ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, डेढ करोड रुपैयाँ जरीवाना

२०७९ माघ, ४  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठओटा विकास बैंक र चार ओटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरीवाना गरिएको हो ।

राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका विकास बैंक र वित्त कम्पनीलाई हर्जाना तिराइएको छ ।

राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई विपन्न वर्ग कर्जा नपुर्‍याउँदा एकपटक र अनिवार्य मौज्दात कायम गर्न नसक्दा दुईपटकसम्म हर्जाना तोकिएको छ । कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा नपुर्‍याउँदा १ लाख ५२ हजार नौ सय २९ रुपैयाँ बराबर हर्जाना तोकिएको छ भने अनिवार्य मौज्दात कायम गर्न नसक्दा पहिलोपटक सात सय छ र दोस्रोपटक ३२ हजार नौ सय ६९ रुपैयाँ बराबर जरीवाना गरिएको छ ।

त्यस्तै, सालपा विकास बैंकले पनि अनिवार्य मौज्दात कायम गर्न नसक्दा जरिवाना तिर्नुपरेको छ । राष्ट्र बैंकका अनुसार तोकिएको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंकलाई हर्जाना तिराइएको हो । यी चार विकास बैंकले गत साउन र भदौ महीनामा तोकिएको सीडी रेसियो कायम नगरेका कारण दुई महिनाको हर्जाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार चार सय ९३ रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै सिन्धु विकास बैंकलाई साउनमा १ लाख २६ हजार तीन सय ८४ र भदौमा १६ लाख ९९ हजार एक सय ५१ रुपैयाँ बराबर हर्जाना कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई साउनमा ४ लाख ६३ हजार सात सय ९४ र भदौ मा ५ लाख १६ हजार तीन सय सात रुपैयाँ बराबर जरीवाना तोकिएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकलाई साउनमा २१ लाख ८० हजार छ सय ६३  रुपैयाँ र भदौमा २८ लाख ९७ हजार तीन सय ५४ रुपैयाँ बराबर जरिवाना तोकिएको छ ।

त्यसैगरी, वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि सीडी रेसियो कायम गर्न नसक्दा हर्जाना तिर्नुपर्ने भएको छ । नेपाल फाइनान्सलाई पहिलोपटक १९ हजार तीन सय ३० रुपैयाँ र दोस्रोपटक एक लाख ६५ हजार पाँच सय ८४ रुपैयाँ बराबर हर्जाना कायम गरिएको छ ।

त्यस्तै, जानकी फाइनान्स कम्पनीलाई पहिलोपटक ६ लाख ५५ हजार एक सय ९३  रुपैयाँ र दोस्रोपटक ६ लाख ३९ हजार सात सय ९९ रुपैयाँ तिराइको छ । समृद्धि फाइनान्स कम्पनीले पनि कर्जा निक्षेप अनुपात पुर्‍याउन नसक्दा ८० हजार चार सय ७४ रुपैयाँ बराबर हर्जाना तिर्नुपरेको छ । अनिवार्य मौज्दात कायम नगर्ने प्रोग्रेसिभ फाइनान्स लिमिटेडलाई २३ हजार एक सय ८८ रुपैयाँ हर्जाना तिराइएको छ ।

सबै वित्तीय संस्थाहरूको गरेर करीब डेढ करोड रुपैयाँ जरीवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro