ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

चीनमा कोभिडका कारण दिनमै ३६ हजारको मृत्यु हुने चेतावनी !

२०७९ माघ, ४  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

पेचिङ (चीन) । गएको महीना चीन सरकारले कोभिडविरुद्ध शून्य सहनशीलताको नीति खारेज गरेपछि त्यहाँ कोरोना भाइरसको संक्रमण विष्फोटक रूपमा बढिरहेको छ । चीनमा आगामी लुनार नयाँ वर्षको सार्वजनिक बिदामा एक दिनमै ३६ हजार मानिसको कोभिडकै कारण मृत्यु हुन सक्ने विश्लेषण गर्न लागिएको छ । स्वतन्त्र विश्लेषक संस्था एयरफिनिटी लिमिटेडले यसअघि डिसेम्बर २९ मा गरेको अनुमानको तुलनामा सम्भावित मृतकका संख्या ११ हजारले बढाएको छ ।

यसले विश्वको सबैभन्दा धेरै जनसंखया भएको देश चीनमा संक्रमण कति डरलाग्दो गरी फैलिरहेको छ भन्ने उजागर गरेको छ । चीनको क्षेत्रीय प्रान्तहरू र कोभिडविरुद्ध शून्य सहनशीलता नीति लिएका अन्य देशमा सो नीति हटाएपछि बढेको संक्रमणको आधारमा यो अपडेट गरिएको लन्डनस्थित एयरफिनिटीले भनेको छ । चीनले लामो अनि गम्भीर संक्रमणको लहर देख्ने बताइएको छ ।

लुनार नयाँ वर्षको सार्वजनिक बिदामा करोडौं चिनियाँहरू आफ्नो घरपरिवारको सदस्यलाई भेट्न पुर्ख्यौली घर जान्छन् । आगामी १५ दिन चीनको स्वास्थ्य उपचार प्रणालीमा निकै ठूलो भार थपिने अनुमान आफूहरूले गरेको एयरफिनिटीका विश्लेषणत्मक निर्देशक म्याट लिन्लेले बताएका छन् । अस्पतालमा बिरामीको चाप र स्वास्थ्य उपचारको अभावका कारण उपचार गरेर निको पार्न सकिने बिरामीको समेत मृत्यु हुने बताइएको छ ।

चीनको हेनान, कान्सु, छिङहाई र युनानलगायत प्रान्तमा अहिले नै संक्रमण उत्कर्ष पुगिसकेको छ । नयाँ वर्षको समयमा गाउँ जानेको संख्याका कारण ग्रामीण क्षेत्रमा पनि संक्रमण यसअघि अनुमान गरिएको भन्दा तीव्र दरमा फैलिने विश्लेषणात्मक सूचकहरूले देखाइरहेका छन् ।कोभिडको विद्यमान लहरमा चीनमा पहिलो ५ हप्तामा अस्पतालमा भर्ना भएर उपचाररत् झन्डै ६० हजार कोभिडका बिरामीको मृत्यु भएको थियो ।

चीनमा कोभिडको महामारी शुरु भएयता यो वर्ष पहिलो पटक मानिसहरू लुनार नयाँ वर्षमा बिना कुनै रोकटोक यात्रा गर्न सक्ने भएका छन् । गएको तीन वर्षमा भने कोभिड नियन्त्रण गर्ने सरकारको कठोर नीतिका कारण यो पर्वमा मानिसहरूको चलहपहलमा उच्च कमी आएको थियो । तर, यो वर्ष चीनले कोभिडसम्बद्ध सबै प्रतिबन्धहरू हटाएको अनि सीमा खुला गरेसँगै यो वर्ष चीनको यात्रामा उल्लेख्य सुधार आएको छ ।

यो वर्ष सार्वजनिक बिदाका बेलामा २ अर्ब १० करोडभन्दा धेरै यात्रा हुने अनुमान अधिकारीहरूको छ । यो गत वर्षको भन्दा दोब्बर भए पनि कोभिड शुरु हुनुअघि सन् २०१९ को तुलनामा भने ७० प्रतिशत मात्रै हो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro