काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् ।
हेटौंडामा मंगलवार (आज) बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत पाएका हुन् । उनको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । उनको पक्षमा १०५ सांसदले मत दिँदा विपक्षमा जम्मा ३ जना सांसदले मात्रै मतदान गरे ।
मुख्यमन्त्रीलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । उनको विपक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ सांसदले मतदान गरेका छन् ।
विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।