काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज(बुधवारदेखि) देखि आईपीओ विक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।
जसमा आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गरिएको हो ।
साथै सर्वसाधारणमा निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा माघ १८ गते हुनेछ भने ढिलोमा फागुन ४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिन पाउने छन् ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन्।