर्नु जरुरी छ । यसैगरी अर्थतन्त्रसँग सम्बद्ध विभिन्न विधामा आर्थिक पत्रकार जगत्लाई जानकार बनाउन यी विधामा शैक्षिक विभिन्न अवधिका छात्रवृत्तिहरू प्रदान गर्ने कुरामा पनि नेपाल सरकारको सहयोग हुन जरुरी छ । यसैगरी नेपाल सरकारले प्रचार गर्नुपर्ने सूचना र तथ्यांकमा आर्थिक पत्रकार जगत्को व्यवस्थित र अनुमानयोग्य पहुँच स्थापना गर्नु पनि त्यत्तिकै जरुरी छ ।

नेपालको अर्थतन्त्रमा निर्यात क्षेत्रलाई सर्वाधिक चिन्ता र चासोका साथ हेर्ने गरिएको छ । २००७ सालयताका कुनै पनि वर्ष वस्तुतर्फको व्यापार सन्तुलन नेपालका पक्षमा देखिएको छैन । नेपालको वैदेशिक व्यापारमा निर्यात आयात अनुपात पनि विकराल हुँदै गएको छ । नेपालले बढी आयात गर्ने मुुलुकहरूसँग नेपालको व्यापारघाटाको अवस्था अझ खराब रहेको छ । नेपाल सरकारले निर्यात प्रवर्द्धन गर्ने भनी लागू गरेका नीतिहरू र व्यवस्था गरेका निकायहरूका सक्रियता हुँदाहुँदै पनि व्यापारघाटाको अवस्था वर्षेनि विकराल बन्दै गएको छ । यो अवस्था किन सृजना भइरहेको छ भन्ने विषयमा सरकार, निजीक्षेत्र, अन्तरराष्ट्रिय संघसंस्था र प्राज्ञिक क्षेत्रबाट परस्पर विरोधाभाषी विचारहरू प्रवाहित भइरहेका छन् । नेपालको निर्यात क्षेत्रमा यस चतुष्कोणभित्रका विरोधाभासहरूमाझ निष्कर्षहरू सही रूपमा निकाल्न नसकिँदा व्यापारघाटाको चक्रव्यूहबाट मुलुक बाहिर निस्किन सकेको छैन । नेपालको निर्यात क्षेत्रमा विद्यमान यस विरोधाभासको यस चतुष्कोणको भेदन गरी निर्यात प्रवर्द्धन गर्ने मार्ग पहिल्याउने कार्यमा आर्थिक पत्रकारिता जगत्ले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नीति तथा कार्यक्रमहरू किन प्रभावकारी भएनन्, गर्नुपर्ने सुधारहरू केके हुन्, कमजोरीहरू केके हुन् र कुन निकायले कहाँकहाँ कमजोरी प्रदर्शन गरेका छन् र हस्तक्षेपका क्षेत्रहरू केके हुन् ? सरकार, निजीक्षेत्र, अन्तरराष्ट्रिय संघसंस्था र प्राज्ञिक क्षेत्रका सीमारेखाहरू केके हुन्, सबल पक्ष दुर्बल पक्ष, अवसर र हाँकहरू केके छन् भन्ने पक्षलाई मिहीन रूपमा विश्लेषण गरी सबै पक्ष सही मार्गमा डोर्‍याउने कार्यमा आर्थिक पत्रकारिता क्षेत्रले समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यस पक्षलाई दृष्टिगत गर्दै आर्थिक पत्रकारितालाई नेपालको अर्थतन्त्रलाई सही मार्गमा डोर्‍याउने सहयोगी क्षेत्रमा रूपमा विकास गर्नु जरुरी छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro