काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख ५ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले आज मंगलबार नै बोलकबोल गरेर आजै ट्रेजरी बिल जारी गर्न लागेको हो । हिजो सोमबार सार्वजनिक बिदा भएकाले आजै बोलकबोल गरेर ट्रेजरी बिल जारी गर्न लागिएको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्री गरिन्छ । भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।