काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन् । भोलि हुने निर्वाचनका लागि यी दुई उम्मेदवार आमनेसामने हुँदैछन् ।
घिमिरेलाई सत्ता गठबन्धनको समर्थन छ । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन छन् ।
कांग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन् । न्यौपानेलाई एकीकृत समाजवादीसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको समर्थन छ ।
को बन्लान् सभामुख ?
सभामुखका दुई प्रतिस्पर्धीमध्ये एमाले उम्मेदवार घिमिरे बलियो देखिन्छन् । उनलाई संसद्का १४४ सांसदको समर्थन छ । यो संख्या संसद्को कूल सदस्य संख्याको बहुमतभन्दा बढी हाे । संसद्को कूल सदस्य संख्याको बहुमतका लागि १३८ सिट चाहिन्छ । संसद्मा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २० र राप्रपाका १४ सांसद छन् ।
कांग्रेस उम्मेदवार न्यौपानेको पक्षमा भने १२५ सांसद देखिन्छन् । संसद्मा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद् छन् ।
उम्मेदवारलाई समर्थन गर्ने दलका सबै सांसदले मत दिए एमालेका घिमिरे सभामुख निर्वाचित हुनेछन् । अर्थात् उनी गणतन्त्रपछिका पाँचौं सभामुख बन्नेछन् ।
गणतन्त्र स्थापनापछि चार सभामुख चुनिसकेका छन् । गणतन्त्रयता एमालेका सुभाषचन्द्र नेम्वाङ, माओवादी केन्द्रका ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भएका थिए ।