ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

चीनले ८८ ओटा भिडियो गेमलाई दियो अनुमति 

२०७९ माघ, ४  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

पेचिङ (चीन) । चीनले यो वर्ष पहिलो चरणमा ८८ ओटा भिडियो गेमलाई अनुमति दिएको छ । नियामकहरूले अनुमति दिएका भिडियो गेममा विश्वको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी टेन्सेन्टसहित, नेटइज, मिहोयो आदि भिडियो गेम छन् । यसलाई आर्थिक वृदिदर सुस्त भएपछि नियामकहरूले भिडियो गेम उद्योगमाथि बढाएको दबाब अलि कम गर्न खोजेको संकेतका रूपमा हेरिएको छ । 

चीनमा भिडियो गेमलाई लाइसेन्स दिने निकाय नेशनल प्रेस एन्ड पब्लिकेशन एड्मिन्ष्ट्रेशन (एनपीपीए)ले मंगलबार ८८ ओटा भिडियो गेमलाई लाइसेन्स दिएको छ । गएको वर्ष कुनै पनि महीनामा चीनले यति धेरै संख्यामा भिडियो गेमलाई अनुमति दिएको थिएन । टेनसेन्टले अनडन, लाइट–स्पिड स्टुडियोज र अल्केमी स्टार गरेर तीन गेमको लाइसेन्स पाएको छ । कम्पनीले मोबाइल गेम युआन मङ चि सिङका लागि पनि लाइसेन्स पाएको छ । 

चीनको दोस्रो ठूलो भिडियो गेम निर्माता कम्पनी नेटइजले भने ब्याडल्यान्डर्स नाम गरेको शुटिङ गेमको लागि अनुमति पाएको छ । कम्पनीले यो गेम सीमापार बजारमा स्ट्रिम गरिसकेको छ । चीनमा मात्रै अनुमति पाउन बाँकी थियो ।

ठूला कम्पनीहरूले पहिलाको भन्दा धेरै लाइसेन्स पाइरहेका छन् । पक्कै पनि विगत केही वर्षदेखिको कठोर नियमनको नतिजा हासिल भएकोले यसो गरिएको अनुमान आईआईमिडिया रिसर्चका प्रमुख कार्यकारी नाङ यी बताउँछन् । 

शाङ्हाईस्थित गेम निर्माता मिहोयोले मोबाइल र कम्प्युटर दुवैमा कम्पनीको बहुप्रतिक्षित होन्काई सिरिजको गेम होन्काईः स्टार रेल पनि सार्वजनिक गर्ने अनुमति पाएको छ । चिनियाँ नियामकहरूले आठ महीनासम्म भिडियो गेमको लाइसेन्स रोक्का गरेर जुनमा अनुमति दिन शुरु गरेयता मिहोयोले अनुमति पाएको यो दोस्रो पटक हो । 

चीनमा लुनार नयाँ वर्षको सार्वजनिक बिदा शुरु हुनुअघि यो अनुमति दिइएको छ । नियामकहरूले भिडियो गेम उद्योगमा कडाई गर्दै लाइसेन्स जारी रोक्का गरेको थियो भने अनलाइन कन्टेन्ट र साना बालबालिकाहरूका लागि भिडियो गेममा कठोर प्रतिबन्ध लगाएको थियो ।

सन् २०२२ भर चीनले जम्मा ५१२ ओटा गेमलाई अनुमति दियो । यसमा ४६८ ओटा विदेशी र ४४ ओटा आयातित गेम थियो । यो  २०२१ को दुई तिहाई मात्रै थियो । 

गएको वर्ष टेन्सेनट र नेटइजले जम्मा ८ र ५ ओटा मात्रै गेमको लागि अनुमति पाएका थिए । गएको वर्षको दुवै कम्पनीको बजार पूँजीकरणमा उच्च कमी आयो । नियामक कडाईकै कारण गएको वर्ष चीनको भिडियो गेम उद्योगको विक्री २० वर्षमा पहिलो पटक सुस्तायो । सन् २०२२ मा चीनमा २ खर्ब ६९ अर्ब ५० करोड युआन (३९ अर्ब ८० करोड डलर) बराबरको भिडियो गेम विक्री भयो । यो सन् २०२१ को तुलनामा १० प्रतिशत कम हो । विक्रीको यो आकार सन् २००३ यताकै कम थियो ।

गेमको संख्या पनि शून्य दशमलव ३३ प्रतिशतले घटेर ६६ करोड ४० लाखमा आयो । चीनको गेम निर्यात पनि १४ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ० करोड युआनमा झरेको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro