ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नयाँ सरकारका नयाँ अनुहार

२०७९ माघ, ४  
टिप्पणी
Tvs Raider Image Not Found

सात दलको साझेदारीमा गठित पुष्पकमल दाहालको मन्त्रिपरिषद् विस्तार भएको छ । शुरूमा आठ जनाको मन्त्रिपरिषद् थियो भने मंगलवार १५ जना मन्त्रीले शपथ लिएसँग २३ सदस्यीय बनेको छ । सत्ता साझेदारीमा संलग्न जनमत पार्टीले शपथग्रहण नगरेर असन्तुष्टि व्यक्त गरेको छ भने जनमुक्ति पार्टी नेपाल पनि सरकारमा सामेल हुन तयार छैन । त्यस्तै सरकारमा सामेल दलहरूबीच गम्भीर सैद्धान्तिक मतभेद छ तर सत्तासाझेदारी गरेका छन् । यसले सरकार र मन्त्रिपरिषद्को आयु कति होला भनेर अड्कलबाजी र विश्लेषण शुरू भइसकेको छ ।

पुराना राजनीतिक दल, तिनको किचलो र जुँगाको लडाइँबाट आजित जनताले राजनीतिमा विकल्प खोजेका छन् । त्यही भएर निर्वाचनबाट नयाँ दलहरूको उदय भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्री भएकाले सरकारमा नयाँ अनुहारले अवसर पाएका हुन् । तर, सरकारमा सामेल मन्त्री र तिनको निर्णयहरू हेर्दा आशा गर्ने ठाउँ पर्याप्त भने देखिँदैन । यद्यपि नियुक्त हुनेबित्तिकै ठोस परिणाम आउँदैन र यस्तो अपेक्षा गर्नु पनि हुँदैन ।

सरकारमा कर्णाली प्रदेशको प्रतिनिधित्व नभएकाले समावेशी भएन भन्ने गुनासो पाइन्छ । त्यस्तै मन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व हुने सम्भावनालाई उपेक्षा गरिएको छ । म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ भने निर्माण व्यवसायीलाई शहरी विकास मन्त्रालय । यसो गर्दा उनीहरूको विज्ञताको उपयोग हुन्छ भन्ने सम्बद्ध पार्टीको सोचाइ हुन सक्छ । तर, यस्तोमा नीतिगत भ्रष्टाचारको सम्भावना पनि रहन्छ । स्वास्थ्य मन्त्रालयमा बेग्ला बेग्लै दलका मन्त्री र राज्यमन्त्री बनाइएको छ, जसको औचित्य देखिँदैन ।

मन्त्रीमा नियुक्त हुनासाथ उनीहरूले दिएका प्रतिक्रिया र पहिलो निर्णय हेर्दा नयाँपनको आभास भएको छैन । पुरानो सरकारको चर्को विरोध गरेर आएको नयाँ दल र नेतृत्वले पुरानै पारा देखायो भने परिवर्तन आउन सक्दैन । सत्ताबाहिर बसेर आलोचना गर्न जति सहज हुन्छ त्योभन्दा कठिन हुन्छ सत्ताको साँचो लिएर परिवर्तनको पक्षमा काम गर्न । प्रधानमन्त्री दाहाललाई भिन्न विचार, भिन्न सैद्धान्तिक आस्था भएका दलहरूलाई मिलाएर लैजान पक्कै पनि सहज छैन । यस्तो दलहरूले आफ्नो सैद्धान्तिक अडान स्थगित गरेर सरकारमा सामेल भएको प्रतिक्रिया दिएको भए थोरै भए पनि इमानदारी देखिन्थ्यो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro