खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशुबीमा कार्यक्रम अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत आर्थिक वर्ष २०७५/७६ मा पशुबीमा कार्यक्रम शुरू गरिएको थियो । शुरूका वर्ष १७ ओटा बाख्रा र ६ ओटा बंगुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६/७७ देखि पशुको बीमा नवीकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।
‘एक वर्षभित्र किसानले दुईओटा बाख्राको बीमाबापतको रकम पाएका थिए,’ उनले भने, ‘कतिपय किसान पशु बीमाको रकम दाबी गर्न आउँदा बीमा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काइयो ।’ नेपाल सरकारको कार्यक्रमअनुसार गाउँपालिकाको समन्वयमा पशुबीमा शुरू गरेको कम्पनीले अभिकर्ताको अभावमा बीमा नवीकरण गर्न नसकेको बताएको छ ।
बीमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटाएर बीमा गराइएको शाखा प्रमुख राजभण्डारीले बताए । पशुबीमालाई पुनः निरन्तरता दिने तयारी भइरहेको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले बताए । ‘ग्रामीण क्षेत्रका किसानको मुख्य सम्पत्तिको रूपमा रहेका गाईभैंसी, बंगुर मर्दा हुने आर्थिक क्षतिबाट जोगाउन गाउँपालिकामा पशुबीमा कार्यक्रम लागू गरिएको थियो,’ उनले भने, ‘बीमा गरेको एक वर्षभित्र पशु मरे वा क्षति पुगेमा किसानलाई बीमांक रकमको ९० प्रतिशत प्रदान गर्नेगरी पशुबीमा शुरू गरिएको हो । आगामी दिनमा यसलाई निरन्तरता दिने तयारी गरेका छौं ।’ दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि उक्त बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लामा पशु सेवा कार्यालयले पनि बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जिल्लामा सञ्चालित बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासो किसानले गर्दै आएका छन् । बीमा कम्पनीले नवीकरणमा तदारुकता नदेखाउँदा समस्या हुने गरेको भेडापालक किसान लक्ष्मण साम्पाङले बताए । रासस